२०८२, २९ पुस मंगलबार

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ


नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो संकटको समाधान अराजक दबाब, समानान्तर संरचना वा भावनात्मक नाराबाट होइन , विधान, जिम्मेवारी र राजनीतिक अनुशासनबाट मात्रै सम्भव छ। यही सन्दर्भमा सभापति शेरबहादुर देउवामाथि लक्षित “चुनाव लड्न नपाउने” र “हस्ताक्षर नचल्ने” जस्ता अडानहरू लोकतान्त्रिक अभ्यासभन्दा बढी राजनीतिक हतारो र असहिष्णुताको उदाहरण बनेका छन्।

शेरबहादुर देउवा कुनै आकस्मिक रूपमा सभापति बनेका नेता होइनन्। उनी पार्टीको विधिसम्मत महाधिवेशनबाट निर्वाचित नेतृत्व हुन्। विधानले दिएको अधिकार, दायित्व र वैधता कुनै समूहको दाबी वा बहुमतको अपुष्ट घोषणाले स्वतः समाप्त हुँदैन। कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको एउटै वैध बाटो छ, विधानअनुसारको महाधिवेशन।

विशेष महाधिवेशनका नाममा समानान्तर संरचना खडा गर्नु, औपचारिक नेतृत्वको हस्ताक्षर अमान्य घोषणा गर्नु र पार्टी संस्थालाई कमजोर बनाउने अभ्यास कांग्रेसको इतिहास र संस्कारसँग मेल खाँदैन। यसले नेतृत्व परिवर्तनभन्दा बढी संगठनात्मक अव्यवस्था र विभाजनको खतरा निम्त्याउँछ। राजनीति सुधारको नाममा अराजकता स्वीकार्य हुँदैन।

देउवामाथि आलोचना हुन सक्छ, बहस हुन सक्छ-र हुनैपर्छ। तर आलोचनाको जवाफ बहिष्कार र दबाब होइन, संवाद र संस्थागत प्रक्रिया हो। देउवा नेतृत्वले पटक-पटक संवादको आह्वान गरेको छ, सहमतिको प्रयास गरेको छ। विशेष पक्षले पनि जिम्मेवार शक्ति भएर पार्टीभित्रै समाधान खोज्नुपर्छ, पार्टीमाथि होइन।

कांग्रेसलाई आज आवश्यकता छ-स्थायित्वको, धैर्यको र राजनीतिक परिपक्वताको। सत्ता र संगठन दुवै तहमा जिम्मेवारी बोकेको नेतृत्वलाई कमजोर पारेर होइन, विधिसम्मत सुधार र आन्तरिक लोकतन्त्र सुदृढ गरेर पार्टी बलियो बन्छ।

इतिहासले साक्षी छ-कांग्रेस जब विधानभन्दा बाहिर गयो, तब सधैं कमजोर भयो। आज पनि विकल्प उही छ। व्यक्तिविरुद्धको आवेग होइन, विधानप्रतिको प्रतिबद्धतामार्फत कांग्रेसले यो संकट पार गर्न सक्छ। र त्यसको केन्द्रमा आज पनि विधिसम्मत सभापति शेरबहादुर देउवाकै भूमिका निर्णायक छ।

प्रकाशित मिति : २०८२, २९ पुस मंगलबार  १० : ०७ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र