काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्। बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको संसदीय दलको बैठकपछि भएको निर्वाचन प्रक्रियामा बादल एक्ला उम्मेदवार बनेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
दलको नेता चयनका लागि बादल र सुहाङ नेम्वाङले फारम लगे पनि अन्तिम समयमा बादलले मात्र उम्मेदवारी दर्ता गरेका थिए। प्रस्तावक–समर्थकको समीकरण नमिल्दा सुहाङले उम्मेदवारी दर्ता गर्न सकेनन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासिला नेता मानिने बादल एमालेका पहिलो वरीयताका उपाध्यक्ष हुन्। पूर्वमाओवादी पृष्ठभूमिका बादल ‘जनयुद्ध’का सैन्य कमान्डरका रूपमा परिचित छन्।
अध्यक्ष ओली निर्वाचनमा पराजित भएपछि संसदमा एमालेको कमान अब बादलको काँधमा आएको छ। उनको नेतृत्वमा एमालेले संसदीय रणनीति कसरी अघि बढाउँछ भन्नेमा राजनीतिक वृत्तको चासो केन्द्रित भएको छ।








प्रतिक्रिया