राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केही समयअघि नेपाली राजनीतिमा आशा, आक्रोश र परिवर्तनको मिश्रित प्रतीक बनेर उदाएको चर्चा थियो । परम्परागत दलप्रतिको वितृष्णा, युवाको असन्तोष र सामाजिक सञ्जालको उभारले रास्वपालाई ‘वैकल्पिक शक्ति’का रूपमा स्थापित गर्यो। तर आज त्यो उत्साह क्रमशः शिथिल बन्दै गएको छ। पछिल्लो समय समानुपातिक उम्मेदवारले एकपछि अर्को गर्दै नाम फिर्ता लिन थालेपछि रास्वपाको वास्तविक अवस्था सतहमा आएको छ- र त्यो अवस्था उत्साहजनक देखिँदैन।
योजना आयोगका पूर्व सदस्य डा. अरनिको पाँडेले समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिनु कुनै सामान्य राजनीतिक घटना होइन। यसअघि नै डा. महेन्द्र लावती, सचिन ढकाल, टासी शेर्पा, आसिफ साह र त्रिशला गुरूङजस्ता व्यक्तिहरू सूचीबाट बाहिरिसकेका छन्। यी सबैलाई केवल ‘व्यक्तिगत निर्णय’ भनेर पन्छाउनु रास्वपा नेतृत्वको सुविधाजनक तर्क हुन सक्छ, तर यथार्थ त्योभन्दा धेरै गहिरो छ। एउटै पार्टीभित्र छोटो अवधिमै यति धेरै असन्तुष्टि सार्वजनिक रूपमा प्रकट हुनु गम्भीर संकेत हो।
रास्वपाले आफूलाई ‘नयाँ राजनीति’को प्रतिनिधि दाबी गर्दै आएको छ। तर नयाँ राजनीति भनेको केवल नयाँ अनुहार, नयाँ लोगो वा पुराना दलमाथि आक्रामक भाषण मात्र होइन। नयाँ राजनीति भनेको पारदर्शी प्रक्रिया, संस्थागत निर्णय, आन्तरिक लोकतन्त्र र नेतृत्वको जवाफदेहिता हो। यही आधारमा रास्वपामाथि प्रश्न उठिरहेका छन्- के पार्टीले आफूले बोलेको नयाँपन व्यवहारमा उतार्न सक्यो ?
समानुपातिक सूची निर्माण प्रक्रिया नै यसको प्रमुख उदाहरण बनेको छ। कसरी नाम छनोट गरियो ? मापदण्ड के थियो ? किन केही व्यक्तिहरूलाई प्राथमिकता दिइयो र किन अरू पन्छिए ? यी प्रश्नहरूको स्पष्ट र विश्वसनीय उत्तर पार्टी नेतृत्वले दिन सकेको छैन। बरु, सीमित व्यक्तिहरूको घेराभित्र निर्णय भएको, नेतृत्वको निकटता र पहुँचले भूमिका खेलेको आरोप चर्किँदै गएको छ। यही प्रवृत्ति त परम्परागत दलप्रति जनताले अस्वीकार गरेको मुख्य कारण थियो ।
रास्वपाको अर्को कमजोरी संगठनात्मक हो। चुनावी सफलता पाएपछि पार्टीले संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन र आन्तरिक संरचना मजबुत पार्नुपर्ने थियो। तर पार्टी अझै पनि आन्दोलनको मानसिकताबाट बाहिर निस्कन सकेको देखिँदैन। संसद्भित्रको उपस्थिति, सडकको आवाज र सामाजिक सञ्जालको प्रभावबीच सन्तुलन कायम गर्न नसक्दा पार्टी दिशाहीन बन्दै गएको छ।
युवा र स्वतन्त्र मतदाताले रास्वपालाई पुराना दलको विकल्पका रूपमा हेरेका थिए। उनीहरू सुधार, सुशासन र फरक कार्यशैलीको अपेक्षा गर्थे। तर अहिले त्यही वर्गमा निराशा बढ्दै गएको छ। “पुरानाभन्दा फरक होला” भन्ने विश्वास कमजोर हुँदै गएको संकेत सामाजिक बहस र प्रतिक्रियामा स्पष्ट देखिन्छ।
सबैभन्दा खतरनाक अवस्था भनेको आत्मसन्तुष्टि हो। नेतृत्वले आलोचनालाई शत्रुतापूर्ण आक्रमणका रूपमा मात्र बुझ्ने हो भने पार्टी अझ छिटो पतनको दिशामा जान सक्छ। नाम फिर्ता लिने क्रमलाई सामान्य घटना ठान्नु, असन्तोषलाई नजरअन्दाज गर्नु र प्रश्न उठाउनेलाई विरोधी ठान्नु नयाँ राजनीतिका लक्षण होइनन्।
रास्वपाका लागि यो समय चेतावनीको घण्टी हो। अझै पनि आत्मसमिक्षा, संरचनागत सुधार र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने अवसर बाँकी छ। तर त्यो अवसर सधैं रहँदैन। नेपाली राजनीतिमा धेरै ‘आशाका प्रयोग’ जन्मिए र हराए। रास्वपा पनि त्यही सूचीमा थपिने कि साँच्चै फरक इतिहास रच्ने- त्यो निर्णय अब नेतृत्वकै हातमा छ।
यदि पार्टीले व्यवहारमै नयाँ राजनीति देखाउन सकेन भने, आज घट्दै गएको क्रेज भोलि पूर्ण रूपमा हराउन धेरै समय लाग्ने छैन। जनविश्वास गुमेपछि राजनीतिक नारा, भाषण र प्रचारले मात्र पार्टी जोगिँदैन। रास्वपाका लागि अब प्रश्न एउटै छ- सुधार कि समाप्ति ?






प्रतिक्रिया