दैलेख १७ बैशाख : कोरोना संक्रमणबाट दैलेखमा एक गर्भवती महिलाको मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार गराउन आएकी उनको उपचारकै क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणका कारण उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
उनको मृत्युपश्चात् कोरोना संक्रमण हुन सक्ने भन्दै एन्टिजेन किटमार्फत कोरोना जाँच गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए ।
नारायण नगरपालिका– ६ की २७ वर्षीया गर्भवती महिला नौ महिना पुगिसकेपछि जिल्ला स्वास्थ्यमा स्वास्थ्य जाँचका लागि वैशाख १२ गते बच्चा जन्मने दिनमै आएकी थिइन् । उनको अवस्था जटिल देखेपछि स्वास्थ्य सेवा कार्यालयले रिफर गरेको थियो । सुर्खेत रिफर गरिएकी उनको आर्थिक अवस्था अभाव र कोरोनालगायतको डरले थप उपचारका लागि जिल्लाबाहिर जान सकेकी थिइनन् ।
बच्चा जन्मिने समय पुगिसक्दा पनि बच्चा नजन्मेपछि उनी पुनः गम्भीर अवस्थामा शुक्रबार बिहान स्वास्थ्य सेवा कार्यालय दैलेख आएकी थिइन् ।
‘अवस्था एकदमै चिन्ताजनक थियो, श्वासप्रश्वासमा समेत समस्या देखिएको थियो । बचाउन सकिने अवस्था थिएन, उनको मृत्युपछि हामीले शंका लागेर कोरोना जाँच गर्यौँ, पोजेटिभ देखियो । पेटभित्रको बच्चा पनि मरिसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
शुक्रबारसम्म दैलेखमा एक सय आठजना सक्रिय संक्रमित देखिएका छन् । अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरेको हो ।








प्रतिक्रिया