काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्धित भएका छन्।
२८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै छोटो समयमा ठूलो स्कोर बनाउन माहिर छन्। उनले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी–२० क्रिकेटमा उनको आक्रामक शैली र छक्का प्रहार गर्ने क्षमता विशेष मानिन्छ।
रदरफोर्डले सबैखाले टी–२० क्रिकेटमा २८३ खेलबाट ५ हजार ९० रन बनाएका छन्। यस क्रममा उनले ३२४ छक्का प्रहार गरेका छन् भने उनको स्ट्राइक रेट १४२.०५ छ। उनले आईपीएल, क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) लगायत विभिन्न चर्चित फ्रेन्चाइज प्रतियोगितामा अनुभव बटुलेका छन्।
सन् २०२५ को आईपीएलमा गुजरात टाइटन्सबाट १३ खेल खेलेका उनले २९१ रन बनाएका थिए। उनी सीपीएल र पीएसएलको उपाधि जित्ने टोलीका सदस्यसमेत रहिसकेका छन्।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ थप बलियो हुने विश्वास व्यक्त गरे। फ्रेन्चाइज क्रिकेटको अनुभव र आक्रामक खेलशैलीले एनपीएलमा टोलीलाई महत्वपूर्ण योगदान पुग्ने उनको अपेक्षा छ।
रदरफोर्डले पनि सुदूरपश्चिम रोयल्समा आबद्ध हुन पाउँदा उत्साहित रहेको बताएका छन्। नेपाली समर्थकसामु आफ्नो क्षमता प्रदर्शन गर्दै टोलीका लागि राम्रो खेल्ने र रोमाञ्चक क्रिकेट पस्किने उनको लक्ष्य छ।







प्रतिक्रिया