फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ ।
गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए । त्यस्ता घटना पुनः दोहोरिन नदिन अधिकारीहरूले सुरक्षा तयारी तीव्र पारेका छन् ।
फ्रान्स२४ का अनुसार, आन्तरिकमन्त्री लरेन नुनेजले शुक्रबार (स्थानीय समयअनुसार) सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जालमा हिंसा र लुटपाटका लागि आह्वान भइरहेकाले सरकारले सार्वजनिक व्यवस्था कायम राख्न आवश्यक तयारी गरिरहेको बताए ।
बढ्दो संकटका बीच राष्ट्रपति इम्यानुएल म्याक्रोंले वरिष्ठ मन्त्री तथा अधिकारीहरू सम्मिलित रक्षा परिषद्को बैठक बोलाएका थिए । फ्रान्स२४ का अनुसार, उनले सप्ताहान्तमा हुने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा तयारी तीव्र पारिएका बेला सुरक्षाकर्मीहरूसँग पनि भेट गर्ने कार्यक्रम थियो ।
खस्कँदो शैक्षिक वातावरणको विरोधमा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन अहिले देशव्यापी बनेको छ । बढ्दो महँगी र जीवनयापनको लागतले सर्वसाधारणमा बढाएको असन्तुष्टिले पनि प्रदर्शनलाई थप चर्काएको छ ।
प्रदर्शनले उग्र रूप लिएपछि म्याक्रोंले पहिलोपटक माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधिहरूसँग भेट गरेका छन् । तर, विद्यार्थी प्रतिनिधिहरूले आफ्ना माग सम्बोधन गर्ने ठोस प्रस्ताव सरकारले अघि नसारेको भन्दै सहपाठीहरूलाई प्रदर्शन जारी राख्न आग्रह गरेका छन् ।
अभियान समूह ‘हाई स्कुल रिन्युयल’का अध्यक्ष नाथानेल कोम्बारीले म्याक्रोंले भेटका क्रममा आफूहरूका कुरा ध्यानपूर्वक सुनेको बताए ।
यद्यपि, सोमबार प्रधानमन्त्रीसँग हुने छलफलका क्रममा सरकारले ठोस प्रस्ताव अघि सार्ने अपेक्षा विद्यार्थीहरूले गरेको उनले बताए ।
‘हामी सन्तुष्ट छैनौँ,’ कोम्बारीले भने । उनले सरकारमाथि दबाब कायम राख्न विद्यार्थीहरूलाई आन्दोलन जारी राख्न आग्रह गरे ।
फ्रान्स सरकारले प्रदर्शनकारीहरूका जायज गुनासा र शान्तिपूर्ण प्रदर्शनलाई लुटपाट, आगजनी तथा तोडफोडका घटनाबाट अलग राख्ने प्रयास गरिरहेको छ । गत शनिबारको प्रदर्शनका क्रममा यस्ता हिंसात्मक घटना भएका थिए ।
फ्रान्स२४ का अनुसार, न्यायमन्त्री जेराल्ड डार्मानिनले हिंसासम्बन्धी घटनामा अदालतहरूले हालसम्म २१७ जनालाई जेल सजाय सुनाइसकेको बताए । सजाय पाउनेमध्ये करिब आधा पहिलोपटक अपराधमा संलग्न भएका व्यक्ति रहेको उनले जानकारी दिए ।
बिहीबार म्याक्रोंले आपराधिक गतिविधिमा संलग्न हुनेहरूमाथि ‘अधिकतम कडाइ’ गर्न आह्वान गरेका थिए । उनले गत सप्ताहन्तको अशान्तिका क्रममा अतिवामपन्थी समूहहरूले गणतन्त्रलाई कमजोर पार्ने प्रयास गरेको आरोपसमेत लगाएका थिए ।
यी प्रदर्शनले सन् २०२७ मा हुने फ्रान्सको राष्ट्रपति निर्वाचनअघि राजनीतिक तनावसमेत बढाएको छ । फ्रान्स२४ ले उल्लेख गरेको हालैको एक जनमत सर्वेक्षणअनुसार, अतिदक्षिणपन्थी उम्मेदवार मरिनले पेन अझै अग्रस्थानमा रहेकी छन् । पछिल्ला घटनाक्रमले उनको राजनीतिक स्थिति थप बलियो बनाएको बताइएको छ ।
ले पेनको पार्टी ‘नेसनल र्याली’ले यसै सप्ताहन्तमा पेरिसको दक्षिणमा पर्ने ओरलियँ सहरमा महाधिवेशन आयोजना गर्दैछ । उक्त कार्यक्रममा हजारौँ समर्थक सहभागी हुने अपेक्षा गरिएको छ ।
यसैबीच, सोही सहरमा प्रदर्शनको विरोधमा उत्रिने समूहहरूले पनि भेला आयोजना गर्ने योजना बनाएपछि स्थानीय अधिकारीहरूले दुवै पक्षबीच सम्भावित झडपलाई लिएर चिन्ता व्यक्त गरेका छन् । (एएनआई, फोटो : रोयर्टस/एएनआई)







प्रतिक्रिया