काठमाडौं, १५ बैसाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्दैछ ।
पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुको रिपोर्ट नेगेटिभ आएपछि आज बैठक बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आजको बैठकमा १४ औं महाधिवेशन, पार्टी समायोजन, क्रियाशील सदस्यता तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने पौडेलले बताएका छन् । कांग्रेसले चैत २० गते वैकल्पिक सत्ता गठबन्धनका लागि अग्रसरता लिने निर्णय गरेको थियो । चैत २७ गते कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलीय बैठक राखे पनि त्यसयता उनले खासै प्रयास गरेका छैनन् ।
पार्टी सभापतिले आवश्यक पहल गर्न नसकेको भन्दै कांग्रेस नेताहरुले नै आलोचना गर्दै आएका छन् । नयाँ सरकार गठनका लागि सांसदको अंक गणित सुनिश्चित भइनसकेकाले कांग्रेसले ओलीको विकल्प खोज्न थप अग्रसरता लिन सकिरहेको छैन ।








प्रतिक्रिया