धुलिखेल, ३१ बैशाखः काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले नगरपालिकाभित्रबाट उत्पादन हुने कृषि जन्य वस्तु ढुवानीमा समस्या हुन नदिने बताएका छन् । बागमती प्रदेशकै कृषि उत्पादनको हिसाबले अब्बल पाँचखालका किसानले ढुवानीमा समस्या भोगिरहेको बताइरहेका बेला मेयर खरेलले यस्तो बताएका हुन् ।
बुधबार नगरपालिकामा किसान, स्थानीयथोक बिक्रेता, संकलन कर्ता, ब्यापारी, कृषि सहकारी, वडा प्रतिनिधि र एग्रोभेटलाई जम्मा गरेर मेयर खरेलले सहज ढुवानीको विषयमा छलफल समेत गरेका छन् । नगरपालिकाले तरकारी तथा फलफुल ढुवानी गर्ने चालक, सहचालक र ब्यापारीलाई पास उपलब्ध गराउने तयारी भएको कृषि शाखाका प्रमुख ईश्वर प्रसाद अधिकारीले जानकारी दिए ।
छलफलमा मेयर खरेलले पाँचखालमा उत्पादन भएका मौसमी तरकारीहरुलाइ सहज रुपमा बजार सम्म पुर्याउन सहजीकरण गर्ने प्रतिबद्धता जनाए । त्यस्तै कृषक र ब्यापारीलाई पैसा उठाउनका लागि समेत सहज वातावरण निर्माण गर्ने मेयर खरेलको भनाई छ । नगरपालिकाले तरकारी र दुध जन्य गाडीलाई बिना झन्झट समय भित्र बजारमा पुर्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्ने बताएको छ ।
पाँचखाल नगरपालिकाबाट दैनिक ३५ प्रतिशत ताजा तरकारी राजधानी निर्यात हुने गरेको छ । आलु उत्पादनका हिसाबले पनि पाँचखाल जिल्लाकै उत्कृष्ट क्षेत्रभित्र पर्ने गरेको छ । पाँचखाल नगरपालिकाले प्राङ्गनमै माटो परीक्षण केन्द्र स्थापना गरिएको छ । नगरपालिकाले ‘पाँचखाल नगर, कृषि सहर’ भन्ने मुल नारा नै राखेको छ ।








प्रतिक्रिया