बर्दिया, २२ भदौं : उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिश गरेवापत सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोगमा सहायक वन अधिकृत अनिलकुमार गुप्ता विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी सवडिभिजन वन कार्यालय बर्दियामा कार्यरत गुप्तालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा मुद्दा दायर गरेको हो ।
शुक्रबार सहायक वन अधिकृत गुप्तालाई अख्तियारको टोलीले बाँसगढी नगरपालिका ७ देउडाकलाबाट १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेवापत सेवाग्राहीसँग घुस रकम मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंजको टोलीले गुप्तालाई पक्राउ गरेको हो ।
त्यसैगरी वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको नेपालथोक, दुम्जामा कार्यरत अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीलाई रु १० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको छ । उक्त अस्थायी ट्राफिक प्रहरी पोस्ट काभ्रे र सिन्धुलीको सीमा नजिक रहेको छ । प्रहरी सहायक निरीक्षक माझी माथि काठमाडौँबाट सिन्धुली हुँदै बाहिरिने सवारीसाधनका चालकबाट घुस लिएको आरोप लागेको छ ।
यस्तै आयोगले महोत्तरी जिल्ला अदालतमा कार्यरत नापी सर्वेक्षक मोहन यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । यादवलाई जिल्ला अदालतमा दर्ता भएको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको अभियोग लागेको छ । जग्गाको किचलो मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा यादवलाई आयोगको टोलीले केही दिनअघि पक्राउ गरेको थियो । बिगोअनुसारको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।
–––








प्रतिक्रिया