२०८३, १ असार मंगलबार

अधिकांश मेडिकल कलेजले एमबीबीएस तहमा बढी शुल्क लिए

अधिकांश मेडिकल कलेजले एमबीबीएस तहमा बढी शुल्क लिए


काठमाडौं, २० भदौ : मेडिकल कलेजको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिले अधिकांश मेडिकल कलेजले नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएको जनाएको छ ।

मन्त्रिपरिषद्को विसं २०७५ असोज २६ गतेको बैठकले उपत्यकाभित्र एमबीबीएसका लागि काठमाडौँ उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार निर्धारण गरेको थियो । यसैगरी बीडीयसतर्फ रु १९ लाख ३२ हजार निर्धारण गरेको थियो ।

हाल त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय, शैक्षिक प्रतिष्ठानअन्तर्गत २२ वटा मेडिकल कलेजमा सो तहको अध्ययन हुँदै आएको छ । उपसमितिले आज आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै मन्त्रिपरिषद्को सो शुल्कसम्बन्धी निर्णय स्पष्टसमेत नभएको निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिले पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरिएको सो प्रतिवेदनमा सरकारले निर्धारण गरेका शुल्क कार्यान्वयन गर्न विश्वविद्यालय, प्रतिष्ठान, सम्बन्धित डीन कार्यालयले पर्याप्त पहलसमेत नगरेका जनाइएको छ ।

यसैगरी शुल्कका विषयमा सम्बन्धित विश्वविद्यालयका डीन कार्यालयले सहजता प्रदान गरे पनि वास्तविक योग्यताक्रम लागू गर्ने मनशाय पूर्ण नदेखिएको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, “अधिकांश कलेजले नेपाल सरकारले तोकेभन्दा बढी शुल्क लिएको अध्ययनका क्रममा स्पष्ट देखियो ।” बढी शुल्क लिने कलेजको सम्बन्धन खारेजीका लागि निर्देशिका तयार गर्न, त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन सस्थान, काठमाडौँ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता सार्वजानिक शिक्षण संस्थाले स्नातक तहको कार्यक्रममा सिट सङ्ख्याको कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क गर्न पनि प्रतिवेदनले सरकारलाई सुझाव दिएको छ ।

प्रतिवेदनले चिकित्साशास्त्रअन्तर्गत सामूहिक प्रवेश परीक्षा उत्तीर्ण गरेकालाई अन्य विश्वविद्यालयअन्तर्गतका कलेजमा भर्ना हुन चाहेमा पुनः परीक्षा दिनु नपर्ने व्यवस्था मिलाउन चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको छ ।

यस्तै मेडिकल कलेजलाई सिट निर्धारण गर्दा १५० सम्मको सिट निर्धारण गर्न सकिने, सिट निर्धारणलाई वैज्ञानिक बनाउन मापदण्ड बनाउन पनि प्रतिवेदनले सुझाव दिएको छ । पत्रकार सम्मेलनमा संयोजक राईले कार्यान्वयनमुखी सुझाव मात्र प्रतिवेदनले दिएको चर्चा गर्दै चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई अन्त्य गर्न प्रतिवेदनले सहयोग गर्ने बताउनुभयो ।

सो उपसमितिमा उमेश श्रेष्ठ, एकबाल मिया, अगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जीसी र सन्तकुमार थारु सदस्य हुनुहुन्थ्यो । समितिको विसं २०७५ चैत २६ को बैठकले सो उपसमिति गठन गरेको थियो । रासस

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  १० : १२ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई