काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार के थिए र आगामी बाटो कस्तो हुनुपर्छ भन्ने बहसलाई समेटिएको पुस्तक ‘कर्णाली प्रदेशको कम्युनिस्ट आन्दोलन : विगत, वर्तमान र भविष्य’ सार्वजनिक हुने भएको छ।
कम्युनिस्ट नेता तथा लेखक गोरखबहादुर बोगटीले लेखेको उक्त पुस्तकको लोकार्पण असोज २१ गते बुधबार दिउँसो २ बजे शंकरदेव क्याम्पस, रामशाहपथमा आयोजना हुँदैछ। कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
पुस्तकले कर्णालीको राजनीतिक इतिहासलाई केवल घटनाक्रमका रूपमा मात्रै नभई कम्युनिस्ट आन्दोलनका संघर्ष, विचार, संगठन र योगदानसँग जोडेर विश्लेषण गर्ने प्रयास गरेको छ। लेखकले विगतका अनुभवबाट वर्तमानलाई बुझ्दै भविष्यको राजनीतिक दिशा तय गर्न इतिहासको अध्ययन अपरिहार्य रहेको निष्कर्ष प्रस्तुत गरेका छन्।
पुस्तकमा राणाकालीन निरंकुशताविरुद्ध कर्णालीमा भएका प्रारम्भिक राजनीतिक गतिविधिदेखि जनचेतना निर्माण र कम्युनिस्ट आन्दोलनको विस्तारसम्मका विभिन्न पक्ष समेटिएका छन्। आन्दोलनका महत्वपूर्ण घटनाक्रम, नेतृत्व र योगदानलाई दस्तावेजीकरण गर्ने प्रयाससमेत गरिएको छ।
लेखकले पुस्तक तयार पार्दा विभिन्न ऐतिहासिक अभिलेखसँगै वामपन्थी इतिहासकार, लेखक, अध्येता, बुद्धिजीवी तथा नेता–कार्यकर्ताका लिखित सामग्री र जानकार व्यक्तिहरूका मौखिक अनुभवलाई आधार बनाएको बताइएको छ।
इतिहासलाई वर्तमानसँग जोड्दै भविष्यको सही राजनीतिक कार्यदिशा पहिल्याउने उद्देश्यले पुस्तक तयार गरिएको आयोजक कर्णाली प्रदेश सम्पर्क कमिटीले जनाएको छ।







प्रतिक्रिया