२०८३, ४ असार शुक्रबार

शान्ति कूटनीति प्रवद्र्धनमा नीलो हेल्मेट

शान्ति कूटनीति प्रवद्र्धनमा नीलो हेल्मेट


काठमाडौं, साउन ४ : नीलो हेल्मेटमा संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा नेपाली सेनाको निरन्तर सहभागिताले देशको शान्ति कूटनीतिलाई प्रवद्र्धन गरेको छ । साथै देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत बढोत्तरी दिइरहेको छ । हुन पनि जुन ठाउँमा अशान्ति छ, हिंसा भड्किएको छ, मानिसले दुःख पाएका छन् र क्षति विनाशक छ, त्यहाँ नेपालको शान्ति सेनाले नीलो हेल्मेट लगाएर शान्ति कायम गर्ने जिम्मा पाउँँदै आएको छ । त्यसले नेपाली सेनाको छवि उच्च बनेको छ र नेपालको शान पनि बढेको छ । देशको अन्तर्राष्ट्रिय छवि उच्च बनाएको छ ।

केही दिनअघि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा ‘वुमन पिस एन्ड सेक्युरिटी’ शीर्षकको सम्मेलनमा सहभागी हुन अमेरिका पुग्नुभयो । बेलायतको आयोजनामा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा भएको सम्मेलनको उद्देश्य महिलाको शान्तिसुरक्षामा केन्द्रित थियो । शान्ति सेना तथा यस्ता भ्रमणसँगै विश्व शान्ति स्थापनाका लागि नेपालको शान्ति सेनाले नेपाललाई विश्वमञ्चमा छुट्टै पहिचान दिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे बताउनुहुन्छ । नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बन्यो । त्यसको तीन वर्षपछि सन् १९५८ मा पहिलो पटक शान्ति सेनामा नेपालले आफ्नो सैनिक पठायोे ।

बटालियन वा टुकडीका रूपमा नभई ‘अब्जर्भर’का रूपमा नेपाली सेना शान्ति सेनामा सहभागी भयो । १६ वर्षपछि सन् १९७४ मा पहिलोपल्ट नेपाली सेनाको बटालियन शान्ति सेनामा गयो । त्यसयता नेपाली सेनाको टोली लगातार द्वन्द्वरत देशमा शान्ति कायम गर्न गइरहेको छ । शान्ति सेनामा सैनिक पठाउने देशमध्ये नेपाल विश्वको पाँचौँ स्थानमा पर्छ ।यो समाचार आजको गोरखापत्रमा छ ।

विश्वका १२ वटा देशमा १३ वटा शान्ति मिसनमा नेपालले यति बेला सहभागिता जनाइरहेको छ; जसमा पाँच हजार ६३ जना सैनिकले प्रतिनिधित्व गरेका छन् । सन् १९५८ देखि हालसम्म एक लाख २६ हजार ४९७ जना सैनिकले नेपालको तर्फबाट शान्ति सेनामा प्रतिनिधित्व गरेका छन् । शान्ति सेनामा सहभागीमध्ये ६५ जनाको विभिन्न कारणले निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयको तथ्याङ्क छ । अन्य ६६ जना घाइते थिए । शान्ति सेनामा २०४ जना महिला सहभागी छन् ।

शान्ति सेनाको छनोट
कुनै पनि देशको सेना शान्ति सेनामा पठाउनुअघि विभिन्न प्रक्रिया पूरा गर्नैपर्ने बाध्यकारी व्यवस्था छ । संयुक्त राष्ट्रसङ्घको ‘म्यान्डेड’अनुसार समस्या आएको स्थान पहिचान गरिन्छ । समस्या समाधान गर्नुपर्ने विषयमा सुरक्षा परिषद्मा थप छलफल हुन्छ । जुन ठाउँमा अशान्ति छ, हिंसा भएको छ, मानिसले दुःख पाएका छन् र क्षति विनाशक छ भने त्यस्तो स्थानमा कति र कस्तो क्षमताको शान्ति सेना राख्नु आवश्यक छ भन्ने निर्णय सुरक्षा परिषद्ले गर्छ । द्वन्द्वरत पक्षसँग छलफल गरेर सुरक्षा परिषद्मा विश्लेषण गरी शान्ति सुनिश्चित गर्ने योजना बनाइन्छ ।

पैदल, सुरक्षात्मक, विशेषस्तरका आवश्यक शान्ति सेनाको आह्वान विभिन्न देशमा हुन्छ । “नेपालजस्तै जसले पठाइरहेको छ उसलाई पठाउन सक्ने वा नसक्ने भनी सोधनी गरिन्छ”, नेपाली सेनाका प्रवक्ता पाण्डेले भन्नुभयो, “हामीले सक्छौँ भनेपछि कुन स्तरको सैनिक माग भएको हो, त्यो तयार छ, छैन सोधनी हुन्छ । ”  त्यस क्रममा संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ नेपालमै आएर मापदण्ड पुगे नपुगेको अनुगमन गर्छन् ।

सैनिकको सङ्ख्या एवं आधुनिक प्राविधिक उपकरण भए नभएको, हातहतियार खरखजानाको स्तर र सङ्ख्या, बख्तरबन्द गाडीलगायत अन्य बन्दोबस्तीका सामग्री भए नभएको परीक्षण गर्ने उहाँले जानकारी दिनुभयो । बन्दोबस्तीका सामग्रीमा टोलीका लागि एक महिनासम्मको खाद्यान्न, पकाउने चुलो, भाँडाबर्तनदेखि दैनिक आवश्यकताका सबै वस्तु पर्छन् । “सङ्घले हुन्छ भनेपछि त्यो टोली जुनसुकै बेला हिँड्न तयार हुनुपर्छ”, पाण्डेले सुनाउनुभयो, “चारवटा तहमध्ये जुन तहका लागि शान्ति सेना पठाउने हो, सोहीअनुसार समय तोकिएको हुन्छ । ”

शान्ति सेनाको आर्थिक पाटो
शान्ति सेनाका लागि खर्च व्यहोर्ने संयुक्त राष्ट्रसङ्घले हो । प्रवक्ता पाण्डेका अनुसार नेपालबाट ८५० जनाको सिङ्गै गण, क्विक रिक्रुट फोर्स १६० जनाको, १६० जनाको फोर्स फर हेडक्वार्टर प्रोटेक्सन र १३० जनाको सैनिक प्रहरी समूह शान्ति सेनामा छन् । थप एउटा गण जाने तयारीमा छ । जब शान्ति सेना उड्न तयार हुन्छ, त्यो दिनदेखि जाने टोलीको हरेक जिम्मेवारी संयुक्त राष्ट्रसङ्घले लिन्छ । सेनासँगै हरेक वस्तुको खर्च व्यहोर्छ ।

मिसनमा जाने सैनिकले छुट्टै र सेनाले व्यहोरेको खर्चको छुट्टै लाभ पाउँछ । साधनस्रोतको भाडाखर्च र मर्मतखर्च दिन्छ । एउटा बख्तरबन्द गाडी प्रयोग गरेबापत र मर्मतसम्भारका लागि छ हजार पाँच सय डलर दिइन्छ । “नेपालको १४ वटा बख्तरबन्द गाडी शान्ति सेनाको मिसनमा खटिएको छ”, पाण्डेले थप्नुभयो, “सामान्य ट्रकको एक हजार छ सय डलर पाउँछाँै, यसले हाम्रो आफ्नो खर्च जोगिन्छ । ” यो आम्दानीमध्ये ६० प्रतिशत सरकारले र ४० प्रतिशत सेनाले पाउँछ । सेनाले कल्याणकारी कोषमा रकम जम्मा गरेर सामाजिक तथा विकासात्मक हितमा खर्च गर्ने जानकारी उहाँले दिनुभयो ।

तल्लो दर्जादेखि उच्च तहका सैनिकले मासिक एक हजार ३० देखि एक हजार २२९ डलर व्यक्तिगत तलब पाउँछन् । थप भत्ता र सुविधाबाट जाने सैनिकले आर्थिक लाभ गर्छन् । प्रवक्ता पाण्डेका अनुसार नेपाली सेना अन्य देशका तुलनामा विश्व मानचित्रमा शान्तिप्रिय, कर्मठ र इमानदार मानिन्छन् । “तान्जानिया, बुरुन्डी, लिबियालगायत देशमा अन्य देशका शान्ति सेना फर्के पनि नेपालको सैनिक कम्पनी राष्ट्रसङ्घको मुख्यालय सुरक्षार्थ तैनाथ छ”, पाण्डेले सुनाउनुभयो, “लिबियामा जबसम्म सङ्घको मुख्यालय रहन्छ, तबसम्म नेपालको शान्ति सेना रहन्छ । ”

बदलिएको कार्यक्षेत्र
नीलो हेल्मेट शान्ति सेनाको पहिचान हो । नीलो हेल्मेट लाउने सेनाको काम सन् २००७ सम्म सुरक्षात्मक मात्र थियो तर द्वन्द्वग्रस्त क्षेत्र कङ्गो र मालीमा शान्ति सेना रहँदा भएको काण्डले कार्यक्षेत्र बदलियो । स्थानीयवासीमाथि आक्रमण हुँदा शान्ति सेनाले सहयोग नगरेको भन्दै विरोध भयो । शान्ति सेनाको अस्तित्वमै नकारात्मक असर प¥यो । त्यसपछि भने शान्ति सेनाको पहिलो काम सुरक्षात्मकबाट मानव रक्षा हुने राष्ट्रसङ्घले रणनीति लियो ।


पाण्डे नयाँ अवधारणाबारे भन्नुहुन्छ, “अब शान्ति सेनाले आमनागरिकको सुरक्षाका लागि आक्रमण र कारबाही गर्नेमाथि प्रतिकार गर्छ । सम्बन्धित देशमा सङ्घको मुख्यालयको सुरक्षा गर्ने जिम्मा भने यथावत् छ । ” विरोधीलाई निःशस्त्र पार्न र परेको खण्डमा आक्रमण गरी विद्रोही समाप्त गरेर शान्ति स्थापना गर्न शान्ति सेनाले कुनै विशेष आदेश कुर्नु नपर्ने उहाँ बताउनुहुन्छ ।

चुनौती र अवसर दुवै
द्वन्द्वरत देशमा शान्ति स्थापनाका लागि जानु नेपाली सैनिकका लागि अवसर र चुनौती दुवै भएको सेनाका पूर्वरथी बालानन्द शर्मा बताउनुहुन्छ । उहाँ विभिन्न देशको द्वन्द्व समाधानमा शान्ति सेनाबाट सक्रिय सहभागी बन्नुभयो । त्यही अनुभव सदुपयोग गर्दै नेपालमा चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामार्फत टुङ्ग्याउन ऐतिहासिक भूमिका निर्वाह गर्नुभयो । उहाँ चर्को द्वन्द्व कायम रहेको लेबनान, युगोस्लाभिया र सिरियामा शान्ति सेना बनेर पुग्नुभएको थियो ।

सन् १९७९÷१९८० ताका गृहयुद्धका कारण लेबनान तहसनहस थियो । “विद्रोही पक्षलाई इजरायलको बाह्य सहयोग थियो । अर्को पक्ष आफ्नै देशको बागी समूहसँग लडेको थियो”, शर्माले सुनाउनुभयो, “युद्धले तहसनहस भएको बेला संयुक्त राष्ट्रसङ्घले नेपालबाट शान्ति सेना त्यहाँ पठाएको थियो । ”  पट्ठो उमेरको सैनिक हुँदा गएको त्यो मिसनको उद्देश्य राज्यलाई बलियो बनाउने र विद्रोहीलाई निस्तेज बनाउने रहेको सम्झनुहुन्छ उहाँ । युद्धभूमिमा नीलो टोपी लगाउने सैनिकसँग स्थानीयवासीको व्यवहार फरक हुन्थ्यो । “तर नेपाली जहाँ पनि मिल्न सक्ने खुबीकै कारण इमानदार र बफादार भनेर मान्थे”, शर्माले भन्नुभयो, “स्थानीयवासी पनि नजिक हुन्थे, सद्भाव राख्थे र समस्या बताउँथे । ”

सन १९९३÷१९९४ ताका उहाँ युगोस्लाभिया पुग्नुभयो । जातीय युद्धले ध्वस्त भएको क्षेत्रमा मानवीयताको बीउ रोप्नु शान्ति सेनाको जिम्मेवारी थियो । पूर्वी युरोपको विकसित मुलुक कहलिएको थियो । तर जातीय द्वन्द्वकै कारण सिङ्गो युगोस्लाभिया क्रोएसिया, बोस्निया हर्जगोभिना, अल्वानिया, सर्वियालगायतका राष्ट्रमा विभाजित बन्यो । राज्य पुनःर्सरचना गर्दा जातीय हिसाबले गर्नुपर्ने मागले गृहयुद्ध निम्तिएको उहाँले बताउनुभयो । “एक जातिले अर्को जातिको नरसंहार गर्न थालेपछि संयुक्त राष्ट्रसङ्घले नेटो सेनाको प्रयोग गर्नु परेको थियो”, उहाँले भन्नुभयो, “हातहतियारले सुसज्जित विद्रोही सेनाका अघि बन्दुक चलाउन नपाउने शान्ति सेना कहिलेकाहीँ निरीह बन्थ्यो । ”

सिरिया र इजरायलबीचको युद्ध रोक्न सन् २००४ मा तेस्रो पटक टोलीको नेतृत्व गरेर शर्मा सिरिया पुग्नुभयो । “युद्धविराम भए पनि राजनीतिक वार्ता हुन सकेको थिएन”, शर्माले थप्नुभयो, “आन्तरिक कलह विदेशीको सहयोगमा मिल्ने सम्भावना थिएन, थप क्षति हुन नदिने उपाय गरिन्थ्यो । ” चुनौती भए पनि विदेशको द्वन्द्वबाट पाठ सिक्नु अवसर रहेको उहाँ बताउनुहुन्छ ।

प्रकाशित मिति : २०७६, ४ श्रावण शनिबार  ६ : ४८ बजे

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो