चितवन । हरियाली जंगलको बीचमा फैलिएको शान्त जलाशय, पानीमा रमाइरहेका जलचर र आकाशमा विचरण गर्ने विभिन्न प्रजातिका चराचुरुङ्गी। प्रकृति र जैविक विविधताको यस्तो अनुपम दृश्य चितवनको बीसहजारी तालमा देख्न सकिन्छ।

विश्व रामसार सूचीमा सूचीकृत बीसहजारी ताल चितवनको प्रमुख पर्यटकीय आकर्षणमध्ये एक हो। टिकौली जंगलअन्तर्गत बरन्डाभार वन क्षेत्रमा अवस्थित यो सिमसार क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको छ।

प्राकृतिक सुन्दरता र पारिस्थितिक महत्त्व बोकेको यस तालले दुर्लभ वन्यजन्तु, जलचर तथा विभिन्न प्रजातिका चराचुरुङ्गीलाई आश्रय दिँदै आएको छ। तालको नामकरण वरपरका क्षेत्रमा रहेका बीस हजारभन्दा बढी रुख तथा वनस्पतिसँग जोडिएको बताइन्छ।

वन्यजन्तु अवलोकन, जीप सफारी, हात्ती अवलोकन तथा प्रकृतिसँग रमाउन चाहने पर्यटकका लागि बीसहजारी ताल आकर्षक गन्तव्य बनेको छ। यस क्षेत्रमा बाघ, गैँडा, मृग, गोहीलगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका घुमन्ते चराहरू अवलोकन गर्न सकिन्छ।

प्रकृति, पर्यटन र जैविक विविधताको संगम बनेको बीसहजारी ताल चितवनको पर्यटकीय पहिचान मात्र होइन, दुर्लभ प्राकृतिक सम्पदाको संरक्षणको महत्त्वपूर्ण क्षेत्रसमेत हो।









प्रतिक्रिया