काठमाडौं, मंसिर १२। गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ। मन्त्रालयले मंसिर ११ गतेको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणीका नौ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो।
सरुवासम्बन्धी निर्णयअनुसार अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ। उनको स्थानमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ।
त्यस्तै, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ।
मन्त्रालयले गृह मन्त्रालय वा मातहत कार्यरत अन्य पाँच सहसचिवलाई पनि विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ।
नयाँ पदस्थापनअनुसार गीता कुमारी होमागाईंलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेम्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरिएको छ।
मन्त्रालयको पछिल्लो निर्णयसँगै अध्यागमन प्रशासनदेखि जिल्ला प्रशासनसम्मका महत्वपूर्ण जिम्मेवारीमा नयाँ नेतृत्व आउने भएको छ।







प्रतिक्रिया