काठमाडौं । नेपाल र भारतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित नयाँ दिल्लीमा नेपाल–भारत व्यापार मञ्च सम्पन्न भएको छ। मञ्चमा दुवै देशका उद्योगी, व्यवसायी तथा सरकारी अधिकारीहरूले द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार र लगानीका नयाँ सम्भावनाबारे छलफल गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसाद, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, भारतीय उद्योग महासंघका उपाध्यक्ष डा. विक्रमजित सिंह सहनी तथा लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्ग्की युक्याव शेर्पालगायतको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सुशासन र आर्थिक सुधारलाई प्राथमिकतामा राख्दै दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल अर्थतन्त्रलाई नेपालमा लगानीका सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरे।
भारतले यातायात तथा सूचना प्रविधिका क्षेत्रमा हासिल गरेको सफलताबाट सिक्दै नेपाल सहकार्य अघि बढाउन इच्छुक रहेको उल्लेख गर्दै उनले भारतीय लगानीकर्तालाई नेपाली निजी क्षेत्रसँग साझेदारी गरी उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने उद्योगमा लगानी विस्तार गर्न आह्वान गरे।
भारतीय राज्यमन्त्री जितिन प्रसादले पर्यटन, ऊर्जा, व्यापार तथा लगानीलगायत पारस्परिक लाभका क्षेत्रमा साझेदारी बढाउनुपर्नेमा जोड दिए। उनले नेपाल–भारतबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्य आवश्यक रहेको धारणा राखे।
मञ्चमा दुवै देशका व्यवसायीले लगानीका सम्भावना, व्यापार विस्तार र आर्थिक साझेदारीका विषयमा विचार आदानप्रदान गरेका थिए। विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य अघि बढाउने उद्देश्यले समझदारीपत्रमा समेत हस्ताक्षर भएको जनाइएको छ।
नेपाल–भारत व्यापार मञ्चले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप गतिशील बनाउनुका साथै लगानी, उत्पादन, व्यापार र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया