२०८३, ७ मंसिर सोमबार

पदभन्दा माथि प्रवासी नेपाली मञ्चको आस्था, प्रतिस्पर्धाभन्दा माथि हाम्रो आत्मीयता !

पदभन्दा माथि प्रवासी नेपाली मञ्चको आस्था, प्रतिस्पर्धाभन्दा माथि हाम्रो आत्मीयता !


म साथीहरूभन्दा फरक थिएँ, छैन र हुने पनि छैन। नितान्त आर्थिक अवस्था रूपान्तरण गर्ने सपना बोकेर परदेशिएको म कतार पुगेपछि सामाजिक काममा जोडिएँ। त्यही सामाजिक यात्राले मलाई व्यक्तिगत परिचयको सीमाभन्दा माथि उठेर सामूहिक पहिचान निर्माण गर्न सिकायो। ‘म’ बाट ‘हामी’ बन्ने चेतना र यात्राले नै मेरो आजको राजनीतिक तथा सामाजिक परिचय निर्माण गरेको हो। मेरो राजनीतिक आस्था, विचार र प्रतिबद्धताको धरातल पनि तपाईंहरूकै जस्तै हो। समय र परिस्थितिसँगै परिचयको दायरा फराकिलो भएको मात्रै हो, आस्था र निष्ठा बदलिएको होइन।

यसपटक नेपाल फर्किएर अध्यक्षको जिम्मेवारीसहित चुनावी प्रतिस्पर्धामा सहभागी हुने मेरो तयारी थियो। तर संगठनको केन्द्रीय निर्णय र हाम्रो राजनीतिक संस्कारलाई सम्मान गर्दै उपाध्यक्षको जिम्मेवारीका लागि नाम प्रस्ताव गर्न आग्रह गरियो। यद्यपि मैले उम्मेदवारी नदिने मनस्थिति बनाइसकेको थिएँ। अन्ततः उक्त जिम्मेवारी पनि प्राप्त भएन। मभन्दा योग्य र सक्षम कमरेडलाई साथीहरूले विश्वास गरेर जिम्मेवारी सुम्पिनुभएको छ। म त्यसको सम्मान गर्छु। यसमा मेरो कुनै व्यक्तिगत असन्तुष्टि, ईर्ष्या वा गुनासो छैन।

तर एउटा कुरा स्पष्ट छ-चुनावी परिणाम स्वीकार गर्नु र आफ्ना वैचारिक मान्यताबाट पछि हट्नु एउटै कुरा होइन। राजनीतिमा एउटै विचार र आस्था बोकेका व्यक्तिहरूबीच पनि विषय, मुद्दा र दृष्टिकोणमा फरक मत हुन सक्छ। लोकतन्त्रको सुन्दरता नै विचारको विविधता र मतभिन्नतालाई सम्मान गर्नु हो। मेरो पनि केही विषयमा फरक दृष्टिकोण रह्यो। त्यसलाई व्यक्तिगत विरोध, पूर्वाग्रह वा कसैप्रतिको असहिष्णुताका रूपमा बुझिनु हुँदैन। विशेषगरी नागरिकताको विषयमा मैले आफ्नो संवैधानिक दृष्टिकोण स्पष्ट राखेको हुँ। राजनीतिक अधिकार सबैको नैसर्गिक अधिकार हो भन्ने मान्यतामा मेरो कुनै विमति छैन। तर नागरिकताको सवालमा संविधानले निर्धारण गरेका व्यवस्था, सीमा र प्रक्रियालाई बेवास्ता गरेर कुनै पनि मागलाई स्वतः अधिकारका रूपमा स्वीकार गर्न सकिँदैन भन्ने मेरो बुझाइ हो। विकसित देशको नागरिकता ग्रहण गरिसक्नुभएका कतिपय कमरेडहरूले गैरआवासीय नेपाली नागरिकताको विषयमा राख्नुभएको धारणासँग मेरो मत मिल्न सकेन। मैले त्यसको समर्थन गर्न सकिनँ। यसबाट केही साथीहरू मसँग असन्तुष्ट हुनुभयो होला। अपेक्षा गरेभन्दा कम साथ पाउनुको एउटा कारण यो पनि हुन सक्छ। तर चुनाव जित्नकै लागि आफ्नो वैचारिक मान्यता र संवैधानिक दृष्टिकोण परिवर्तन गर्न म तयार छैन। म संविधान र विधिको शासनमा विश्वास गर्ने व्यक्ति हुँ। आफ्नो विचारप्रति इमानदार रहनु मेरो राजनीतिक चरित्र हो, कमजोरी होइन।

खाडी मुलुकमा बसेर पनि मलाई मत नदिनुभएका साथीहरू हुनुहुन्छ। अझ मैले काम गरिरहेको देशकै केही कमरेडहरूले सामाजिक सञ्जालमा मेरो आलोचना गर्न निकै समय खर्चिनुभयो। तर हामी कुनै चुनावी प्रतिस्पर्धामा मात्र जोडिएका अपरिचित व्यक्ति होइनौँ। हामी दुःखसुखका सहयात्री हौँ। वर्षौँ सँगै हिँड्यौँ, सँगै काम गर्‍यौँ र कठिन परिस्थितिमा एकअर्कालाई साथ दियौँ। मैले पनि आफ्नो क्षमताले भ्याएसम्म साथीहरूलाई सहयोग गरेँ हुँला।

आज विचार र मुद्दाका आधारमा मेरो आलोचना गर्न सक्नुहुन्छ, असहमत हुन सक्नुहुन्छ। तर हिजोको आत्मीयता, सहकार्य र सम्बन्धलाई चुनावी परिणामसँग जोडेर कमजोर नबनाऔँ। चुनावमा मत फरक पर्न सक्छ, मन फरक नहोस्। विचारमा प्रतिस्पर्धा हुन सक्छ, सम्बन्धमा दूरी नबढोस्। राजनीतिमा समर्थन र विरोध स्वाभाविक हुन्। तर असहमति शत्रुता होइन, प्रतिस्पर्धा सम्बन्धविच्छेद होइन र चुनावी पराजय राजनीतिक जीवनको अन्त्य पनि होइन। आज कसैको पक्षमा उभिएका साथीहरू भोलि अर्को विषयमा फरक मत राख्न सक्छन्। त्यसैले व्यक्तिलाई होइन, विचारलाई प्रतिस्पर्धा गराऔँ। आलोचनालाई प्रतिशोध होइन, सुधारको अवसर बनाऔँ। जिम्मेवारी प्राप्त गर्नुभएका कमरेडहरूलाई मेरो विशेष आग्रह छ-संगठन नेतृत्वको पदले मात्र बलियो हुँदैन। नेतृत्वको व्यवहार, कार्यशैली, न्यायपूर्ण दृष्टिकोण र सबैलाई समेट्ने क्षमताले संगठन बलियो हुन्छ। आलोचकलाई शत्रु र फरक मत राख्नेलाई विरोधी ठान्ने प्रवृत्तिले संगठन बलियो हुँदैन। साथीहरूलाई भुटेर होइन, जुटाएर मात्रै साझा आस्थाको धरातल मजबुत बनाउन सकिन्छ। नेतृत्वको वास्तविक परीक्षा आफूलाई समर्थन गर्नेहरूलाई होइन, फरक मत राख्नेहरूलाई पनि समान सम्मान र विश्वासका साथ समेट्न सक्नुमा हुन्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने संगठन कुनै व्यक्तिको निजी सम्पत्ति होइन। यो साझा विचार, संघर्ष, योगदान र विश्वासको जगमा निर्माण भएको सामूहिक संस्था हो। चुनावमा कसले जित्यो र कसले हार्‍यो भन्नेभन्दा पनि संगठनले कति साथीलाई समेट्न सक्यो, कति नयाँ सम्भावना जन्माउन सक्यो र साझा उद्देश्यमा कति अघि बढ्न सक्यो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

म पदका लागि मात्रै राजनीतिमा आएको होइन। जिम्मेवारी पाए पनि नपाए पनि मेरो आस्था, विचार र संगठनप्रतिको प्रतिबद्धता बदलिने छैन। मेरो राजनीतिक यात्रा कुनै एउटा पद प्राप्त गरेर समाप्त हुने यात्रा पनि होइन। म जहाँ छु, त्यहीँबाट आफ्नो क्षमता, विवेक र निष्ठाले भ्याएसम्म संगठन, समाज र साझा उद्देश्यका लागि योगदान गरिरहनेछु। अब चुनावी माहोल सकिएको छ। कसले कसलाई मत दियो, कसले दिएन, कसले समर्थन गर्‍यो र कसले विरोध गर्‍यो भन्ने हिसाबकिताब बन्द गरौँ। विगतका असमझदारी र तिक्तता बिर्सेर आगामी जिम्मेवारी पूरा गर्न लागौँ। जित्ने साथीहरूले सबैलाई समेट्ने उदारता देखाऔँ र हार्ने साथीहरूले पनि संगठन निर्माणको साझा अभियानमा आफ्नो भूमिका निर्वाह गरौँ।

किनकि हामीलाई व्यक्ति ठूलो बनाउनु छैन, संगठन बलियो बनाउनु छ। पदको प्रतिस्पर्धामा अल्झिनु छैन, विचारको श्रेष्ठतामा अघि बढ्नु छ। व्यक्तिगत स्वार्थभन्दा सामूहिक उद्देश्यलाई माथि राख्नु छ। फुटेर होइन, जुटेर मात्रै हाम्रो राजनीतिक आस्था, संगठन र साझा भविष्य बलियो बन्न सक्छ। अन्ततः हामी एउटै यात्राका सहयात्री हौँ। विचारमा मतभिन्नता हुन सक्छ, बाटोमा असहमति हुन सक्छ, तर साझा गन्तव्यप्रतिको प्रतिबद्धता कमजोर हुनु हुँदैन। हिजोको सहकार्य, आजको प्रतिस्पर्धा र भोलिको सहयात्रालाई एउटै आत्मीयताको सूत्रमा बाँधिराख्न सक्नुपर्छ।

पद अस्थायी हो, विचार स्थायी हो। चुनाव एउटा प्रक्रिया हो, संगठन निर्माण निरन्तर यात्रा हो। अब विवाद होइन, सहकार्य गरौँ। प्रतिशोध होइन, एकता रोजौँ। निषेध होइन, समेट्ने संस्कार विकास गरौँ। चुनावी परिणामलाई सम्मान गर्दै संगठनको जिम्मेवारी पूरा गर्न अघि बढौँ। हाम्रो सम्बन्ध पदले बनेको होइन, साझा आस्था, विचार, संघर्ष र आत्मीयताले बनेको हो। त्यसैले पद र प्रतिस्पर्धाभन्दा माथि हाम्रो मित्रता, आत्मीयता र प्रवासी नेपाली मञ्चप्रतिको साझा प्रतिबद्धता रहिरहनुपर्छ।

-चानक पोखरेल –निवर्तमान सचिव प्रवासी नेपाली मञ्च

प्रकाशित मिति : २०८३, ७ मंसिर सोमबार  ८ : ४९ बजे

नेपाली कांग्रेसको जिल्ला सभापतिमा दाहालको घोषणा

सिन्धुली । बिभाजनको डिलमा पुगेको नेपाली कांग्रेसको जिल्ला तथा प्रदेश

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, विमानस्थलमा स्वागत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

बालेनको भारत भ्रमणमा सीमा विवाद गायब, राष्ट्रिय सरोकारको मुद्दा एजेन्डाबाटै हटाइयो

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा नेपालको सार्वभौमिकता र

उपाधिपछि मुन्सेले भने– ‘यो जित सबैको मेहनतको प्रतिफल’, रोहितले भने– ‘आज हाम्रो दिन थिएन’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि