२०८३, ५ मंसिर शनिबार

अब आन्दोलन घोषणा भए युवा पङ्क्तिले देश कब्जा गर्छ : महेश बस्नेत

अब आन्दोलन घोषणा भए युवा पङ्क्तिले देश कब्जा गर्छ : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताएका छन् । नेशनल भोलिन्टियर फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्बोधन गरेका बस्नेतले वर्तमान सरकारलाई अधिनायकवादी र प्रतिशोधपूर्ण भएको आरोप लगाए । 

उनले लोकतन्त्रलाई सही बाटोमा ल्याउन तथा भ्रष्टाचार, अनियमितता, घुसखोरी, तस्करी र सरकारी संयन्त्रमा रहेको भनिएको सेटिङविरुद्ध पार्टीले आन्दोलन गर्ने तयारी गरिरहेको बताए ।

उनले आन्दोलन घोषणा भएपछि नेशनल भोलिन्टियर फोर्ससहित एमालेका युवा सङ्गठनहरू अग्रपङ्क्तिमा उत्रिने दाबी गरे ।

‘जब आन्दोलन घोषणा हुनेछ, हाम्रो पार्टीका श्रद्धेय अध्यक्षको मुखबाट आन्दोलन भनेर घोषणा भएको दिन यो युवा पङ्क्तिले देश कब्जा गर्नेछ र बालेनलाई सिंहदरबारबाट घिसारेर माइतीघर मण्डलामा ल्याउनेछ,’ बस्नेतले भने ।

उनले २०८२ भदौ २३ र २४ गते भएको घटनालाई विदेशी शक्तिको षड्यन्त्रको संज्ञा दिँदै त्यसमा बालेन, सुदनलगायतका व्यक्तिहरूको भूमिका रहेको आरोप लगाए । विदेशी संस्थाहरूको प्रयोग र आर्थिक परिचालनमार्फत मुलुकका सरकारी संरचना, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी चौकी, उद्योग तथा नेताहरूका निजी निवासमा आक्रमण गरिएको उनको दाबी थियो ।

बस्नेतले उक्त घटनामा नेकपा एमाले र पार्टी अध्यक्ष ओलीलाई मुख्य निशाना बनाइएको आरोपसमेत लगाए । 

बस्नेतले एमाले अध्यक्ष ओलीको नेतृत्व र राजनीतिक भूमिकाको बचाउ गर्दै नेपालको राष्ट्रियता र विकासका मुद्दामा उनले महत्त्वपूर्ण योगदान गरेको बताए ।

नाकाबन्दीका बेला लिएको अडान, चुच्चे नक्सा जारी गर्ने पहल, उत्तर–दक्षिण नाका विस्तारको अवधारणा, रेलमार्ग तथा जलमार्गको योजना, सडक पूर्वाधार निर्माण, ऊर्जा उत्पादन र सामाजिक सुरक्षा कार्यक्रमलाई उनले ओली नेतृत्वका महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे ।

‘केपी ओलीबिनाको नेपाल बनाउन खोजियो, केपी ओलीबिनाको एमाले बनाउन खोजियो, केपी ओलीबिनाको युवा बनाउन खोजियो, यो सम्भव छैन,’ उनले भने ।

ओलीको विकल्प खोज्ने प्रयासलाई कार्यकर्ताले अस्वीकार गरिसकेको उल्लेख गर्दै बस्नेतले पार्टीभित्र नेतृत्वको विषयमा भ्रम फैलाउने प्रयास सफल नहुने दाबी गरे ।

बस्नेतले वर्तमान सरकारलाई विभिन्न विषयमा असफल भएको आरोप लगाउँदै सुकुम्बासी, बाढीपीडित र वैदेशिक रोजगारीमा जाने युवाका समस्या समाधान गर्न नसकेको बताए ।

उनले सरकारका गतिविधि र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने, ‘हिजो सुकुम्बासीहरूलाई झुटो आश्वासन दिएको बालेन सरकार, आज सुकुम्बासीहरू सडकमा भनिरहेका छन् – बालेन सरकार, हामीलाई बास दे ।’

त्यस्तै, बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा समेत सरकारले प्रभावकारी काम गर्न नसकेको उनको आरोप थियो । प्रधानमन्त्री राहत कोषमा रकम जम्मा भए पनि पीडितले आवश्यक राहत नपाएको भन्दै उनले सरकारको आलोचना गरे । बस्नेतले सरकारका निकट व्यक्तिहरूमाथि भ्रष्टाचार र सेटिङको आरोपसमेत लगाए ।

प्रकाशित मिति : २०८३, ५ मंसिर शनिबार  ५ : ४७ बजे

अब आन्दोलन घोषणा भए युवा पङ्क्तिले देश कब्जा गर्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले

नेशनल भोलिन्टियर फोर्स देशव्यापी विस्तार गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

विस्तृत शान्ति सम्झौताको २० वर्षः संक्रमणकालीन न्याय अझै अधुरो, पीडितले पाएनन् न्याय

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्दा पनि

सात दिनभित्र विश्वासको मत लिने मुख्यमन्त्री यादवको घोषणा

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सात दिनभित्र

विश्व टेलिभिजन दिवस : सूचना, चेतना र विश्वलाई जोड्ने माध्यम

काठमाडौं ।  मेरो सम्झनामा टेलिभिजन एक प्रकारको राम्रो दृश्य मात्र