काठमाडौं । मेरो सम्झनामा टेलिभिजन एक प्रकारको राम्रो दृश्य मात्र थियो । सानो आकारको पर्दामा रंगीन दृश्यहरू देखिने भएकाले बाल्यकालमा टेलिभिजनप्रति छुट्टै आकर्षण थियो । तर समयसँगै बुझ्दै गएँ, टेलिभिजन एउटा मनोरञ्जन दिने साधन मात्र होइन रहेछ ।
यसले मानिसको ध्यान केन्द्रित गराउने, संसारका घटनाक्रमसँग परिचित गराउने र टाढाको विश्वलाई आफ्नै अगाडि ल्याइदिने शक्तिशाली माध्यम रहेछ । एउटा सानो पर्दाभित्र संसारका अनेक घटना, संस्कृति, जीवनशैली, सङ्घर्ष र सम्भावनाहरू समेटिएका हुन्छन् ।
टेलिभिजनले सूचना र समाचारलाई दृश्य तथा आवाजसहित मानिससम्म पु¥याउँछ । कुनै घटना कहाँ र कसरी भइरहेको छ भन्ने कुरा शब्दबाट मात्र नभई प्रत्यक्ष दृश्यबाट बुझ्न सकिने भएकाले यसको प्रभाव अन्य सञ्चार माध्यमभन्दा फरक र प्रभावकारी हुन्छ । राजनीतिक गतिविधि, प्राकृतिक विपद्, सामाजिक परिवर्तन, खेलकुद, विज्ञान तथा प्रविधिका उपलब्धिलगायतका विषयले टेलिभिजनमार्फत आम मानिसलाई जानकारी र सचेत बनाउँछन् । विशेष गरी संकट, दुर्घटना वा विपद्का समयमा टेलिभिजनले तत्काल सूचना प्रवाह गरी नागरिकलाई सतर्क बनाउने र आवश्यक निर्णय लिन सहयोग गर्ने भूमिका खेल्छ ।
नेपालमा टेलिभिजनको महत्त्व सूचना, शिक्षा, मनोरञ्जन र सामाजिक चेतना अभिवृद्धिमा अझ महत्त्वपूर्ण छ । भौगोलिक विकटता, भाषिक विविधता र सामाजिक संरचनाका कारण सबै नागरिकसम्म सूचना पु¥याउन चुनौती रहेको अवस्थामा टेलिभिजनले देशका विभिन्न क्षेत्र, समुदाय र वर्गलाई एउटै सूचनाको साझा माध्यममा जोड्ने काम गरेको छ । कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, संस्कृति, भाषा र स्थानीय मुद्दाबारे प्रसारित कार्यक्रमले ज्ञान विस्तार गर्नुका साथै समाजमा सकारात्मक परिवर्तनका लागि प्रेरित गर्छन् । टेलिभिजनमा देखिने समाचार र बहसले नागरिकलाई सार्वजनिक विषयमा धारणा बनाउन, राज्यका गतिविधि बुझ्न र लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनसमेत सहयोग पु¥याउँछन् ।
प्रविधिको विकाससँगै टेलिभिजनको स्वरूप र प्रयोगमा पनि व्यापक परिवर्तन आएको छ । परम्परागत टेलिभिजनका पर्दा अहिले इन्टरनेट, स्मार्ट टिभी, डिजिटल प्रसारण र मोबाइलसँग जोडिएका छन् । दर्शकले आफूले चाहेको कार्यक्रम जुनसुकै समय र स्थानमा हेर्न सक्ने अवस्था बनेको छ । यसले टेलिभिजनको पहुँच र प्रभावलाई अझ विस्तार गरेको छ । यद्यपि गलत सूचना, भ्रामक दृश्य, सनसनीपूर्ण सामग्री र दर्शकको समय अनावश्यक रूपमा खर्च हुने चुनौती पनि बढेका छन् । त्यसैले सत्य, तथ्यमा आधारित, जिम्मेवार र गुणस्तरीय सामग्री उत्पादन तथा प्रसारण गर्नु आजको टेलिभिजनको प्रमुख आवश्यकता हो ।
हरेक वर्ष नोभेम्बर २१ मा मनाइने विश्व टेलिभिजन दिवस टेलिभिजनको भूमिका, प्रभाव र महत्वबारे स्मरण गर्ने अवसर हो । आज टेलिभिजन घरको एउटा कुनामा राखिएको मनोरञ्जनको उपकरण होइन, समाजको ऐना, जनताको आवाज र विश्वलाई जोड्ने माध्यम बनेको छ । बदलिँदो प्रविधि र सञ्चारको प्रतिस्पर्धाबिच पनि विश्वसनीयता, निष्पक्षता, सामाजिक उत्तरदायित्व र जनहितलाई केन्द्रमा राख्न सके टेलिभिजनको सान्दर्भिकता अझै कायम रहनेछ । सानो पर्दाले ठुलो संसार देखाउने यसको शक्ति नै टेलिभिजनको वास्तविक महत्त्व हो ।
टेलिभिजन अनुभूति : सन्तोषी रावल







प्रतिक्रिया