रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र छरिएका बस्तीले चिनिने भैरहवा आज नेपालको महत्वपूर्ण व्यापारिक, औद्योगिक तथा सेवा केन्द्रका रूपमा स्थापित भएको छ। कृषि उपजको सामान्य कारोबारबाट सुरु भएको यसको आर्थिक यात्रा अहिले अन्तर्राष्ट्रिय विमानस्थल, औद्योगिक क्षेत्र, भन्सार, स्वास्थ्य संस्था, शिक्षा र पर्यटनसम्म विस्तार भएको छ।
तर भैरहवाको यो रूपान्तरण केवल भौतिक संरचनाको विकासको कथा होइन। यो स्थानीय व्यवसायीको संघर्ष, व्यापारिक सम्बन्धको विस्तार, प्रशासनिक परिवर्तन, सडक सञ्जाल र समयसँगै फेरिएको आर्थिक संरचनाको इतिहास पनि हो।
वि.सं. २००५ सालमा भैरहवामै जन्मिएका पुराना व्यवसायी नारायणप्रसाद अग्रवालका स्मृतिमा त्यतिबेलाको भैरहवा अहिलेको तुलनामा निकै फरक थियो। उनी भन्छन्, ‘त्यतिबेला भैरहवा अरू गाउँभन्दा अलिकति राम्रो गाउँजस्तै थियो। बाटोमा ग्राभेलसमेत थिएन, ढुंगैढुंगा हुन्थे।’
अग्रवालको यो स्मृतिले आजको सिद्धार्थनगर अर्थात् पुरानो भैरहवाले तय गरेको लामो विकास यात्रालाई बुझ्न सघाउँछ।
गाउँबाट प्रशासनिक केन्द्रसम्म
भैरहवाको पुरानो इतिहास खोतल्दा अहिलेको बजार क्षेत्रभन्दा बाहिर रहेका कचरिहवा, पक्लिहवा, मेउडिहवा, नौडिहवा, बहडिलवा, मतखोलवा, दोगहरा, शंकरपुर, पिपरहिया र कठौतियाजस्ता बस्तीको महत्व देखिन्छ। कुनै समय खेतीयोग्य जमिन, झाडी, जंगल र छरिएका बस्तीले भरिएको यस क्षेत्रमा थारु, बोटे तथा अन्य स्थानीय समुदायको बसोबास थियो। कृषि र परम्परागत पेसा नै जीविकाका प्रमुख आधार थिए।
भैरहवा नामकरणबारे पनि विभिन्न धारणा छन्। इतिहासकार विजय सागरका अनुसार पाल्पाका राजा मणिमुकुन्द सेनसँग सम्बन्धित भैरवको गुठीबाट यस ठाउँको नाम विकसित भएको हुन सक्ने मत छ। यद्यपि यस व्याख्यालाई पुष्टि गर्ने थप ऐतिहासिक अनुसन्धान आवश्यक छ।
वि.सं. १९९० आसपाससम्म सीमित बस्ती रहेको भैरहवामा प्रशासनिक गतिविधि विस्तार हुन थालेपछि यसको महत्व बढ्दै गयो। सरकारी कार्यालय स्थापना हुन थाले, कर्मचारी तथा सेवाग्राहीको आवागमन बढ्यो र क्रमशः बजार विस्तार हुन थाल्यो।
अग्रवालका अनुसार सुरुमा केही प्रशासनिक अधिकारी भैरहवामा बसे पनि सरकारी अड्डाहरू बेथरीमा थिए। पछि कार्यालयहरू भैरहवा सर्न थालेपछि बजारको चहलपहल पनि बढेको थियो।
यसरी प्रशासनिक केन्द्रको विकासले भैरहवालाई गाउँबाट व्यापारिक बस्तीतर्फ रूपान्तरण गर्ने आधार तयार गर्यो।
सडक र व्यापारले बदलिएको भैरहवा
भैरहवाको आर्थिक विकासमा सडक सञ्जालको विस्तार निर्णायक बन्यो। कुनै समय सुनौलीबाट बुटवल पुग्न सहज थिएन। ढुंगैढुंगा, धुलाम्मे र खाल्डाखुल्डी सडकमा यात्रा गर्न घण्टौँ लाग्थ्यो। मालसामान ढुवानीका लागि साइकल, घोडा र बैलगाडाको प्रयोग हुन्थ्यो।
अग्रवाल पुराना दिन सम्झँदै भन्छन्, ‘हामी साइकलमा कपडा र अन्य सामान राखेर परासी, लुम्बिनी, कक्रहवा र आसपासका गाउँसम्म पुर्याउँथ्यौँ। कतिपय ठाउँमा घोडाबाट सामान जान्थ्यो, कतै बैलगाडाबाट।’
त्यतिबेला भैरहवा र भारतीय बजार नौतनवाबीच व्यापारिक सम्बन्ध निकै बलियो थियो। अग्रवालका बुबा व्यापारका लागि नौतनवामा बस्ने र दैनिक भैरहवा आउने–जाने गर्थे।
सुनौली–बुटवल सडकको विकास र सिद्धार्थ राजमार्गको विस्तारपछि भैरहवाको व्यापारले नयाँ गति लियो। तराईको सीमावर्ती बजार बुटवल हुँदै पहाडी क्षेत्रसँग जोडिएपछि सामान ढुवानी सहज भयो। कृषि उपजको कारोबार पनि बुटवलबाट विस्तारै भैरहवातर्फ केन्द्रित हुन थाल्यो।
सडकले यातायात मात्र सहज बनाएन, बजारको भूगोल नै परिवर्तन गर्यो। गोदाम, पसल, ढुवानी सेवा र आवासीय बस्ती विस्तार हुँदै भैरहवा क्षेत्रीय व्यापारिक केन्द्रका रूपमा स्थापित भयो।
तोरीको तेलदेखि चामल निर्यातसम्मको औद्योगिक इतिहास
भैरहवाको औद्योगिक विकासको जग कृषि उत्पादनमा आधारित थियो। धान, तोरी र आलसको उत्पादन राम्रो हुने भएकाले यहाँ तेल र चामल उद्योग विस्तारको सम्भावना थियो।
अग्रवालका अनुसार वि.सं. २०११ सालमा गौरी आयल मिल स्थापना भएपछि भैरहवामा तोरीको तेल उत्पादनले गति लियो। पहिले स्थानीय तोरी नौतनवा लगेर प्रशोधन गरिन्थ्यो र तेल पुनः नेपाल ल्याइन्थ्यो। स्थानीयस्तरमै उद्योग सञ्चालन भएपछि उत्पादन र व्यापारको सम्भावना बढ्यो।
त्यसपछि चामल मिल र प्लास्टिक उद्योग थपिँदै गए। भैरहवाबाट उत्पादित चामल ट्रकमार्फत नौतनवाको रेलवे मालगोदामसम्म पुर्याएर भारतका विभिन्न सहरमा पठाइन्थ्यो।
इतिहासकार विजय सागरका अनुसार भैरहवामा धान–चामल निर्यात कम्पनी, चिनी मिल र कपडा उद्योगसमेत सञ्चालनमा थिए। कृषि उपजमा आधारित उत्पादन नेपालभित्र मात्र सीमित नभई बंगलादेश, श्रीलंका, मलेसिया र अमेरिकासम्म पुगेको उनको भनाइ छ।
त्यतिबेलाको आर्थिक संरचनामा किसान, उद्योगी, व्यापारी र ढुवानी व्यवसायीबीच प्रत्यक्ष सम्बन्ध थियो। किसानले उत्पादन गर्ने, उद्योगले प्रशोधन गर्ने र व्यापारिक सञ्जालले बजारसम्म पुर्याउने चक्रले स्थानीय रोजगारी र आम्दानी सिर्जना गरेको थियो।
तर यो औद्योगिक गति लामो समय टिक्न सकेन।
उत्पादनमुखी अर्थतन्त्रबाट आयातमुखी बजारतर्फ
सरकारी नीतिमा हुने परिवर्तन, कच्चा पदार्थको अभाव, कृषि उत्पादनमा आएको कमी र आयातमा बढ्दो निर्भरताले स्थानीय उद्योग प्रभावित हुँदै गएको अग्रवालको अनुभव छ।
उनी भन्छन्, ‘पहिले हामी यहाँ उत्पादन गरेर भारत पठाउँथ्यौँ। अहिले बाहिरबाट सामान ल्याएर यहीँ बेच्ने अवस्था आयो। यहाँको उत्पादन बढाउन सकेनौँ भने उद्योगले कसरी निर्यात गर्छ?’
उनका अनुसार विदेशबाट सस्तो सामान तथा कच्चा पदार्थ आयात गर्ने प्रवृत्ति बढ्दा स्थानीय उत्पादन र किसान दुवै प्रभावित भएका छन्।
इतिहासकार सागर पनि राजनीतिक खिचातानी, द्वन्द्व र नीतिगत अस्थिरताले औद्योगिक विकासमा असर पारेको बताउँछन्।
यद्यपि पछिल्लो समय सिमेन्ट, स्टिल, जस्तापाता र निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू विस्तार भएका छन्। कुनै समय भारतबाट आयात हुने कतिपय वस्तु अहिले नेपालमै उत्पादन भएर भारतीय बजारसम्म पुग्न थालेका छन्।
यसले भैरहवामा औद्योगिक सम्भावना अझै कायम रहेको देखाउँछ। तर स्थानीय कृषि उत्पादन, कच्चा पदार्थको उपलब्धता र निर्यातमुखी नीतिबीच प्रभावकारी सम्बन्ध स्थापित गर्नु चुनौती बनेको छ।
शिक्षा र स्वास्थ्यको क्षेत्रीय केन्द्र
भैरहवाको विकास व्यापार र उद्योगमा मात्र सीमित रहेन। शिक्षा तथा स्वास्थ्य सेवाको विस्तारले पनि यसलाई क्षेत्रीय केन्द्रका रूपमा स्थापित गर्यो।
अग्रवालका अनुसार उनका दाजुहरू पढ्न नौतनवा जानुपर्ने अवस्था थियो। स्थानीय विद्यार्थीलाई भारत जानुपर्ने बाध्यता हटाउन उनका बुबा नथमल अग्रवालले वि.सं. २००९ सालमा चार–पाँच कोठाको भवन बनाएर भैरहवा हाइस्कुल स्थापना गर्न सहयोग गरेका थिए।
प्राथमिक तहबाट सुरु भएको विद्यालय क्रमशः माध्यमिक तहसम्म विस्तार भयो। यसले भैरहवाको सामाजिक विकासमा स्थानीय व्यवसायी र समुदायको योगदानलाई उजागर गर्छ।
स्वास्थ्य क्षेत्रमा रण अम्बिका आँखा अस्पताल, युनिभर्सल मेडिकल कलेज र सिद्धार्थनगर सिटी अस्पतालजस्ता संस्थाले भैरहवालाई उपचारको गन्तव्य बनाउन सहयोग गरेका छन्।
रुपन्देहीसहित आसपासका जिल्लाबाट बिरामी उपचारका लागि आउँदा स्वास्थ्य सेवासँगै होटल, भोजनालय, यातायात, औषधि पसल र अन्य व्यवसायमा पनि आर्थिक गतिविधि बढेको छ।
नगरपालिकाको उपलब्ध विवरणअनुसार सिद्धार्थनगरमा ७४ हजार ४३६ जनसंख्या र १५ हजार ८७१ घरधुरी छन्। यहाँको साक्षरता दर ८६.१ प्रतिशत रहेको नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले जानकारी दिएका छन्।
अन्तर्राष्ट्रिय विमानस्थल : सम्भावना ठूलो, उपलब्धि अपेक्षाअनुसार छैन
भैरहवाको आधुनिक आर्थिक विकासमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल महत्वपूर्ण पूर्वाधार हो। लुम्बिनी आउने अन्तर्राष्ट्रिय पर्यटकलाई सीधै यस क्षेत्रमा ल्याउने, पर्यटन व्यवसाय विस्तार गर्ने र विदेशी लगानी आकर्षित गर्ने अपेक्षासहित विमानस्थल निर्माण गरिएको हो।
यससँगै बेलहिया–बुटवल छ लेनको व्यापारिक मार्ग, भैरहवा–लुम्बिनी सडक, विशेष आर्थिक क्षेत्र (सेज) र लुम्बिनी करिडोरका उद्योगले आर्थिक गतिविधि विस्तार गर्ने आधार तयार गरेका छन्।
तर पूर्वाधार निर्माणसँगै अपेक्षित आर्थिक लाभ स्थानीय जनतासम्म पुग्न नसकेको पुराना व्यवसायी अग्रवालको बुझाइ छ।
उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, सरकारले धेरै लगानी गर्यो। तर त्यसको लाभ जनताले पाउन सकेका छैनन्।’
विमानस्थललाई आर्थिक विकाससँग जोड्न नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटक आगमन, होटल तथा यातायात सेवाको विस्तार र लुम्बिनीसहित आसपासका पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचार आवश्यक देखिन्छ।
विमानस्थल सञ्चालन हुनु मात्रै पर्याप्त हुँदैन। त्यसबाट सिर्जना हुने अवसर स्थानीय व्यवसायी, श्रमिक र समुदायसम्म पुग्नुपर्छ।
त्यस्तै, बेलहिया नाकाबाट हुने आयात–निर्यातले भन्सार, ढुवानी, गोदाम, बैंकिङ, बीमा र अन्य सेवा व्यवसायलाई आधार दिएको छ। यो सीमावर्ती अवस्थिति भैरहवाको आर्थिक शक्तिमध्ये महत्वपूर्ण पक्ष हो।
बढ्दो सहर, थपिँदो सहरी चुनौती
व्यापार, उद्योग, शिक्षा र स्वास्थ्य सेवाको विस्तारसँगै भैरहवाको जनसंख्या र सहरी गतिविधि बढेको छ। तर आर्थिक गतिविधि विस्तारको गतिअनुसार आधारभूत सहरी सेवा विस्तार भए–नभएको प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।
नगरपालिकाको उपलब्ध प्रगति विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म सडक कालोपत्रे तथा ढलान १६.६५४ किलोमिटर, ग्राभेल सडक १९.०३७ किलोमिटर र ढल तथा नाला निर्माण १५.१७९ किलोमिटर उल्लेख छ।
आर्थिक वर्ष २०८२/८३ को विवरणमा सडक कालोपत्रे तथा ढलानतर्फ २ किलोमिटर, ग्राभेल सडकतर्फ ४.९ किलोमिटर र ढल तथा नाला निर्माणतर्फ २.०५ किलोमिटर प्रगति देखाइएको छ।
नगरपालिकाको तथ्यांकमा १९ वटा सार्वजनिक शौचालय, १२ सामुदायिक भवन, पाँच पार्क, एउटा ज्येष्ठ नागरिक गृह र दुई मनोरञ्जन पार्कलगायत संरचना रहेको उल्लेख छ।
यी विवरणले विकासका केही आधार देखाए पनि बढ्दो सहरी आवश्यकताका तुलनामा पूर्वाधार पर्याप्त छन् कि छैनन् भन्ने प्रश्न उठाउँछन्।
सवारी चाप, अव्यवस्थित पार्किङ, ढल निकास, फोहोर व्यवस्थापन, खानेपानी र सार्वजनिक खुला क्षेत्रको अभावलाई योजनाबद्ध रूपमा सम्बोधन गर्न आवश्यक छ। सडक विस्तारसँगै पैदलयात्रीको सुरक्षा, साइकलमैत्री पूर्वाधार र हरियाली क्षेत्रको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्छ।
आधुनिक सहर निर्माणको नाममा पुराना बस्ती, स्थानीय संस्कृति र ऐतिहासिक सम्पदा हराउन दिनु हुँदैन। भैरहवाको पुरानो सामाजिक तथा व्यापारिक इतिहासको अभिलेखीकरणले यसको मौलिक पहिचान संरक्षण गर्न सक्छ।
अबको भैरहवा : पूर्वाधार होइन, उत्पादन र रोजगारीमा समृद्धि
भैरहवा अहिले इतिहास र सम्भावनाको दोबाटोमा उभिएको छ। एकातिर गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको गौरवशाली आर्थिक विरासत छ भने अर्कोतिर अन्तर्राष्ट्रिय विमानस्थल, आधुनिक उद्योग, स्वास्थ्य सेवा र पर्यटनको सम्भावना छ।
तर प्रश्न केवल कति सडक बने, कति भवन निर्माण भए वा कति ठूला पूर्वाधार थपिए भन्ने होइन। ती पूर्वाधारले स्थानीय अर्थतन्त्रमा कति योगदान पुर्याए, कति रोजगारी सिर्जना गरे र स्थानीय जनताको जीवनस्तरमा कस्तो परिवर्तन ल्याए भन्ने हो।
भैरहवाको आगामी विकासलाई उत्पादन, निर्यात, रोजगारी र स्थानीय आम्दानीसँग जोड्न आवश्यक छ। किसानले उत्पादन बढाउन सक्ने वातावरण, उद्योगले प्रतिस्पर्धी लागतमा उत्पादन गर्न पाउने नीति र व्यापारले सहज बजार पाउने व्यवस्था हुनुपर्छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, सेजमा उद्योग आकर्षित गर्ने, लुम्बिनी पर्यटनलाई भैरहवाको स्थानीय अर्थतन्त्रसँग जोड्ने र सीमावर्ती व्यापारलाई व्यवस्थित बनाउने कामले यहाँको आर्थिक सम्भावनालाई वास्तविक समृद्धिमा रूपान्तरण गर्न सक्छ।
कुनै समय गाउँका रूपमा चिनिएको भैरहवा आज व्यापारिक सहर बनेको छ। अब यसको अर्को यात्रा उत्पादनमुखी, रोजगारी सिर्जना गर्ने र व्यवस्थित आधुनिक सहर बन्नेतर्फ केन्द्रित हुनुपर्छ।
भैरहवाको इतिहासले एउटा कुरा स्पष्ट देखाउँछ—स्थानीय उत्पादन, व्यापारिक सक्रियता र समुदायको सहभागिताले सहर निर्माण गर्छ। अबको चुनौती ती आधारलाई आधुनिक पूर्वाधार र प्रभावकारी नीतिसँग जोडेर समृद्धिको नयाँ अध्याय लेख्नु हो।







प्रतिक्रिया