दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल बित्यो। यही पाखा–पखेरामा दौडिएँ, यही गोरेटामा हिँड्न सिकेँ। जंगलका रूख र खोल्साका आवाज मेरा आफ्नैजस्ता लाग्थे । तर मलाई कहाँ थाहा थियो र-एक दिन यही जन्मभूमि फर्किंदा मैले बाल्यकाल होइन, आफ्नै सहकर्मीको चिहान खोज्नुपर्ने ।
चार वर्षदेखि पत्रकार डेकेन्द्रराज थापा बेपत्ता थिए । परिवारका लागि उनी हराएका थिए, हाम्रा लागि एउटा अनुत्तरित प्रश्न थिए। उनको अवस्था अज्ञात थियो । तर आशंका गहिरिँदै गएको थियो उनी मारिएका थिए । त्यही प्रश्नको उत्तर खोज्दै म आफ्नै गाउँ द्वारी पुगेँ । गाउँ उस्तै थियो। पाखा उस्तै थिए । गोरेटाहरू उस्तै थिए । तर मेरो आँखामा सबै कुरा फेरिएको थियो । बाल्यकालमा रमाइलो लाग्ने जंगल त्यस दिन डर लाग्दो लागिरहेको थियो । म आफ्नै गाउँमा एउटा सहकर्मीको अन्तिम निशान खोज्दै हिँडिरहेको थिएँ ।डरभित्र लुकेको सत्य २०६५ साल जेठ २० गते दिउँसो करिब १२ बजेतिर मेरो भेट बाल्यकालदेखिको साथी बलबहादुर राम्झली मगरसँग भयो। उसलाई भारत जानुपर्ने रहेछ। मैले डेकेन्द्रको शवबारे सोधेँ । मेरो प्रश्न सुन्नासाथ ऊ केहीबेर मौन भयो । वरिपरि हेर्यो । उसको अनुहारमा डर स्पष्ट देखिन्थ्यो ।
केहीबेरपछि उसले बिस्तारै भन्यो, ‘म आज इन्डिया नजाने भए त मरिगए पनि भन्ने थिइनँ। ल, हिँड्नुस्, म देखाइदिन्छु त्यो ठाउँ।’
म उसको पछि लागेँ । गोरेटो हुँदै पाखाबारी काट्यौँ । जंगलभित्र पस्यौँ । केही पर पुगेपछि उसले एउटा ठाउँ देखायो । उ त्यो रुख मुनी ‘यहीतिर हो ।’ त्यसपछि ऊ फेरि रोकियो । ‘मेरो नाम कहीँ कतै नभन्नु होला नि, फेरि फर्केर गाउँमै बस्नुपर्छ ।’ त्यो वाक्य आज पनि मेरो कानमा गुञ्जिरहन्छ । बलबहादुरले मलाई एउटा शव गाडिएको ठाउँ मात्र देखाएको थिएन । उसले डरले थिचिएको समाजभित्र लुकेको सत्यको ढोका खोलेको थियो । मैले तत्काल पत्रकार तथा मानव अधिकारकर्मी नमन शाहीलाई खबर गरेँ । नेपाल पत्रकार महासंघ दैलेखका तत्कालीन अध्यक्ष विष्णु शर्मालाई जानकारी गराएँ। त्यसपछि हामी घटनास्थलमा जुट्यौँ । मलगायत १३ जना पत्रकार त्यही जंगलमा बस्यौँ । हामी समाचार लेख्न बसेका थिएनौँ। हामी आफ्नै सहकर्मीको शव कुर्न बसेका थियौँ । असारको महिना। कहिले घाम, कहिले झरी। जंगलको चिसो, जुकाको टोकाइ र रातको सन्नाटा। काठमाडौँबाट फरेन्सिक टोली आउन समय लागिरहेको थियो । दिन बित्दै गए। हामीसँग पैसा सकिँदै थियो। खाना सकिँदै थियो। कहिलेकाहीँ दुई पोका चाउचाउमा धेरै पानी हालेर झोल बनाएर सबैले बाँडेर खान्थ्यौँ।
आज पनि त्यो चाउचाउ सम्झँदा लाग्छ-त्यसमा स्वाद थिएन, तर त्यसमा एउटा उद्देश्य मिसिएको थियो । हामीसँग डर थियो । तर त्योभन्दा ठूलो एउटा जिम्मेवारी थियो । डेकेन्द्रको सत्यलाई जोगाउने जिम्मेवारी । त्यो अनि माटो बोल्यो अन्ततः २०६५ साल असार ११ गते राष्ट्रिय मानव अधिकार आयोगका फरेन्सिक विज्ञ हरिहर वस्तीको नेतृत्वमा टोली घटनास्थल पुग्यो । माटो खोतल्न थालियो । एक तह हट्यो। फेरि अर्को तह ।
सबैका आँखा त्यही खाडलमा थिए । अनि करिब २७ इन्च गहिराइमा केही देखियो । मानव कंकाल । त्यससँगै कपडा थिए-सर्ट, हाफपाइन्ट र अन्डरवेयर । चार वर्षदेखि खोजिएको डेकेन्द्र माटोमुनि थिए । त्यो क्षण म शब्दविहीन भएँ । कोही ठूलो स्वरले रोएन । तर त्यो मौनता आफैँमा एउटा ठूलो रुवाइ थियो । हाम्रो अगाडि कंकाल थियो। तर आँखाभित्र डेकेन्द्रको अनुहार थियो। बायाँ खुट्टा दुई टुक्रा भएर भाँचिएको थियो । दायाँ हातको कुइनो फुटेको थियो। खप्परको अवस्थाले मृत्युका बेला मुख खुला रहेको संकेत गरिरहेको थियो । शरीर मौन थियो। तर त्यसको मौनताले चिच्याइरहेको थियो । यातना भएको थियो। अत्याचार भएको थियो। एउटा पत्रकार मारिएको थियो। त्यो कंकालसँगै एउटा परिवारको चार वर्ष लामो प्रतीक्षा पनि बाहिर आएको थियो। शव भेटियो, न्याय अझै भेटिएन ।
हामीले सोचेका थियौँ-अब न्याय हुन्छ। तर शव भेटिनु र न्याय पाउनु एउटै कुरा रहेनछ। डेकेन्द्रकी पत्नी लक्ष्मी थापाले न्यायका लागि कानुनी संघर्ष सुरु गरिन्। किटानी जाहेरी दर्ता गराउन संघर्ष भयो। पत्रकारहरू सडकमा आए। दैलेख बजारमा आन्दोलन भयो । हामीसँग एउटै प्रश्न थियो- ‘डेकेन्द्रका हत्यामा संलग्नलाई कहिले पक्राउ गर्नुहुन्छ ?’ केही समयपछि आरोपित पक्राउ परे। तर त्यसपछि पनि राजनीतिक दबाबका प्रसंग बाहिर आए। बयान प्रक्रिया रोक्ने प्रयास भयो। न्यायको बाटो फेरि कठिन बन्यो। त्यतिबेला हामीले बुझ्यौँ- न्यायको बाटो अदालतसम्म मात्र पुग्दैन रहेछ। त्यो बाटोमा सत्ता आउँछ। दबाब आउँछ। डर आउँछ। तर सत्यको पक्षमा उभिने नागरिक र पत्रकार पनि हुन्छन्। ‘हामीलाई बाँच्न र लेख्न देऊ’ डेकेन्द्रको घटनापछि पत्रकारहरू सडकमा आए। प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र दण्डहीनताको अन्त्यको माग गर्दै आन्दोलन भयो। हाम्रो नारा थियो- ‘हामीलाई बाँच्न र लेख्न देऊ।’ आज पनि त्यो नारा सम्झँदा मुटु भारी हुन्छ। किनकि त्यो एउटा आन्दोलनको नारा मात्र थिएन। त्यो हाम्रो पेशाको अस्तित्वको माग थियो। हामी भन्न चाहन्थ्यौँ- सत्य लेख्न देऊ। प्रश्न गर्न देऊ। डरबिना कलम चलाउन देऊ। हामीलाई बाँच्न देऊ। त्यो माटो अझै बोलिरहेको छ आज पनि द्वारीगाउँ सम्झँदा बाल्यकालका खेलभन्दा पहिले त्यो जंगल सम्झिन्छु। १३ जना पत्रकार सम्झिन्छु । बलबहादुरको डराएको अनुहार सम्झिन्छु ।
असारको झरी सम्झिन्छु । दुई चार पोका चाउचाउ सम्झिन्छु । र अन्ततः त्यो माटो सम्झिन्छु, जसले चार वर्षसम्म आफ्नो छातीमा एउटा सत्य बोकेर राख्यो । त्यो दिन मैले पत्रकारिता किताबबाट सिकेको थिइनँ । मैले त्यो दिन माटोबाट सिकेको थिएँ । सत्य गहिरो गाडिन सक्छ । तर सधैँका लागि गाडिन सक्दैन। डेकेन्द्रको शरीर माटोमुनि थियो। तर उनको पत्रकारिता माटोमुनि थिएन। उनको प्रश्न माटोमुनि थिएन । उनको आवाज माटोमुनि थिएन। त्यसैले आज पनि उनी हाम्रो स्मृतिमा जीवित छन ्। हरेक वर्ष साउन २७ आउँदा क्यालेन्डरको एउटा मिति मात्र आउँदैन। एउटा प्रश्न आउँछ- पत्रकार सुरक्षित छन् ? सत्य लेख्ने कलम सुरक्षित छ? र अर्को प्रश्न अझ गहिरो छ- फेरि कुनै डेकेन्द्र मारिए भने, हामी फेरि त्यही साहसका साथ उभिन सक्छौँ ? मलाई उत्तर थाहा छैन । तर एउटा कुरा थाहा छ- मानिसलाई मार्न सकिन्छ। शरीर गाड्न सकिन्छ । आवाज दबाउन सकिन्छ । तर- सत्यलाई सधैँका लागि गाड्न सकिँदैन । डेकेन्द्र त्यसैको प्रमाण हुन । सलाम डेकेन्द्र,प्रेस स्तन्त्रता जिन्दावाद ।
लेखक याम शर्मा
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश ईञ्चार्ज र पत्रकार डेकेन्द्र थापाको लास पत्ता लगाउने पहिलो पत्रकार हुन् ।







प्रतिक्रिया