नेपालको राजनीतिक इतिहासमा नेकपा एमाले केवल एउटा राजनीतिक दल मात्र होइन, आन्दोलन, संघर्ष, वैचारिक बहस र जनअपेक्षासँग गहिरो रूपमा गाँसिएको संगठन हो । तर राजनीति स्थिर हुँदैन । समय बदलिन्छ, समाज बदलिन्छ, जनताको सोच, आवश्यकता र अपेक्षा पनि बदलिन्छ । यही परिवर्तनलाई समयमै बुझ्न नसक्ने शक्ति इतिहासमा कमजोर बन्दै जान्छ । त्यसैले आज एमालेसामु एउटा गम्भीर प्रश्न उभिएको छ-जनतासँग अझ मजबुत रूपमा जोडिने कि आत्मसन्तुष्टिमा हराउँदै क्रमशः अप्रासंगिक बन्दै जाने ?
आज जनताले राजनीतिक दललाई भाषणबाट होइन, परिणामबाट मूल्याङ्कन गरिरहेका छन् । चुनावी नाराभन्दा रोजगारी, सुशासन, विकास, सेवा प्रवाह र जीवनस्तरमा परिवर्तन जनताको प्राथमिकता बनेको छ । यस्तो अवस्थामा संगठन यदि जनतासँगको प्रत्यक्ष सम्बन्धबाट टाढिँदै गयो भने त्यसको राजनीतिक प्रभाव पनि कमजोर हुँदै जान्छ । राजनीतिक शक्ति केवल संगठनात्मक संरचनाले टिक्दैन, त्यो जनविश्वासले टिक्छ ।
एमालेभित्र पछिल्ला वर्षहरूमा देखिएका कतिपय संगठनात्मक जटिलता, निष्क्रियता, आन्तरिक असन्तुलन र जनसम्पर्कको कमजोर अवस्थाबारे गम्भीर समीक्षा आवश्यक छ । यी विषयलाई ढाकछोप गरेर होइन, आत्मालोचनासहित सुधार गरेर मात्र संगठन बलियो बन्न सक्छ । इतिहासको गौरव महत्त्वपूर्ण हुन्छ, तर विगतको उपलब्धिले मात्र भविष्य सुरक्षित हुँदैन । जनतासँग निरन्तर जोडिन सक्ने क्षमता नै राजनीतिक जीवन्तताको आधार हो ।
कार्ल माक्र्स ले भनेका थिए-“दार्शनिकहरूले संसारलाई व्याख्या मात्र गरेका छन्, मुख्य कुरा यसलाई बदल्नु हो ।”
यो विचार आज पनि उत्तिकै सान्दर्भिक छ । यदि राजनीति केवल भाषण, व्याख्या र नारा उत्पादनमै सीमित रह्यो भने त्यो जनताको जीवनसँग जोडिन सक्दैन । राजनीति परिवर्तनको माध्यम बन्नुपर्छ, व्यवहारमा देखिनुपर्छ । त्यसैगरी भ्लादिमिर लेनिन ले स्पष्ट रूपमा भनेका थिए-“जनतासँग सम्बन्ध टुटेको पार्टी कमजोर हुन्छ ।” यो केवल सैद्धान्तिक भनाइ होइन, व्यवहारिक सत्य हो । जनताको विश्वास गुमाएको संगठन ठूलो संरचना हुँदाहुँदै पनि कमजोर बन्छ । संगठनको शक्ति कार्यालयमा होइन, जनताबीचको सक्रिय उपस्थितिमा हुन्छ ।
माओत्सेतुङ ले अझ स्पष्ट रूपमा भनेका थिए-“जनता नै इतिहासका निर्माता हुन् ।” उनको अर्को प्रसिद्ध भनाइ-“जनताबाट सिक, जनतासँग जाऊ, जनताको सेवा गर” आजको राजनीतिक अभ्यासका लागि पनि अत्यन्त महत्वपूर्ण छ । जनताको भावना, पीडा, अपेक्षा र संघर्षसँग जोडिन नसक्ने राजनीति अन्ततः खोक्रो बन्छ । आज एमालेसामु मुख्य चुनौती विचारको अभाव होइन, कार्यान्वयन र जनसम्बन्धको दूरी हो । संगठन जनताको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिनुपर्छ । बेरोजगारी, शिक्षा, स्वास्थ्य, विकास, सुशासन, सामाजिक न्याय र अवसरको सवालमा जनताले परिणाम खोजिरहेका छन् । यदि राजनीतिक संगठन यी विषयमा प्रभावकारी रूपमा उपस्थित हुन सकेन भने जनताको भरोसा क्रमशः कमजोर हुन्छ ।
अब एमालेले आफूलाई भाषणमुखी होइन, परिणाममुखी संगठनका रूपमा पुनः परिभाषित गर्नुपर्ने आवश्यकता छ । चुनावको समयमा मात्र होइन, निरन्तर जनसम्पर्कमा रहने राजनीतिक संस्कार विकास गर्नुपर्छ । संगठनभित्र अनुशासन, पारदर्शिता, आत्मसमीक्षा र जिम्मेवारीबोधको संस्कृति बलियो बनाउनु अत्यावश्यक छ । डिजिटल युगमा राजनीतिक संघर्षको स्वरूप पनि बदलिएको छ । आज विचार केवल सभा–मञ्चबाट होइन, सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, सूचना प्रवाह र जनसञ्चारका माध्यमबाट स्थापित हुन्छ । आधुनिक सञ्चार प्रविधिलाई बुझ्न नसक्ने र प्रयोग गर्न नसक्ने संगठन समयसँगै कमजोर बन्न सक्छ । त्यसैले वैचारिक संघर्षलाई आधुनिक प्रविधिसँग जोड्नु समयको आवश्यकता हो ।
कार्यकर्ताको भूमिका पनि अब पुरानो शैलीमा सीमित रहन सक्दैन । कार्यकर्ता केवल भीड जम्मा गर्ने शक्ति होइन, समाजमा सक्रिय हस्तक्षेप गर्ने, जनताको समस्या बुझ्ने, समाधान खोज्ने र सकारात्मक परिवर्तनको नेतृत्व गर्ने शक्ति बन्नुपर्छ ।अबको राजनीतिक संस्कृतिको मूल आधार हुनुपर्छ-“नारा होइन, परिणाम” “पद होइन, काम” “भीड होइन, विश्वास” निष्कर्षमा, एमाले आज एउटा निर्णायक मोडमा उभिएको छ । यदि संगठन जनताको भावना, युवाको ऊर्जा, समयको आवश्यकता र आधुनिक राजनीतिक यथार्थसँग जोडिन सफल भयो भने अझ शक्तिशाली रूपमा अगाडि बढ्न सक्छ ।
तर यदि आत्मसन्तुष्टि, निष्क्रियता र आन्तरिक कमजोरीलाई सुधार नगरी अघि बढ्यो भने इतिहास कठोर बन्न सक्छ । त्यसैले आजको प्रश्न केवल राजनीतिक प्रश्न होइन, अस्तित्वको प्रश्न बनेको छ, एमाले अब बदलिनैपर्छ : जनतासँग जोडिने कि इतिहासमा हराउने ?
लेखक चानक पोखरेल, प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी सचिव हुुनुहुन्छ ।








प्रतिक्रिया