काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई आगामी पाँच वर्षका लागि डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।
गत फागुन २४ गते तत्कालीन डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र को कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको थियो। रिक्त दुई पदमध्ये सरकारले पहिलो चरणमा एउटा पदमा मात्रै नियुक्ति गरेको हो।
नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा सरकारले कार्यकारी निर्देशकहरूमध्येबाट डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार गभर्नर डा. विश्वनाथ पौडेल ले चार जना कार्यकारी निर्देशकको नाम सरकारसमक्ष सिफारिस गरेका थिए।
नवनियुक्त पण्डित हालसम्म राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक का रूपमा कार्यरत थिए। उनी यसअघि बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन, वित्तीय समावेशिता तथा उपभोक्ता संरक्षण, भुक्तानी प्रणालीलगायत महत्वपूर्ण विभागको नेतृत्व सम्हालिसकेका अनुभवी अधिकारी हुन्। साथै उनी राष्ट्र बैंकका पूर्व प्रवक्ता समेत हुन्।
वित्तीय क्षेत्रको कडा नियमन, नीतिगत स्पष्टता र स्वार्थ समूहको दबाबका बीच पनि निर्णय कार्यान्वयन गराउने क्षमताका कारण पण्डितलाई बैंकभित्र दृढ नियामक छवि भएका अधिकारीका रूपमा हेरिन्छ। विशेषगरी चालु पुँजी कर्जासम्बन्धी निर्देशन कार्यान्वयनमा उनको भूमिका उल्लेखनीय मानिन्छ।
पण्डितको नियुक्तिसँगै लामो समयदेखि रिक्त रहेको राष्ट्र बैंकको उच्च नेतृत्वले पूर्णता पाउने अपेक्षा गरिएको छ भने बाँकी अर्को डेपुटी गभर्नर पदमा पनि चाँडै नियुक्ति हुने चर्चा सुरु भएको छ।








प्रतिक्रिया