हेटौंडा । बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जनदबाब र आन्दोलनको छायामा पद त्याग गरेका छन् । जेनजी आन्दोलनको चर्को लहरबीच राजीनामा दिने उनको कदमलाई कतिपयले “राजनीतिक नाटकीयता” भन्दै प्रश्न उठाउन थालेका छन्।
पाठकले भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए भने आज (भदौ ३१) उपसभामुखलाई ह्वाट्सएपबाट लिखित राजीनामा पत्र पठाएका छन्। उनले आन्दोलनमा सहादत भएकाको पीडामा भावविह्वल भएको दाबी गर्दै पदमा बसिरहनु अनुचित भएको बताएका छन्। तर, राजनीतिक विश्लेषकहरू र आन्दोलनमा सहभागी कतिपय नेताहरूले पाठकको राजीनामा विलम्बित, रणनीतिक र औचित्यहीन भएको आरोप लगाएका छन् ।
जेनजी आन्दोलनको शुरुवातदेखि नै प्रदेश सरकार र नेतृत्वमाथि प्रश्न उठिरहेका बेला सभामुख पाठक भने मौन थिए। न आन्दोलनप्रति समर्थन जनाइयो, न जिम्मेवारीपूर्वक समाधानका पहल गरियो। आन्दोलन चर्किएपछि र सरकारको आलोचना व्यापक बनेपछि मात्रै उनले राजीनामा गर्ने निर्णय सार्वजनिक गरे । एक आन्दोलनकारी नेताले भने, “जब जनता गोली खाइरहेका थिए, तब प्रदेशसभा मौन थियो। अहिले भने सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई नैतिक देखाउने प्रयास भइरहेको छ।”
राजीनामाको प्रक्रिया पनि आलोचनाको केन्द्रमा परेको छ। पदबाट राजीनामा दिने संवैधानिक जिम्मेवारी हुँदाहुँदै ह्वाट्सएपबाट राजीनामा पठाउनु राज्यको उच्च पदस्थ नेतृत्वबाट अपेक्षित आचरण होइन भन्ने टिप्पणीहरू सार्वजनिक भइरहेका छन्। संविधानविद् गोविन्द अधिकारी भन्छन्, “राजनीतिक हैसियत बोकेको व्यक्ति यस्तो संवेदनशील विषयमा सामाजिक सञ्जाल र ह्वाट्सएप प्रयोग गरेर प्रक्रिया पूरा गर्नु गैर-जिम्मेवार व्यवहार हो।”
सभामुखको राजीनामा एउटा संवेदनशील आन्दोलनको बीचमा आएको छ, तर आम जनतामा प्रश्न उब्जिएको छ – यो सहानुभूतिका नाममा गरिएको कूटनीतिक चाल त होइन? आन्दोलनको दबाब थेग्न नसकेर पद त्याग गरिएको हो, वा भविष्यको राजनीति सुरक्षित राख्न रणनीति अपनाइएको ?
सभामुख पाठकको राजीनामा जनआन्दोलनको दबाबपछि आएको एउटा निर्णय हो। तर राजीनामाको शैली, ढिलाइ, र कारणले यो कदमलाई राजनीतिक नाटकको हिस्सा मात्र हो कि भन्ने शंका कायमै छ। जनभावनालाई सम्मान गर्ने हो भने यस्तो संवेदनशील घडीमा कुर्सी सम्हालेकै बेला हस्तक्षेप र हस्तचेष्टा गर्नुपर्थ्यो -पदबाट पन्छेर होइन।
प्रतिक्रिया