रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सुटकेशभित्र एक महिलाको शव फेला परेको छ। शनिबार राति करिब १०:३० बजे स्थानीयले देखेको शंकास्पद सुटकेशलाई प्रहरीले आज (आइतबार) बिहान खोल्दा, करिब ३० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार, सुटकेश डोरीले कसिएको अवस्थामा फेला परेको थियो। सुटकेशभित्र महिलाको शव साडीमा बेरिएको अवस्थामा भेटिएकोले हत्या गरेर सुटकेशमा हालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृतक महिलाको अझै पहिचान खुल्न सकेको छैन।
घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, गौर पठाइएको छ।
यो साता मात्र रौतहट जिल्लामा तीन वटा शव फेला परेका छन्। केही दिन अघि गौर नगरपालिका–५ मा सहाबुदिन मिया छुरा प्रहारबाट मृत अवस्थामा फेला परेका थिए। त्यस्तै, सप्तरीका उपेन्द्र भगतको शव एक होटलमा फेला परेको थियो।
यसरी एक सातामै तीन शव भेटिनुले जिल्लामा जनसुरक्षाप्रति गम्भीर प्रश्न खडा भएको छ। स्थानीयवासीले यस्ता घटनाहरूको चाँडो खुलासा गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रहरीले हाल घटनासँग सम्बन्धित कुनै पनि सुराकी वा सूचना भएमा जानकारी गराउन अनुरोध गरेको छ।
प्रतिक्रिया