पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार वाइबालाई पोखराको लेकसाइड क्षेत्रबाट मंगलबार पक्राउ गरिएको हो ।
प्रहरी स्रोतका अनुसार वाइबामाथि साइबर अपराध सम्बन्धी मुद्दा परेको छ । यो उजुरी उनका सहकर्मी शर्मिला श्रेष्ठबाट दर्ता गराइएको जनाइएको छ । उक्त मुद्दा काठमाडौं जिल्ला प्रहरी परिसरमा दर्ता गरिएको हो । पक्राउपछी वाइबालाई मंगलबार नै काठमाडौं पठाइने जानकारी एसपी ओलियाले दिएका छन् ।
वाइबा यसअघि पनि विवादमा रहिएकी थिइन् । २०८० सालको चैत महिनामा उनी साइबर अपराध र कुटपिटको अभियोगमा पक्राउ परेकी थिइन्। त्यतिबेला उनीमाथि कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा १० हजार र साइबर अपराधसम्बन्धी मुद्दामा २५ हजार रुपैयाँ धरौटी माग गरिएको थियो । कुल ३५ हजार रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएकी थिइन् ।
प्रहरीले हाल उनीमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ। वाइबासँग सम्बन्धित सामाजिक सञ्जालमा देखिएका गतिविधिबारे समेत प्रहरीको साइबर शाखाले अध्ययन गरिरहेको बताइएको छ ।
प्रतिक्रिया