हाम्रो प्राथमिकता भनेको पूर्वाधारहरुको एकोहोरो विकासमा मात्र छ । वातावरणको पक्षलाई जोड्न सकिएको छैन् । पूर्वाधार विकासका क्रियाकलापहरु वातावरणमैत्री भएर अगाडि लैजान सकिरहेका छैनौं । भएका योजनालाई कार्यान्वयन गर्न सकेका छैनौ । हरित पक्षलाई विकासमा जोड्न सकेको छैनौं ।
नवराज पोखरेल, वातावरणविद्
निषा बस्नेत (नेपाल न्यूज बैंक)
काठमाडौं । वातावरणविद् नवराज पोखरेलले प्राकृतिक स्रोतलाई व्यवस्थापन गर्न नसकेर पनि पछिल्लो समय वातावरण प्रदूषण बढ्दै गएको बताएका छन् । उनले प्राकृतिक स्रोतलाई उपयोग गर्न नसक्दा र मानवीय क्रियाकलापका कारण वायु, जल, माटो प्रदूषण हुँदै गएको बताएका हुन् । ‘हाम्रो देशको स्रोतहरु राम्रोसँग व्यवस्थापन र परिचालन गर्न सकेका छैनौ । प्राकृतिक स्रोतलाई उपयोग गर्न नसक्ने एकातिर छ भने अर्को कुरा मानवीय क्रियाकलापका कारण हाम्रा वातावरणीय अवयवहरु छन् । ती परिवर्तन भएर गएका छन् र त्यसले प्रदूषित हुदैँ गएका छन्,’ उनले भने ।
पोखरेलले जलवायु परिवर्तनले तुलनात्मकरुपमा नेपाल बढि प्रभावित रहेको भन्दै यसको प्रभाव प्रत्यक्षरुपमा भोगिरहेको बताए । उनले मनसुनको समयमा नेपाल संवेदनशील अवस्थामा रहेको भन्दै मनसुनको समयमा विना योजना विकासका पूर्वधारका काम भइरहेको बताए ।
‘भौगर्भिक रुपमा हामी संवेदनशील अवस्थामा छौ । त्यो सँगै हाम्रा विकासका पूर्वधारहरु बन्दैछन् र ति पूर्वधारहरु विना योजना बन्दैछन् । प्रर्याप्त सुरक्षाका प्रावधान नबनाई विकासका काम गरिएका छौ । नौ महिनासम्म गरेका कामको यो तीन महिनाको समयमा नकरात्मक प्रभावहरु देखिन थाल्छन् । त्यसले स्वास्थ्यमा प्रभाव पार्छ र भौगर्भिक रुपमा पनि बाढी वा पहिरोलगायतले विपद्लाई निम्ताउने गर्छ ।’
इन्टरनेशनल एसोसिएसन अफ इम्प्याक्ट एसिस्मेन्ट(आईएआईएआई)को नेपाल च्याप्टरका सेक्रेटरी समेत रहेका उनले पूर्वाधार विकासका क्रियाकलापहरु वातावरणमैत्री हुन नसकेको र बनेका योजना कार्यान्वयन हुन नसकेको प्रष्ट पारे । ‘हाम्रो प्राथमिकता विकासे पूर्वाधारहरुको एकोहोरो विकासमा मात्र छ । त्यसमा वातावरणको पक्षलाई जोड्न गाह्रो परेको छ । पूर्वाधार विकासका क्रियाकलापहरु वातावरणमैत्री भएर लैजान सकेका छैनौ । योजनालाई कार्यान्वयन गर्न सकेका छैनौ । हरित पक्षलाई विकासमा जोड्न सकेको छैनौं,’ उनले थप भने ।
पोखरेलले वातावरणमैत्री पूर्वाधार विकास निर्माणका लागि प्रर्याप्त नीति नभएको बताए । उनले भने, ‘वातावरणमैत्री पूर्वाधार विकास गर्न केही खाकाहरु तयार गरेको छ, तर ती केन्द्रीकृत भएका विकासका नीतिहरुले स्थानीय स्तरमा भइरहेको कामलाई समेट्न सकेको छैन् । सबैभन्दा ठूलो ग्याप भनेको एउटा प्रर्याप्त नीति बनाइसकेका छैनौं । स्थानीयलाई कसरी जिम्मेवारी प्रदान गर्ने, कसरी बजेट दिने र त्यसलाई कसरी कार्यान्वयन गर्ने जस्ता प्राविधिक पक्षहरु स्पष्ट हुने नीति आएका छैनन् । र जति पनि नीतिहरु छन्, ती नीतिहरुलाई पनि कार्यान्वयन गर्न सकिरहेका छैनौ । पहिला भएका नीति नियमहरु कार्यान्वयन गर्न सक्यौ भने ५० प्रतिशत वातावरणका समस्याहरु समाधान हुन्छन् । बाँकी ५० प्रतिशत कुराहरुलाई नीति निर्माणको तहबाट सुरु गरेर लानुपर्छ । स्थानीय क्रियाकलाप, कार्यक्रमहरुलाई वातावरणमैत्री बनाउनको लागि नीति प्रर्याप्त छैन् ।’
उनले वर्षायाममा पानीको प्रदूषणका कारण जनजीवन प्रभावित हुने भन्दै विपद् प्रतिकार्य योजनाहरु बनाउनुपर्ने बताए । ‘वर्षायाममा के हुन्छ भने पानीको प्रदूषणको कुरा प्रदूषणको रुपमा रहन्छ । पानीमा हुने किटाणुले गर्दा पनि रोगहरु लाग्ने हुन्छ । अर्को विपद्बाट प्रभावित जनसंख्या स्वस्थ्य रहन सक्दैन् । स्वच्छतासँग सम्बन्धित प्रदूषणहरु पनि धेरै हुन्छन् । मनसुनको बेला विपद् प्रतिकार्य योजनाहरु बनाउनुपर्ने हुन्छ,’ उनले भने ।
प्रतिक्रिया