काठमाडौं । सबैका घरमा आमा, दिदी–बहिनी, भाउजू –बुहारी हुन्छन् । उनीहरु निरोगी पनि देखिएका होलान् । तर, यथार्थमा उनीहरु सधैं एउटा प्राणघातक रोगको जोखिममा छन् । त्यो हो– पाठेघरको मुखको क्यान्सर । ३० देखि ६० वर्ष उमेरका हरेक महिला यो रोगको जोखिममा हुन्छन् ।
सानै उमेरमा विवाह भएका, धेरै बच्चा जन्माएका, धेरै जनासंग यौन सम्पर्क राखेका, लामो समय परिवार नियोजनका चक्की सेवन गरेका महिला पाठेघरको मुखको क्यान्सरको उच्च जोखिममा रहन्छन् । जीवनमा एक पटकमात्र यौन सम्पर्क गरेका महिला यो रोगको उत्तिकै जोखिममा हुन्छन् ।
यो खतरा किन पनि भने, महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा छ । यो रोग लागिसकेपछि उपचार खर्चिलो त छ नै, जटिल पनि छ ।
सुरुमै लक्षण देखिँदैन
पाठेघरको मुखको क्यान्सर निकै बढिसकेपछि गन्हाउने र रगत मिसिएको पानी बग्न थाल्छ । महिनावारी नभएको बेला पनि रगत देखिनु वा महिनावारी सुकेका महिलाहरुमा फेरि रगत देखा पर्नु पनि पाठेघरको मुखमा क्यान्सर भएको लक्षण हो । यो क्यान्सर निकै फैलिएपछि पेट फुल्ने, खुट्टा सुन्निने, कम्मर र ढाड दुख्ने, दिसा–पिसाब गर्न समस्या हुने हुन्छ ।
यसबाट जोगिन ३० वर्ष पुगेका र जीवनमा एकपटक मात्र किन नहोस्, यौनसम्पर्क गरेका महिलाले हरेक तीनदेखि पाँच वर्षभित्र कम्तीमा एक पटक तालिम प्राप्त स्वास्थ्यकर्मीबाट जाँच गराउन डाक्टरहरुको सुझाव छ । महिनावारी सुकेका र क्यान्सर हुने सम्भावना भएर शल्यक्रिया गरेका महिलाले पनि पाठेघरको नियमित परिक्षण गराउनुपर्छ ।’
परिक्षणका क्रममा स्वास्थ्यकर्मीहरुले पाठेघरको मुखमा औषधी राखेर भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भीआर्ईए) जाँच गर्छन् । पहिले प्याप स्मेयर टेष्ट (पीएसटी) गरेर पाठेघरको मुखमा क्यान्सर संक्रमण भएको वा नभएको पत्ता लगाइन्थ्यो । भीआर्ईए त्योभन्दा धेरै वैज्ञानिक विधि हो ।
संक्रमण थाह भए रोकथाम हुन्छ
पाठेघरको मुखको क्यान्सर ह्युमन पापिलोमा नामक भाइरसको संक्रमणबाट हुन्छ । यो भाइरस संक्रमण भएको १५ देखि २० वर्षपछि क्यान्सरको रुप लिन्छ । ह्युमन पापिलोमा भाइरस १५–२० वर्षसम्म भित्रै चलेर बस्छ । रोग प्रतिरोधात्मक क्षमता बढी छ भने शरीरले त्यसलाई निस्काशन गरिदिन पनि सक्छ । प्रतिरोधी क्षमता कम हुनेहरुमा भने त्यसले सुक्ष्म परिवर्तनहरु गराएर क्यान्सर निम्त्याउँछ ।
नियमित जाँच गराउने हो भने पाठेघरको मुखमा क्यान्सर हुनु अगावै थाह पाएर रोक्न सकिने रहेछ। ‘तर, महिलाहरु घरपरिवारको जिम्मेवारीमा यति धेरै रुमलिएका हुन्छन् कि रोगले गम्भीर रुप नलिएसम्म उनीहरुलाई अस्पताल सम्झने फुर्सद नै हुँदैन ।’
प्रतिक्रिया