२०८३, १३ जेष्ठ बिहीबार

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल


काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण मानिएको ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ले नेपाल–चीन सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। चलचित्रकर्मीहरूले यसलाई नेपाली चलचित्रको विश्वव्यापी पहुँच विस्तार गर्ने ऐतिहासिक सुरुआतका रूपमा व्याख्या गरेका छन्।

फेस्टिभलको अनुभव सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपाल एआइ फिल्म एलायन्स् तथा एभरेस्ट फिल्म फेस्टिभलका अध्यक्ष करूण थापाले करिब तीन वर्षअघि चिनियाँ नागरिक ली होङ्गशू (शु–ग) ले नेपाली चलचित्रलाई चीनको विशाल बजारमा पुर्‍याउने प्रस्ताव राखेपछि अभियान सुरु भएको जानकारी दिनुभयो। उहाँका अनुसार सुरुमा यो अवधारणा “सुन्दर सपना” जस्तो लागे पनि निरन्तर प्रयास, समन्वय र कानुनी प्रक्रियापछि त्यो सपना विस्तारै यथार्थमा परिणत हुन थालेको हो।

उहाँले नेपाली चलचित्रलाई चीनमा प्रदर्शन गर्न केवल प्राविधिक तयारी पर्याप्त नभएको उल्लेख गर्दै फरक कानुन, संस्कृति र कार्यशैलीबीच समन्वय गर्नु नै सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो। “चीनको कडा सेन्सर प्रणाली, प्रक्रियागत जटिलता र मापदण्डबीच नेपाली चलचित्रलाई प्रवेश गराउनु सगरमाथा आरोहणसरह कठिन थियो,” उहाँले भन्नुभयो।

फेस्टिभलका लागि नेपालबाट २३ चलचित्र पठाइएकामा ११ चलचित्र प्रारम्भिक छनोटमा परेका थिए। तीमध्ये अन्ततः ६ चलचित्रले चिनियाँ सेन्सर प्रक्रिया सफलतापूर्वक पार गरेका छन्। छनोटमा परेका चलचित्रहरूमा ‘एन्जिला’, ‘छक्का पन्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल’ रहेका छन्।

फेस्टिभलमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक समाजका तत्कालीन अध्यक्ष जनकदीप पराजुली, विभिन्न निर्देशक, निर्माता तथा कलाकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बलको कलाकार टोलीले नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गर्दै नेपाली कला–संस्कृतिको झल्को दिएको थियो।

चीनको छाङ्शा शहरमा सात दिनसम्म सञ्चालन गरिएको फेस्टिभलमा एउटै समयमा पाँच वटा हलमा नेपाली चलचित्र प्रदर्शन गरिएको अनुभव नेपाली टोलीका लागि विशेष र अविस्मरणीय बनेको सहभागीहरूले बताएका छन्। नेपाली चलचित्रप्रति चिनियाँ दर्शकको उत्साहजनक रुचिले नेपाली चलचित्र उद्योगलाई नयाँ आत्मविश्वास दिलाएको आयोजकहरूको भनाइ छ।

फेस्टिभल अवधिमा आयोजित ‘एआई फिल्म मेकिङ कन्फरेन्स’लाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा चीन अग्रस्थानमा रहेको उल्लेख गर्दै नेपाली चलचित्रकर्मीहरूले चलचित्र निर्माण, सम्पादन र प्रविधिमैत्री कथावाचनसम्बन्धी ज्ञान आदानप्रदान गर्ने अवसर प्राप्त भएको बताएका छन्।

प्रकाशित मिति : २०८३, १३ जेष्ठ बिहीबार  ११ : ११ बजे

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण

इजरायल जान नेपाली युवाको भीड, यस्तो छ केयरगिभर बन्ने ‘गोल्डेन चान्स’

काठमाडौं । वैदेशिक रोजगारीमा उच्च आम्दानी खोजिरहेका नेपाली युवाका लागि

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर