धुलिखेल, २० भदौँः काभ्रेमा घरकै आइसोलेसनमा बस्ने कोरोना संक्रमितको पछिल्लो समय ह्वात्तै बढेको छ । जिल्लामा चिकित्सक सहितको आइसोलेसन बेड संख्या २२७ वटा मात्रै रहेको छ । कोरोना संक्रमितको संख्या र आइसोलेसन बेड संख्या बीच तालमेल नमिलिरहेका बेला आफ्नै घरमा बसेर कोरोना जित्न हिम्मत बढुल्नेको संख्या बढेको हो ।
तर शनिबार मध्याह्नसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३१६ पुगेको छ । अस्पतालमा आइसोलेसन वेडको अभाव हुन थालेसँगै सरकारले होम आइसोलेसनमा बस्ने चाहानेलाई मापदण्ड नै बनाएको छ । जिल्लामा शनिबारसम्ममा ४१ जना होम आइसोलेसनमा बसेका छन् ।
सबैभन्दा बढी कोरोना संक्रमित देखिएको बनेपामा आइसोलेसन बेड १ सय ५९ रहेको छ । बनेपाका १ सय ४२ जना कोरोना संक्रमित मध्ये ११७ जना अस्पतालको आइसोलेसनमा बसिरहेका छन् । होम आइसोलेसनमा बस्नेको संख्या पनि बनेपामै धेरै । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार २५ जना कोरोना संक्रमित आफ्नै घरको आइसोलेनमा बसिरहेका छन् ।
त्यस्तै ३० जना संक्रमित भएको धुलिखेलमा १० जना होम आइसोलेसनमा बसिरहेका छन् भने २० जना अस्पतालको आइसोलेसनमा छन् । पनौती नगरपालिका रहेका ४ जना नै संक्रमित आफ्नै घरको आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । त्यस्तै भुम्लु गाउँपालिकाका १ जना नै संक्रमित आफ्नै घरको आइसोलेसनमा बसिरहेका छन् ।
कम लक्षण वा लक्षण बिनाको कोरोना संक्रमितले आफ्नै घरमा १४ दिन आइसोलेसन बसे कोरोनालाई सहजै पराजित गर्न सक्ने चिकित्सकहरुको भनाई छ । बृद्धबृद्धा, दीर्घरोगी जस्ता उच्च जोखिममा रहेकालाई अस्पतालको आइसोलेसन उपयुक्त हुने चिकित्सकहरुको भनाई छ । आफ्नै घरमा अनुशासन कायम गर्न सक्नेले अस्पतालको आइसोलेसनमा नबस्दा जोखिममा रहेकाले अस्पतालको आइसोलेसन वेड पाउन सहज हुने उनीहरुको भनाई छ ।








प्रतिक्रिया