धुलिखेल, ११ साउनः काभ्रेको रोशी गाँउपालिका वडा नम्बर १ का स्थानीयवासीको घरघरमै खानेपानी आउन थाले पछि खुसी भएका छन् । भुकम्प पछि खाने पानीको समस्या भोग्दै आएका स्थानीय घर घरमै पानी आउन थाले पछि खुसी भएका हुन् ।
नारायणटार बृहत खानेपानी आयोजना मार्फत हाल वडाको ६३ धारामा पानी आईसकेको वडा अध्यक्ष श्रीदास लामाले जानकारी दिनुभयो । करिब आठ सय मिटर टाढाको मुहानबाट पानी ल्याएर ट्याङ्कीमा जम्मा गरिएको छ । पानी जम्मा गर्न चार वटा ट्याङ्की बनाईएको वडाध्यक्ष लामाले बताउनुभयो ।
आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय योजना आयोगको एक करोड आर्थिक सहयोगमा मुहानबाट ट्याङ्कीसम्म पानी ल्याउने काम सम्पन्न गरिएको वडा अध्यक्ष लामाले बताउनुभयो । यो खानेपानी आयोजनाबाट वडा नम्बर १ र २ गरेर ३ सय २० घरधुरी लाभान्वीत हुने छन् ।








प्रतिक्रिया