धुलिखेल, ३ साउनः काभ्रेको बेथानचोक गाउँपालिकाको प्रशासनिक भवन निर्माणको विषयमा विवाद चुलिएको छ । गएको असार १० गतेको साताैँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले आर्थिक वर्ष २०७७/०७८ भित्रै आफ्नो प्रशासनिक भवन निर्माण गर्ने उल्लेख गरे । सोहि अनुसार असार ३१ गते बसेको सातौँ गाउँसभाको दोस्रो बैठकले बजेट समेत पारित गर्यो ।
त्यसैको आधारमा आर्थिक वर्षको पहिलो दिन साउन १ नै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जग्गा प्राप्तका लागि भन्दै सूचना प्रकाशित गरे । उक्त सूचनामा बेथानचोक गाउँपालिका वडा नम्बर २ भित्र १० रोपनी जग्गा उपलब्ध गराउन भनिएको छ । गाउँपालिकाको आधिरिक फेसबुक पेजमा यो सूचना राखिएको केहि समयमै सामाजिक सञ्चालमा पहुँच भएकाहरुले विरोध गरेका थिए ।

२०७३ साल फागुन २७ गतेको राजपत्रमा साबिक ढुङ्गखर्क गाबिसको कार्यालयलाई नै गाउँपालिकाको केन्द्र हुने उल्लेख गरिएको छ । तर स्थानीयहरुले वडा नम्बर २ सबै वडाहरुको पायक नपर्ने भन्दै विरोध जनाएका हुन् ।
पहिलो सूचनामा ब्यापक विरोध आएपछि प्रमूख प्रशासकीय अधिकारी सापकोटाकै हस्ताक्षरमा आज अर्को सूचना प्रकाशित गरिएको छ । यो पटकको सूचनामा पालिकाका सबै वडामा जग्गा प्राप्त गर्न सकिने उल्लेख छ । तर अन्य थप प्रावधान राखिएको छ । जुन अघिल्लो सूचनामा थिएन । शनिबार जारी गरिएको सूचनामा कम्तीमा ६ मिटरको मोटर बाटोले जग्गा छोएको हुनुपर्ने र जग्गाको बनोट तथा क्षेत्रलफको आधारमा एकल वा सामुहिक रुपमा निवेदन दिन सकिने उल्लेख गरिएको छ ।









प्रतिक्रिया