२०८१, ८ मंसिर शनिबार

‘हिटलर र यहुदी’ शीर्षक उपन्यासको विश्लेषण

‘हिटलर र यहुदी’ शीर्षक उपन्यासको विश्लेषण


फ्रायडीय यौन मनोविज्ञानबाट प्रभावित, नारी स्वतन्त्रता तथा नारी अस्तित्वका पक्षधर, सम्प्रेष्य भाषाशैलीका प्रयोगकर्ता, मानवतावादी साहित्यकार विश्वेश्वरप्रसाद कोइराला(वि.सं.१९७१÷२०३९) नेपाली उपन्यास क्षेत्रका विशिष्ट प्रतिभा हुन् । चन्द्रवदन शीर्षक कथा लेखेर नेपाली साहित्य क्षेत्रमा प्रवेश गरेका कोइरालाले नेपाली उपन्यास क्षेत्रमा ‘तीन घुम्ती’ (२०२५), ‘नरेन्द्र दाइ’(२०२७) लगायत ६ ओटा औपन्यासिक कृति दिएर यसको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याएका छन् । ‘हिटलर र यहुदी’(२०३६) मा पनि रेवाको स्वतन्त्र क्रियाकलापले नारी अस्तित्त्वलाई टड्कारो रूपमा प्रस्तुत गरेको छ भने दोस्रो विश्वयुद्धमा हिटलरले देखाएको नरसंहारकारी क्रियाकलापबाट यहुदीले भोग्नुपरेको पीडालाई विषयवस्तु बनाइएको यस उपन्यासमा उनीहरूप्रतिको सहानुभूति व्यक्त भएकाले मानवतावदी दृष्टिकोण अत्यन्त संवेदनशील तरिकाले प्रस्तुत भएको पाइन्छ ।१३६ पृष्ठ भएको लामा तथा छोटा गरी ११ परिच्छेदमा संरचित यस उपन्यासमा ऐतिहासिक तथ्यलाई विषयवस्तु बनाइएको छ भने म पात्रको निजात्मक अनुभूतिलाई नेै सर्वोपरि रूपमा प्रस्तुत गर्दै यात्रावृत्तात्मक शैली अपनाइएको छ ।
कथावस्तु   

  पहिलो परिच्छेदमा उपन्यासको प्रमुख म पात्र क्यान्सरको उपचारका लागि बम्बइको टाटा क्यान्सर अस्पतालमा गएको हुन्छ । यो भन्दा पहिला पनि गएको भए तापनि उसले बम्बइ सहरलाई अहिले निकै फरक देख्दछ । डाक्टरलाई देखाएपछि डाक्टरले उसलाई उपचारका लागि बाहिर जानुपर्ने सल्लाह दिन्छ । बम्बइमा त्यतिबेला समाजवादी सम्मेलन चलेकाले उसले सजिलै बस्नका लागि होटल पनि पाउन सक्दैन । धेरै भौँतारिइसकेपछि उसले एउटा सानो कोठा प्राप्त गर्दछ । खाना खान लाग्दा उसको डेविड नामक व्यक्तिसँग भेट हुन्छ । उसले आफू अन्तर्राष्ट्रिय यहुदी सङ्गठनका तर्फबाट हिन्दूस्थानबाट इजरायल जान चाहने यहुदीहरूलाई फर्काउने काममा लागेको परिचय दिन्छ । साथसाथै उसले समाजवादी सम्मेलनले इजरायल विरुद्ध नराम्रो निर्णय नलियोस् भनी त्यसका सहभागीहरूलाई सम्झाउने जिम्मा सहित लिएको कुरा बताउँदछ । हिटलरले चार वर्षको समयावधिमा साठ्ठीहजार यहुदी मारेको कुरा गर्दै हिटलरी शासनको विरोध गर्दछ । यसै बेला यहुदी विरोधी लेवनानी पत्रकार मार्गरेट उनीहरू भएको ठाउँमा आइपुग्छे र भन्छे यहुदीहरुको दूषित षड्यन्त्रको सङ्गठन बम्बईमा रहेछ । हिटलरको मानव संहार पछि आदिवासी कृस्तानीलाई अरबका जोर्डन र गाजा क्षेत्रबाट लखेटेकोमा ऊ क्रुद्ध भई भन्छे कि इजरायललाई हामी मध्य सागरमा धकालेर डुबाइदिन्छौँ । यति भन्दै ऊ सुत्न जान्छे । म पात्रलाई सुत्दा निद्रा नलागेकाले समुद्रको किनारतिर जाँदै गर्दा बाटोमा उसलाई दलालले यहुदी र लेवनानी केटी मिलाइदिन्छु भन्छ । उसका कुराको वास्ता नगरी समुद्रको किनारमा जाँदा उसले त्यहाँ विभिन्न यौन क्रिडा तथा प्रेमालाप भइरहेको देख्छ । बिहानपख ऊ कोठामा आएर सुत्छ । 

 दोस्रो परिच्छेदमा म पात्र घरमा आएको हुन्छ । लोग्नेलाई क्यान्सर लागेको थाहा पाउँदा पाउँदै पनि लक्ष्मीले उसलाई प्रेम र यौनका कुरा हुँदा संभोगलाई परमानन्दको संज्ञा दिन्छे । उसले हिटलरको नरसंहारकारी युद्धको वर्णन भएको पुस्तक पढिरहेका बेला उपचारका लागि विदेश जान अनुरोध गर्छे । लक्ष्मीले नै आफ्ना गहना बन्धक राखेर पैसा जम्मा गर्ने, पासपोर्टका लागि विदेश विभागसँग सम्पर्क गर्ने, विदेशी मुद्राका लागि बैँकमा सम्पर्क गर्ने, टिकटका लागि सम्पर्क गर्ने जास्ता सबै काम आफैँ गर्छे । हजुर स्वस्थ भए म नै बन्धक भए पनि डर छैन भन्ने कुरा गर्छे । काठमामाडौँमा सबै कुरा बन्दोवस्त गरी म मात्र बम्बई जान्छ र सातौँ दिनमा बेलायतका लागि पानीजहाजमा प्रस्थान गर्छ ।          

  तेस्रो अनुच्छेदमा म पात्र पानीजहाजको यात्रा प्रारम्भ गर्छ । यसै बेला यहुदीहरुलाई पानीजहाजमा पठाउँदै गरेको डेविडसँग उसको भेट हुन्छ । ऊ इङ्ल्याण्डबाट घर फर्कँदा इजरायलको बाटो भई फर्कने कुरा गर्छ । सोही पानीजहाजको यात्रामा उसका हिन्दू मूलका मद्रासी ब्राह्मण नारायण र गुजराती मूलकी रेवा हुन्छन्  । नारायण हिन्दु भए पनि कट्टर हिन्दु छैनन् । उनले फ्रेन्च महिलासँग विवाह गरेका छन् । पत्नी र छोरो सहित उनी आपूmले लेखेको फ्रेन्च भाषामा लेखिएको उपन्यास छाप्न त्यहाँ जाँदै  छन् । डाक्टरकी श्रीमती गुजराती रेवा भने पतिको घर लन्डन जाँदैछिन् । उनीहरुसँग एक जाडी मराठी पनि बसेका छन् तर उनीहरुको त्यति भूमिका देखिँदैन । यस यात्राको प्रमुख पात्रको रूपमा देखा पर्ने नारायण चिन्तनले हिन्दूवादी भए तापनि व्यवहारमा निकै उदार छ । उसलाई हिन्दू संस्कृति प्रति औधी मोह छ । संस्कृतको राम्रो ज्ञान भएको नारायण आफ्ना बोलीहरुका बीच–बीचमा पटक पटक संस्कृतका श्लोकहरुको उच्चारण गरिरहन्छ ।अर्की युवती रेवा गुजराती भएर पनि पुरै पश्चिमी सभ्यता र संस्कृतिबाट प्रभावित देखिन्छे । म पात्र यिनीहरुका बीचमा रहेर यात्रा गर्दछ । यिनीहरुका बीचमा धर्म, संस्कृति, सभ्यता आदिको विषयमा चर्चा चलिरहन्छ ।  यात्रामा रेवा विरामी भएको, स्वीमिङ पुलमा पौडी खेलेको, भोजमा सहभागी भएको, घुमफिर र रोमान्सका विषयहरुको वर्णन यस परिच्छेदमा गरिएको पाइन्छ ,।            चौथो परिच्छेदमा पनि उनीहरुको दैनिक क्रियाकलापको वर्णन भइरहन्छ । एक अङ्ग्रेजसँग नारायणको चिनजान भएको, उनीहरु बीच विभिन्न विषयमा बहस भएको, नृत्य, भोजन, सयर, प्रेम आदिका रोमाञ्चकारी क्षणको वर्णन गरिएको, यसै क्रममा नेपल्स पुगेको, हिन्दुस्थानबाट गएका एक हुल त्यहीँ ओर्र्लिएको, फेरि त्यहाँबाट अघि बढेर मार्सेनी पुगेको, त्यहाँ चार–पाँच घण्टा रोकिएको, त्यही नारायणको  ओर्लने ठाउँ भएको, उसलाई लिन उसकी श्रीमती र छोरा आएका, परिचय गराइसकेपछि नारायणकी श्रीमतीले मार्सेनी घुम्नका लागि ट्याक्सीको व्यवस्था गरिदिएकी, घुमिसकेपछि फेरि जहाजको यात्रा सुरु गरेको, साथी छुटेकोमा खल्लो मान्दामान्दै जिब्राल्टर पुगेको , त्यसपछि इङ्ल्यण्को टेलवरी पुगेपछि रेवाको बुढो लिन आएको र खुसी भए सँगसँगै म पात्रसँग परिचय गराइसकेपछि लण्डनको यात्राका लागि अघि बढेको घटना सम्म पुगेर चौथो परिच्छेद सकिन्छ ।                  

पाँचौँ परिच्छेदबाट म पात्र लण्डन पुगेको , त्यहाँ आफूले बुकिङ्ग गरेको होटलमा बसेको, श्रीमतीले पठाएका धेरै चिठीहरु पाएको, त्यो पढेर एकान्तको पीडा बिर्सिएको, उपचारका लागि डाक्टरको सल्लाह अनुसार क्लिनिकमा भर्ना भएको, त्यहाँ तीन हप्ता बसेको, त्यसबीचमा लण्डनका विभिन्न ठाउँ घुमेको, डाक्टरले परीक्षण गरी राम्रो भयो भनी बधाइका साथ स्वदेश फिर्ता हुने अनुमति दिएको, ६–६ महिनामा कलकत्ता गएर जचाउन अनुमति दिएको, होटलको बील तिरेर स्कटहोम गएको, त्यहाँ एउटी आमाको अतिथि गृहमा अतिथि बनेर केही दिन त्यहीँ घुमेको, युरोपको भित्रभित्रै घुम्दै गर्दा हिटलरको युद्धले जर्जर बनाएका दृश्यहरुको वर्णन गरिएको, त्यसपछि ऊ बर्लिन  पुगेको, त्यहाँ धेरै नबसी छिट्टै हानोबर बस्न पुगेको, त्यहाँ उसलाई थियोडोरा नाम गरेकी पथप्रदर्शकले घुमाउँदै गर्दा हिटलरको बन्दी क्याम्प हेरको, देखेका कुराहरुको वर्णन गर्दै घरमा चिठी पठाएको, हिटलरको मानव संहारका साथै युद्धले ध्वंस भएको सहरको वर्णन गर्दै जाँदा पथप्रदर्शकले आफू बस्ने कोठामा लगेको र आफ्नो वृत्तान्त सुनाउँदै जाँदा उसको प्रेमी सपरिवार युुद्धमा मरेको, भाइ बाँकी रहेको तर उसलाई बचाउन जाँदा थियोडोरालाई नै रुसी सेनाले लगेर जबर्जस्ती गरेको सिङ्गो बर्लिनका नारीहरुको कथा भनी सुनाउँछे ।            यसरी नै कथाप्रसङ्ग अगाडि बढ्दै जाँदा बर्लिनबाट कलकत्ताको लागि प्लेन छुटेकाले ऊ हानोबरमा बस्नु परेको, त्यहाँ बस्दा उसलाई गाइड सानी बालिका लिजाले आफ्ना बाबुआमा बूढा भएका, शरीर बेचेर उनीहरुलाई पालेको, उसलाई पनि त्यसका लागि प्रस्ताव राखेकाले उसले मायाले घुमाएको पारिश्रमिक र आमाबाबुलाई खानेकुरा किनिदिएर घरमा पु¥याएर छोडेको घटनाको वर्णन हुन्छ ।          

   अर्को दिन म पात्रको यात्रा हिटलरको बन्दी शिविरमा हुन्छ । त्यहाँ उसले आफूलाई हिटलरको साथी भन्न रुचाउने एउटा खोरण्डो सिपाहीलाई भेटेको, उसले आफूसँग भएका कदरपत्र र अवकाशपत्र देखाएको, उसले यद्धका बेला आगो झैँ आएको गोलीले  एउटा गोडा गुमाउनु  परेको, त्यसपछि सन्तुष्टिका अभावले श्रीमतीले पनि छोडेको र एक्लै भएको, दोस्रो विश्वयुद्धमा भने मेयर्नीको घरमा शैनीकलाई पु¥याउने काम गरेको र उसलाई यौन सन्तुष्टि प्रदान गर्ने जस्तो बाहिरी काम गरेको, मेयर्नी आफैँ पनि त्यस्तो कार्य गर्ने गराउने कार्यमा प्रवृत्त भएको, उसको नाम लियोनार्दो भएको सबै कहानी सुनाउँदै सम्पूर्ण शिविर घुमाएको वर्णन भएको छ । त्यहाँका सिपाहीको यौनक्रीडा, तिनीहरुको मानवता विरोधी क्रियाकलाप, मानवीय क्रूरता, यहुदी जातिका बुढाखाढा र केटाकेटीलाई च्याम्बरमा जलाउनुपूर्व उनीहरुको चप्पलले पहाड बनेको भन्दै पहाड देखाउनु, कमाण्डरहरुले मानिसलाई आलु पोले झैँ पोलेका कुरा, कुकुरलाई बरु माया गर्ने तर मानिसका छालाले झ्यलका पर्दा बनाउने, टेबुल पोष्ट बनाएका कुरा सुन्दासुन्दै रात परेकाले म पात्र पनि त्यही बुढा सुत्ने सिँढीमा सुतेको र सपनामा हिटलरको आत्मा आएको, ऊ चर्को स्वरमा कराएको, गीताको  बारेमा भनेको, उसको विचारमा गीता एक नीतिकथात्मक आख्यान भएको, दया, माया, दान, मानवता, प्रेम आदि शक्तिका विरुद्ध देखा पर्ने प्रतिरोधात्मक तत्त्व भएको र घृणा, निष्ठुरता, कपट आदि यसका सुगम मार्ग भएको, कसैले कुनै चीजलाई प्रेम वा घृणाले संहार गर्दछ भने त्यो पाप भएको र आशक्तिरहित भएर स्वार्र्थ भन्दा माथि उठेर त्यो काम गरेको छ भने धर्मसम्मत हुने कुरा गरेको, गीताको सरल अर्थ भनेको नै आफ्नो पेसाप्रति बफादार हुनु भएको, ढोकामा बसेर यस्तै लामो बहस गर्दागर्दै ऊ व्युझिएको, उसलाई आपूm बाँचेको वा मरेको छुट्याउन समेत गाह्रो परेको, आपूmलाई सम्हालिसकेपछि मात्र उठेको, बस चढी होटलसम्म पुगेको र त्यहाँ पुगी उसले इल्जेका लागि तीन जनाले खाने जति खानेकुरा छाडी त्यहाँबाट हिँडेसम्मको वर्णनले नवौँ परिच्छेद समाप्त भएको छ ।          

      म पात्र काठमाडौँ आउनका लागि जहाज चढेको, त्यहाँ डा. सुनील भट्टाचार्य नामक बङ्गालीसँग भेट भएको, उसले नेपाल र भारत एउटै सँस्कृति र इतिहास बोकेका देश हुन् भनी तर्क दिएको, उसले हिटलरलाई आदर्शवादी नेता मानेको, उसले भारतीय र जर्मनबीच पनि समानता भएको र संस्कृतको ज्ञान सबैभन्दा पहिले जर्मनीले नै अध्ययन गरेको, आफ्नो भाइ सङ्गीत पढ्न जर्मनी गएको र विश्वयद्धमा मरेको सबै कहानी सुनाउँदछ । फ्रान्स पुगेपछि त्यहाँ जहाज १२ घण्टा रोकिने भएकाले एउटा कोठा लिएर आराम गर्दैैगर्दा केही बेरमा उसलाई लिन भट्टाचार्य आएको, उनीहरुसँगै दिल्ली र कलकत्ताका प्रमुख पत्रिकाका स्थानीय प्रतिनिधि पनि आएको हुनु र उसले सबै ठाउँ घुमाउनु, विभिन्न बौद्धिक व्यक्तित्त्व जमघट भएर गफ गर्ने ठाउँमा लग्नु र त्यहाँको सभ्यता, संस्कृति, र बौद्धिक पक्षको जानकारी गराउनुले दशौँ परिच्छेदलाई रोचक बनाएको छ । एघारौँ परिच्छदमा म पात्र हवाइजहाजबाट इजरायल पुगेको र जर्मनीबाट लखेटिएका यहुदीहरुको मनोविज्ञान बुझ्ने तीव्र इच्छा हुँदाहुँदै उपन्यासको अन्त्य हुन्छ ।      

    यसरी हिटलर यहुदी शीर्षक उपन्यास विभिन्न देशको भ्रमण, त्यस भ्रमणका क्रममा विभिन्न धर्म, संस्कृति, भाषा, मनोविज्ञान भएका व्यििक्तहरुको भेटघाट , कुराकानी र विभिन्न देशको भ्रमणका क्रममा आपूmले देखेर र सुनेर प्राप्त गरेको अनुभवहरुलाई यात्रावृत्तात्मक शैलीमा प्रस्तुत गरी समाप्त गरिएको छ ।
पात्र चरित्र     

‘हिटलर र यहुदी’ उपन्यासको शीर्षक अनुरूप यसका प्रमुख पात्र हिटलर र यहुदी हुनुपर्नेमा उनीहरु उद्देश्यका संवाहक विषयवस्तु बनेर देखा परेका छन् । क्रियाशील पात्रका रूपमा म पात्र, लक्ष्मी, नारायण, रेवा, थियोडोरा, लियोनार्ड, इल्जे, डा. भट्टाचार्य, डेविड, मिस मार्गरेट आदि देखा परेका छन् । यसका अतिरिक्त उपन्यासमा बम्बई पानीजहाज, बेलायत, जर्मनी, फ्रान्स आदि ठाउँहरुमा उपन्यासकारसँग साक्षात्कार हुन आएका धेरै पात्रहरु देखा परेका छन् । यसरी हेर्र्दा उपन्यासमा धेरै पात्र देखिए तापनि क्रियाशील पात्रहरु भने अत्यन्त न्यून देखिन्छन् । तिनै क्रियाशील पात्रहरुको चित्रण यसरी गर्न सकिन्छ –
म पात्र           

      म पात्र उपन्यासको प्रमुख पात्र हो । उसको भूमिका उपन्यासमा कथावाचक, द्रष्टा र भोक्ताको रूपमा रहेको छ । ऊ उपन्यासको आदिदेखि अन्त्यसम्म नै देखा परेको छ । उसकै परिधिमा उपन्यास रहेकाले उसलाई उपन्यासकारको मुखपात्रका रूपमा लिन सकिन्छ । आफ्ना मान्यतातथा दृष्टिकोणहरु उसकै मार्फत प्रस्तुत गर्दै उपन्यासकारले पाँचौँ परिच्छदसम्म उसलाई कथावाचकका रूपमा अड्याएका छन् र त्यसपछि उनलाई पत्रात्मक रूपले कथा भन्ने तथा कथावाचककै रूपमा पनि देखाएका छन् ।  घुमफिरका क्रममा द्रष्टा, श्रोता र भोक्ता जस्ता विभिन्न रूपमा उसलाई देख्न सकिन्छ । उसलाई यहुदीहरुले पाएको दुःखले सधैँ दुःखी गराएको महशुस हुन्छ । धर्म, दर्शन, संस्कृति, ईश्वर सबैको बारेमा लामो बहस भएको छ तर पनि यहाँ म पात्रले कुनै विवाद गरेको छैन । तटस्थ भएर देखा परेको छ । उसले उपन्यासमा मानिस स्वतन्त्र भएर जिउन पाउनुपर्छ भन्ने मानवतावादी विचार प्रस्तुत गरेको पाइन्छ । यसरी उपन्यासको मुख पात्रका रूपमा देखा परेको कारणले उसलाई उपन्यासको प्रमुख पात्रका रूपमा लिन सकिन्छ । 
लक्ष्मी              

लक्ष्मी म पात्रकी श्रीमती हो । उसले म पात्रका लागि प्राण सम्म दिन तयार भएको कुरा बम्बईबाट घर फर्केपछि उपचारका लागि विदेश जानका लागि आफ्ना सम्पूर्ण गहना बेचेर सबै किसिमका बन्दोवस्त गरिदिएकाले स्पष्ट हुन्छ । सम्भोगलाई ब्रह्मानन्दसँग तुलना गर्ने, पतिको सुखमा आफ्नो सुख देख्ने, पति घर नभए पनि पतिको ख्याल गर्ने कुरा चिठीलाई हेरेर पनि अन्दाज गर्न सकिन्छ । यसरी प्राणप्याराको सुखलाई आफ्नो सुख मान्ने लक्ष्मीलाई यस उपन्यासमा एक आदर्श नारीको रूपमा देख्न सकिन्छ । 
रेवा     रेवा उपन्यासकी अर्की प्रमुख नारी पात्र हो । ऊ पूर्वीय परिवेशमा हुर्केकी भए पनि एक स्वतन्त्र नारी पात्रका रूपमा देखा परेकी छे । आफ्नो लोग्ने इङ्ल्याण्को छ र उसलाई भेट्न जाँदा बाटोमा म पात्र र नारायणसँग गरेको खुला व्यवहारले पनि उसको स्वतन्त्र जीवनशैली भएको पुष्टि गर्दछ । उसले सम्भोगलाई प्राकृतिक आवश्यकताको रूपमा लिएकी छे । नाचगान, पौडी, रक्सीसेवन आदि कुरालाई सहर्ष स्वीकारेका कारण पनि उसलाई पूर्वीय मूलमा जन्मिएर पनि पाश्चात्य संस्कृतिलाई मन पराउने स्वतन्त्र नारी पात्रका रूपमा चिन्न सकिन्छ ।
परिवेश     

 यो उपन्यास यात्रावर्णनात्मक शैलीमा लेखिएको उपन्यास हो । भारतको बम्बईबाट सुरु भएको उक्त उपन्यासमाकाठमाडौँ हुँदै फेरी भारत र पानीजहाजको यात्रामा विविध ठाउँहरुको वर्णन भई इजरायल पुगेसम्मका कथावस्तु  समावेश भएको पाइन्छ । लगभग डेढ पहिनाको समयलाई लिएको यस उपन्यासले पारिस्थितिक हिसाबले लामो समयावधिलाई ओगटेको छ । पहिलो र दोस्रो विश्वयुद्धले ल्याएको हत्या, यातना, ध्वंश आदि कुरालाई बाह्य परिस्थिति र दोस्रो विश्वयद्धले निम्त्याएको मानवीय त्रासदीपूर्ण व्यवहारलाई आन्तरिक परिस्थितिका रूपमा लिन सकिन्छ ।
शीर्षक सार्थकता   

  उपन्यासको शीर्षक हिटलर र यहुदी भए तापनि यिनीहरु क्रियाशील पात्रका रूपमा आएका छैनन् । तैपनि यी औपन्यासिक उद्देश्यका संवाहक भएकाले महत्त्वपूर्ण बनेर उभिएका छन् । उपन्यासमा जताततै हिटलरको तानाशाही तथा क्रूर शासनको चर्चा परिचर्चा र त्यसले यहुदीहरुमा पर्न गएको असरको सेरोफेरोमा रहेर घटनाको वर्णन भएकाले शीर्षक अत्यन्त सार्थक देखिन्छ । 
भाषाशैली     

  कुनै पनि विषयवस्तुलाई अभिव्यक्त गर्ने माध्यम भाषा हो भने त्यसलाई प्रस्तुत गर्ने तरिका शैली  हो । प्रस्तुत उपन्यासलाई हेर्ने हो भने यात्रावर्णनात्मक शैलीलाई विशेष प्रश्रय दिँदै केही मात्रामा पत्रात्मक शैलीको अवलम्वन गरेको पाइन्छ । ऐतिहासिक विषयवस्तुलाई लिएर रचना गरिएको यस उपन्यासमा प्रयोग भएको भाषा अत्यन्त रोचक तथा मर्मस्र्शी बनेर देखा पर्दछ । केही नेपाली झर्रा शब्द, केही तत्सम शब्द तथा केही अङ्ग्रेजी शब्दहरुको सुन्दर संयोजनले अत्यन्त उत्कृष्ट किसिमले सम्प्रेश्य बनेको उक्त उपान्यास उपन्यासकारको भाषाशैलीगत कुशलताको नमूनाको रुपमा देख्न सकिन्छ । 
सारवस्तु   

 प्रस्तुत उपन्यासमा हिटलरले गरेको यहुदीहरुप्रतिको त्रूmर व्यवहार तथा नरसंहार होस् या महाभारको नरसंहार, दुबै अत्यन्त मानव जाती प्रति कै घृणाजनक व्यवहार हुन् । युद्धमा मर्नेहरु त मरेर गइहाल्छन् तर उनीहरुका सन्ततिले भोग्नुपर्ने कारुणिक र पीडादायक परिस्थितिले आलो घाउमा नुन छर्के झैँ अत्यन्त दर्दनाक अवस्था सिर्जना हुने भएकाले यी सम्पूर्ण अवस्थालाई छरप्रष्ट पारेर अब यस्तो नहोस् भन्ने भाव प्रदान गर्नु उक्त उपन्यासले प्रस्तुत गर्न खोजेको सार हो ।                                                                                              

  विश्लेषक : मधुसूदन पराजुली

 मेलम्ची ५, सिन्धुपाल्चोक

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  १ : २५ बजे

काठमाडौंका यी स्थानमा आज ७ घण्टा विद्युत् अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार पाँचदेखि साढे ६ देखि

समाजमा परिवर्तन ल्याउन ऐन र कानून परिवर्तन गर्न आवश्यक : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ

तराईमा हुस्सु लाग्ने, दुई प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको

दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो

दार्चुला । दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको