धुलिखेल, ११ असारः सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाको सातौँ गाउँसभा नेपाली काँग्रेसले बहिष्कार गरेपनि बहुमतले नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । बुधबार सार्वजनिक नीति, कार्यक्रम र बजेट नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका थिए ।
वडा नम्बर १ का मुके शेर्पा, ४ का साङदोर्जे शेर्पा र २ का केलाश पौडेलले गाउँसभा बहिष्कार गरेका हुन् । उनीहरु तीनैजना काँग्रेसबाट निर्वाचित हुन् । पालिकामा ५ वटा वडा छ । पालिकामा २९ जना कार्यपालिका सदस्य छन् । उनीहरु मध्ये तीन जना वडाध्यक्ष, १० जना वडासदस्य र १ जना कार्यपालिका सदस्यले सभा बहिष्कार गरेका हुन् ।
बजेटमा चित्ता नबुझेर नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले गाउँसभा बहिष्कार गरेको वडा नम्बर १ का वडाध्यक्ष मुके शेर्पाले जानकारी दिए । अघिल्लो वर्षभन्दा यो बर्ष वडामै बजेटको सिलिङ घटाएर पठाएको र काँग्रेस विजयी भएको वडाहरु बजेटमा समेत विभेद गर्ने गरेकाले गाउँसभा बष्हिकार गरिएको उनको भनाई छ ।
उनले पालिकाअध्यक्ष र उपाध्यक्ष कोष भनेर करोडौँ रकम राख्ने वडाहरुलाई विकास गर्न रकम नपठाउने गरेको आरोप समेत लगाए । ‘उहाँहरुले आफ्नो कार्यकर्ता पाल्ने हिसाबले मात्रै कर्मचारीसँग मिलेर बजेट निर्माण गर्नुहुन्छ, वडाध्यक्ष शेर्पाले भने ‘मेरो वडामा यो वर्षमात्रै ३ करोड ४६ लाख २५ हजारको विकास निर्माण नागरिकबाट माग भएर आएको छ, तर रकम ८० लाख भन्दा छैन, पालिका अध्यक्ष र उपाध्यक्ष कोषमा किन करोडौँ रकम राख्नु पर्यौ ?’
पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद निरौलाले बहुमतले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेट पारित भएको जानकारी दिए । गाउँसभाले ४६ करोड बरोबरको बजेट पारित गरेको छ ।








प्रतिक्रिया