धुलिखेल, ७ जेठः संकट ब्यवस्थापन केन्द्र (सीएमसी) काभ्रेले जिल्लाका सबै स्थानीय तहलाई तोकिएको एम्बुलेन्स मात्रै प्रयोगमा ल्याउन आग्रह गरेको छ । जिल्लाको ३० वटा एम्बुलेन्समा पाटेसन गरी कोभिड १९ मैत्री बनाइएको र ती एम्बुलेन्स मात्रै प्रयोगमा ल्याउन सीएमसीले आग्रह गरेको हो ।
जिल्लाका ३० वाट एम्बुलेन्समा ग्लोबल पोजिशनिंग सिस्टम (जीपीएस) प्रणाली जडान गरिएको छ । जीपीएस प्रणाली जडान गरेपछि एम्बुलेन्स कुन समयमा कुन ठाउँमा, कुन गतिमा थियो भन्ने कुरा थाहा पाउन सकिन्छ । जिल्लामा ३५ वटा एम्बुलेन्स छन् । जिल्लाको महाभारत गाउँपालिका बाहेक सबै स्थानीय तहमा एम्बुलेन्स छन् ।
सीएमसीले क्वारेन्टाइनमा रहेका र समुदायका अन्य विरामीलाई समेत अस्पताल लैजान तोकिएका एम्बुलेसन्स प्रयोग गर्न भनेको हो । त्यस्तै क्वारेन्टाइन लैजाँदा, संक्रमितको स्वास्थ्य परीक्षण गर्दा र उपचार सम्बन्धी ब्यवस्था सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकलाई जिम्मा लगाइएको स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।
सीएमसीले सबै पालिकामा ‘बिरामी ओसारपसार टोली’ तयारी अवस्थामा राख्न पनि भनेको छ । यसरी कोभिड १९ संक्रमित बिरामीहरु अस्पताल लैजानुपर्ने अवस्थामा स्वास्थ्य संयोजकले उक्त टोलीलाई खबर गरेर सोहि टोलीको सहयोगमा अस्पताल पुर्याउन ब्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
यसैबिच, संकट ब्यवस्थापन केन्द्र (सीएमसी) ले काभ्रेको बनेपामा रहेको सगरमाथा र सुर्य ग्याँस उद्योगका कर्मचारीहरुको कोरोना भाईरस परीक्षण गर्ने निर्णय गरेकाे छ । सबै कार्मचारीको कोरोना परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।








प्रतिक्रिया