काठमाडौं, १५ वैैशाख: बिभिन्न जिल्लाबाट काठमाडौं आउन लागेका यात्रुहरुलाई नागढुंगा नाकाबाट फर्काइएको छ । गृहमन्त्रालयले परिपत्र गरी लकडाउनलाई कडाइ गर्न भनेपछि नागढुंगा नाकामा आइपुगेका यात्रुहरुलाई जहाँबाट आएको हो, त्यहीँ फर्काइएको छ ।
यात्रुहरुलाई रोक्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं परिसर प्रमुख श्याम ज्ञवालीलगायत नागढुंगा पुगेका छन् ।महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले अनलाइनखबरसँग भने, ‘जहाँबाट आएका थिए, उतै फर्काउने काम भइरहेको छ ।’
सोमबार बिहान विराटनगर महानगरपालिकाले ७ वटा बसमा पठाएका यात्रुहरुमध्ये केहीलाई जान दिएर केहीलाई नाकामा रोकिएको थियो । सवारी पास भएकाहरुले आफन्तलाई नागढुंगा पुगेरै घरसम्म ल्याएका छन् । कोही नभएकाहरु भने नागढुंगामा सडक पेटीमा बसीरहेका छन्, नाकामै रोकिएकाहरुमध्ये कतिपय बच्चा बोकेकाहरु पनि छन् ।
गृह मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन नदिन गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ । पछिल्लो समय स्थानीय तहहरुले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरु गाउँमा लगेका छन् । मानिसहरुको आवत जावत हुँदा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ ।
अनलाइन खबर








प्रतिक्रिया