काठमाडौँ, १७ कात्तिक: सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिदिएको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई संविधानको धारा १६५ को उपधारा १ बमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सातै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो। २०७४ मंसिरमा भएको आमनिर्वाचनमा पराजित भइसकेपछि कांग्रेस नेतृत्वको सरकारले प्रदेश प्रमुख नियुक्त गरेको थियो। तत्कालीन नेकपा एमालेले प्रदेश प्रमुख नियुक्तिमा आफ्नो असहमति रहेको भन्दै नयाँ सरकार बन्नासाथ प्रदेश प्रमुखलाई हटाउने बताएको थियो।
२०७४ फागुन ३ गते केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भयो। सरकार गठन भएलगत्तै प्रदेश प्रमुख हटाउने धेरैको अनुमान थियो। तर सरकारलाई तत्काल प्रदेश प्रमुख हटाउन संवैधानिक व्यवस्थाले रोक्यो। संविधानअनुसार प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले सपथ खुवाउँछन्। तत्काल प्रदेश प्रमुख हटाए प्रदेश सभा गठनमा व्यवधान हुने समस्या एकातिर थियो भने तिनै प्रदेश सभा सदस्यले समेत भोट हालेर गठन हुने राष्ट्रिय सभा निर्वाचन हुन नसक्ने अवस्था अर्कातिर थियो।








प्रतिक्रिया