धादिङ, २ भदौ: पछिल्लो समय एक लाख अनुदान पाउने सूचीमा नाम निस्केका धेरै भूकम्पप्रभावितले तीन लाख अनुदानका लागि नाम सिफारिस गरिरहेका छन् ।
तर धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ३ कि रुद्र कुमारी रिजालले भने पूर्ण क्षतिको अनुदान फिर्ता गरेर पुरानो घर रेट्रोफिट गरिन ।
रेट्रोफिट गरिएको घर एक कार्यक्रमका बीच शनिबार हस्तान्तरण गर्दा रुद्र कुमारीको अनुहारमा छुट्टै चमक देखिन्थ्यो । ‘मेरो नाम तीन लाख अनुदान पाउने सूचीमा थियो, मैले नयाँ घर बनाउनका लागि भनेर पहिलो किस्ताको रकम पनि सम्झौता गरे । तर घरको आर्थिक अवस्था ज्यादै कमजोर थियो, नयाँघर बनाउन त के पुरानो घरको ढुंगामाटो समेत पन्छाउन सकिरहेको थिइन्, उनले भनिन् ।’

हुन त २०३२ सालमा बनेको रुद्र कुमारीको घर भूकम्पले भत्काएको थिएन, चर्काएको मात्रै । बस्न सक्ने अवस्था चाँहि थिएन् । ‘घर जगैसँग भत्किएको त होइन, डरै लाग्ने गरि चर्किएको थियो, नयाँ बनाउने तयारी गरिरहँदा श्रीमानको मृत्यु भयो, त्यसपछि त मैले कहाँबाट कसरी नयाँ घर बनाउन सक्नु ?, रुद्र कुमारीले भनिन् ‘अनुदान लिएर घर नबनाए सरकारलाई पैसा फिर्ता गर्नुपर्छ भन्ने हल्ला गाउँ भरिचल्यो, एक मनले सोचे पैसा फिर्ता गर्छु, किन भने मसँग नयाँ घर बनाउन सक्ने कुनै आट्नै थिएन् ।

रुद्र कुमारीको बुइगल सहितको दुई तल्ले पुरानो घर अहिले नयाँ जस्तै भूकम्प थेक्ने बनेको छ । झन उसै त पुरानो घर, भूकम्पले हल्लाएको, त्यसमाथि इन्जिनियर र डकर्मी आएर गाह्रो प्वाल पार्दा अब घर नहने नै भयो भन्ने सोचेको थिए, काम गर्दै जाँदा आजभन्दा भोली, भोलीभन्दा पर्सी घर त झन्, झन राम्रो, झन राम्रो हुदैँ आयो । ६१ बर्षीय रुद्र कुमारीले भनिन् ‘भूकम्पपछिको ४ वर्ष अस्थायी घरमै दसैँ, तिहार जस्ता ठूलो चाडपर्व मनाए, यो पालि चाँहि रेट्रोफिट गरिएकै घरमा चाडपर्व मान्न पाउने भएको छु ।’
घर हस्तान्तरण कार्यक्रममा पुगेका वडाध्यक्ष होमनाथ रिजालले सिँगो नगरपालिका भित्रमै नमूना घर बनाएको भन्दै रुद्र कुमारीलाई धन्यवाद दिए । ‘अहिले पनि वडा कार्यालयमा एकको सूचीमा नाम परेको लाभग्राहि तीन लाखमा जान पाउँभन्दै निवेदन बोकेर आइरहेका छन्, तर तपाइले पूर्णक्षतिको लाभग्राहिबाट प्रवलीकरणमा जाने निर्णय गर्नुभयो, वडाको बैठकले तपाईको निर्णय अनुमोदन गर्दै, प्रवलीकरणका लागि आवश्यक प्रक्रिया अघि बढाउन मद्दत गर्यो, वडाध्यक्ष रिजालले भने ।
वडाध्यक्ष रिजालले सुरुमा आफै पनि विश्वस्त नभएको बताए । ढुंगा माटोको पुरानो घर कसरी बलियो हुनै सक्दैन भन्ठान्थे, खर्च पनि धेरै लाग्छ होला भन्ने सोचेको थिए । तर त्यस्तो होइन रहेछ । अहिले त घर नगरपालिकाकै नमूना बन्यो ।

जिल्ला आयोजना कार्यान्वयन ईकाइ (भवन) धादिङका प्रमूख कोषराज अधिकारीले नयाँ घर निर्माणको काम लभगभ सकिएकाले अव पुरनो घरलाई बलियो प्रविधिका बारे लाभग्राहिसम्म पुर्याउन काममा लाग्न एनआरएका इन्जिनियरहरुलाई आग्रह गरे । ‘पुरानो घरको मौलिकपन कायम राख्न पनि रेट्रोफिट आवश्यक छ, सुरुमा हामीले बुझाउन सकेनौँ । अब ढिला गर्नु हुदैँन्, उनले भने ।

रुद्र कुमारीका छिमेकी मित्रप्रसाद रिजालले पुरानो घरलाई जोगाई राखेको भन्दै खुशी ब्यक्त गरे । मेरो चाँहि घर जगैसँग लडायो । तर नलडेका घरलाई नयाँ घर जत्तिको बलियो बनाउन सकिने रहेछ । अहिले यो सिँगो गाउँमा नै बाउबाजेले बनाएको पुरानो घर यहि एउटा त जोगियो, मित्रप्रसादले भने । भावी सन्ततीलाई पुर्खाहरु कस्तो घरमा बस्थे भनेर देखाउन पनि नलडेका घरलाई प्रवलीरकण गर्न आवश्यक रहेछ ।’
रुद्र कुमारी रिजालको जस्तै घर UK Aid काे आर्थिक सहयोगमा UNOPS, Build Change र BBC Media Action को संयुक्त साझेदारीमा भूकम्प प्रभावित ३२ जिल्लामा घर प्रवलीकरणको काम भइरहेको छ ।








प्रतिक्रिया