काठमाडौँ, २५ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली अन्तरर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आजसाँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङ्लगायतले बिदाइ गर्नुभएको थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।
भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद बिन्दा पाण्डेलगायत हुनुहुन्छ ।
प्रधानमन्त्री ओली यही २७ गते आइएलओको शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सिलसिलामा दुई दिन जेनेभामा रहनुहुनेछ । भ्रमणकै क्रममा प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेनेभा बैठकमा विश्वका करीब ४५ देशका सरकार तथा राष्ट्रप्रमुखको सहभागिता रहने बताइएको छ ।
त्यहाँ रहँदा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति फुट ओक्टे, नर्वेका प्रधानमन्त्री इर्ना सोल्बेर्गलगायत विभिन्न देशका उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ । सो क्रममा प्रधानमन्त्री ओलीले युरोपेली देशका अन्य दुई मुलुकको पनि औपचारिक भ्रमण गर्नुहुनेछ । उहाँले जेठ ३२ गतेसम्म स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने विश्वास लिइएको छ । प्रधानमन्त्रीको भ्रमण आपसी सम्बन्ध अझै विकसित गर्न तथा नेपालले हासिल गरेका उपलब्धिमा ती राष्ट्रबाट सहयोगका नयाँ क्षेत्र, लगानी तथा व्यापार प्रवद्र्धन गर्नमा नेपालले आफ्नो प्रयासलाई अघि बढाउन केन्द्रित हुनेछ । प्रधानमन्त्री ओली आगामी असार १ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । रासस
प्रतिक्रिया