२०८३, २४ भाद्र बिहीबार

आज चैते दसैँ तथा रामनवमी पर्व मनाईँदै

आज चैते दसैँ तथा रामनवमी पर्व मनाईँदै


काठमाडौं, चैत ३० : चैते दसैँ र रामनवमी पर्व शनिबार देशभर मनाईँदै छ । चैते दसैँ तथा रामनवमी पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको घुईँचो छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भिड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको घुईँचो लागेको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

यस वर्ष चैत ३० गते शनिबार चैत्र शुक्ल अष्टमी र नवमी अर्थात् चैतेदशैँ एवं रामनवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वान्ह् र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको हो ।केही राम मन्दिरमा भने वैशाख १ गते आइतबार नव वर्षका दिन रामनवमी पर्व मनाइने जनाइएको छ । शनिबार अपराह्न र आइतबार पूर्वाह्नमा नवमी तिथि रहेको समितिले जनाएको छ । अपराह्नमा तिथि परेका दिन रामनवमी मनाउनेले आज र पूर्वाह्नका दिन नवमी तिथि मनाउनेले आइतबार पर्व मनाउन लागेका हुन् ।

राजधानीको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिस्थित राममन्दिर, जनकपुरधामस्थित राममन्दिरलगायत देशभरका राम मन्दिरमा भक्तजनको भिड लागेको छ । रामनवमी पर्वका अवसरमा बिहान ५ बजेदेखि नै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन एवं पुनःनिर्माण समितिका सदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिएका छन् ।

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । यसै विश्वासका आधारमा आज लाखौँ भक्तजन व्रत बसी श्रीरामचन्द्रको पूजा आराधना गर्छन् ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । भगवान रामले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको रामायणलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७५, ३० चैत्र शनिबार  ८ : ५० बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको