काठमाण्डौ १८ चैत : होमस्टे अर्थात घरबास एसोसिएशन नेपालको पहिलो बैठक काभ्रेको पात्लेखेतमा सम्पन्न भएको छ ।
नेकपाका केन्द्रिय सदस्य तथा पूर्व एमालेका पर्यटन विभाग प्रमूख सूर्य थापको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।
बैठकअघि भएको अन्तरक्रियामा बोल्दै नेकपाका केन्द्रिय सदस्य सूर्य थापाले देश विकासको मेरुदण्ड भनेकै पर्यटन रहेको दाबी गरे । उनले सबै प्रदेशमा त्यहाँको आवश्यकता र महत्वका आधारमा पर्यटनसँग सम्बन्धित गतिविधि निरन्तरण गरिरहनुपर्नेमा जोड दिए । ‘हामीले हाम्रो देशको नदीनाला, पहाड, पर्वत देखाएर विश्वको मुद्रा आर्जन गर्न सक्छौँ, उनले भने त्यसका लागि ग्रामीण पर्यटन पूर्वाधार गतिलो बनाउनुपर्छ ।’

यसैगरी पर्यटन विभागका महानिर्देशक घिमिरेले नक्कली र गैरकानुनी रुपमा सञ्चालन भइरहेका होमस्टेलाई अनुगमन गरेर कारबाही गर्ने बताए । ‘होमस्टेका नाममा होटल सञ्चालन गर्न पाइदैँन, उनले भने होमस्टे, होमस्टे जस्तै हुनुपर्छ ।’ अन्र्तक्रियामा गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टाराईले प्रत्येक प्रदेशमा नमूना होमस्टे बनाउन कोषले अगुवाई गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश ३ का उद्योग, पर्यटन शाखाका प्रमूख राजु क्षेत्रीले प्रदेश नम्बर ३ भित्र पर्ने सबै जिल्लाहरुमा होमस्टे प्रर्वदनको गतिविधि अघि बढाएको जानकारी दिए । होमस्टे सञ्चालन गरिरहेका र गर्ने तयारीमा रहेकालाई समेटेर कार्यविधि बनाउने अन्तिम चरणमा आफुहरु पुगेको भन्दै उनले प्रदेश ३ होमस्टेहरुको ‘हव’ बन्न सक्ने बताए ।
धुलिखेल नगरपालिकाका प्रमूख अशोक ब्याञ्जुले धुलिखेललाई पर्यटकीय नगरको रुपमा स्थापित गरेर नगरबासीको आयस्रोत बृद्धिमा लाग्ने योजना कार्यान्वयनमा आइसकेको दाबी गरे । ‘हामीले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याए, आयस्रोत बढाउने हो, उनले भने ‘नगरपालिका पर्यटक भित्र्याउने कुनै पनि क्रियाकलापमा हातेमालो गर्न तयार छ ।’
सोमबार सम्पन्न भएको बैठकले होमस्टे सम्बन्धी कानुन बनाउन सबै प्रदेश सरकारलाई आग्रह गर्ने, १५ औँ पञ्चवर्षीय योजनामा होमस्टे मैत्री योजना समावेश गर्न पहल गर्ने, ११ सदस्यीय सचिवालय र प्रदेश इञ्चार्ज समेत तोकेको एशोसियसनका अध्यक्ष बडालले जानकारी दिए । निर्णय समेत गरेको छ ।








प्रतिक्रिया