२०८२, ७ फाल्गुन बिहीबार

टेलिफोन टावर माग गर्दै उपल्लो डोल्पाका जनप्रतिनिधि सिंहदरबारमा, आगामी जेष्ठसम्म माग पूरा हुन्छ : सञ्चारमन्त्री

टेलिफोन टावर माग गर्दै उपल्लो डोल्पाका जनप्रतिनिधि सिंहदरबारमा, आगामी जेष्ठसम्म माग पूरा हुन्छ : सञ्चारमन्त्री


डोल्पा, २५ पुस: टेलिफोन टावर स्थापना गर्ने माग लिएर दुर्गम हिमाली जिल्ला डोल्पाका जनप्रतिनिधि सिंहदरबार आइपुगेका छन् । उपल्लो डोल्पामा बस्ती रहेदेखि गाँउघरमै टेलिफोनको सुविधा उपभोग गर्न नपाएका जनताको माग लिएर आफूहरु काठमाडाँै पुगेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी टुण्डुप गुरुङले जानकारी दिनुभयो ।

सदरमुकाम दुनैदेखि उत्तरी क्षेत्रमा पर्ने डोल्पो बुद्ध, शे–फोक्सुण्डो, छार्काताङसोङ गाउँपालिका जनप्रतिनिधि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री धनबहादुर बुढालाई सँगै लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेको अध्यक्ष गुरुङले बताउनुभयो । टेलिफोन असुविधा भोग्दै आएका डोल्पाका जनताका लागि टावर माग्न गाउँपालिकाका अध्यक्ष, वडा सदस्यसहित डोल्पाबाट काठमाडाँै पुगेर सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोलाई भेटेका हुन् ।

मन्त्रालयमा मन्त्री बाँस्कोटलाई अध्यक्ष गुरुङले आफ्नो क्षेत्रका जनताका समस्या सुनाउँदै भन्नुभयो, “सदरमुकाम दुनैबाट उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पातिर लाग्यो भने बीच बाटोमा कतै पनि टेलिफोनको सुविधा छैन, हिँड्दाहिँड्दै बाटोमै बिरामी प¥यो भने सम्पर्क गर्न सकिँदैन ।” “घरमा बिरामी परेका मान्छेलाई लाखौँ पैसा तिरेर हेलिकप्टरमार्फत उद्धार गरेर औषधि उपचारका लागि जिल्ला बाहिरका ठूला अस्पतालमा लैजान खोज्दा पनि सम्पर्क गर्न सकिँदैन, टेलिफोन टावर नहुँदा उपचार गर्छु भन्दा पनि उपचार नपाएर थुपै्र नागरिकको ज्यान गइरहेको छ”, उहाँले उपल्लो डोल्पाको यथार्थ बताउनुभयो ।

अध्यक्ष गुरुङका अनुसार टेलिफोन गर्नकै लागि भनेर उपल्लो डोल्पाका कतिपय गाउँका स्थानीयवासी चार–पाँच दिन पैदल हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । यस्ता समस्याबाट छुटकारा पाइने आशामा आफूसहित सिंहदरबार आएको उहाँले राससलाई बताउनुभयो । मन्त्री बाँस्कोटालाई भेटेर बाहिर निस्केपछि अध्यक्ष गुरुङले भन्नुभयो, “सिंहरदरबारको अधिकार अब गाउँगाउँमा पुग्छ कि भन्ने केही आशा लागेको छ ।” मोबाइल टावर माग गर्नकै उपल्लो डोल्पाबाट उहाँसहित जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढालगायत १६ जनाको टोली काठमाडाँै आइपुगेको हो । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण उपल्लो डोल्पामा टावरको समस्याले त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत ठूलो सास्ती हुने गरेको छ ।

“पदयात्रा, अवलोकन, भ्रमणका लागि सदरमुकाम दुनैबाट उपल्लो डोल्पा छिरेपछि पुनःसदरमुकाम नर्फकुञ्जेल घरपरिवारसँग सम्पर्क हुँदैन, यही कारणले पनि पर्यटक आगमनमा सोचेजतिको उपलब्धि हासिल गर्न सकिएको छैन्”, शे–फोक्सुण्डो–४ का वडाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले भन्नुभयो । उपल्लो डोल्पा र तल्लो डोल्पाका छ वटा स्थानीय तहका १२ वटा स्थानमा मोबाइल टावर राखिदिन आफूहरुले माग गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री धनबहादुर बुढाले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार डोल्पो बुद्ध गाउँपालिका वडा नं ६ सिमेनको पञ्जाक लेक, सोही गाउँपालिका–२ कलाङ लेक, शे–फोक्सुण्डो गाउँपालिका वडा नं १ साल्दाङका ज्याङग्याल लेक, सोही गाउँपालिका वडा नं ५ तालाका लेक, वडा नं ७ मा पर्ने किनुक लेक र सोही गाउँपालिकामै पर्ने पुग्मो लेकमा टेलिफोन टावर निर्माणको माग गरिएको छ ।

त्यसैगरी छार्काताङसोङ गाउँपालिका– १ मा पर्ने छार्काको तारच्याक लेक, सोही गाउँपालिकामा पर्ने दाड गाउँमा पर्ने पडका लेक, डोल्पो बुद्ध गाउँपालिमा ४, ५ र ६ मा पर्ने पाङरो लेक, काइके गाउँपालिका–१ मा पर्ने तचनपल्टी लेकमा र ठूलीभेरी नगरपालिकाको रहमा टेलिफोन टावरको माग गरिएको छ भने मुड्केचुला गाउँपालिका वडा नं ४ अदलेकमा राखिएको टावरको क्षमता अभिवृद्धिका लागि सञ्चारमन्त्रीसँग माग गरिएको छ ।

तत्कालका लागि मुख्य विषय मोबाइल टावर राख्न माग गरे पनि आफूहरुले डोल्पामा सडक, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकास निर्माणका लागि पनि केन्द्र सरकारसँग सहयोगको अपिल गरेको राज्यमन्त्री बुढाले बताउनुभयो । उपल्लो डोल्पाका नागरिक सञ्चार असुविधाको सवालमा पीडित हुँदै आएकाले राज्यमन्त्रीसहितको उपस्थितिमा राखिएको मागलाई विशेष सम्वोधन गर्ने र आगामी ज्येष्ठ महीनासम्ममा टावर निर्माण गरी सञ्चालनमा ल्याउने सङ्घीय सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रतिबद्धता व्यक्त गर्नुभएको राज्यमन्त्री बुढाले जानकारी दिनुभयो ।

टेलिफोन टावर माग गर्न उपल्लो डोल्पाबाट काठमाडाँै पुगेका जनप्रतिनिधिसँग कुरा गर्दै मन्त्री बाँस्कोटाले डोल्पाका सबै स्थानीय तहमा मन्त्रालयले निःशुल्क मोबाइल एप्स बनाइ दिने, उपल्लो डोल्पाका गाउँपालिकामा ल्याप्टप, फोटोकपी मेशिनलगायतका उपकरण प्रदान गर्ने आश्वासन दिनुभयो । त्यस्तै दुर्गम जिल्ला डोल्पाका विद्यार्थीलाई विज्ञान प्रविधिमा अग्रसर गराउन छ वटा माध्यामिक विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । तालुक मन्त्रालयका मन्त्रीबाटै आगामी ज्येष्ठसम्ममा मोबाइल टावर निर्माण हुने प्रतिबद्धता पाइएकाले आफूहरु खुशी भएको काइके गाउँपालिका स्थानीय ओम मगरले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ६ : ५२ बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि