२०८२, २९ मंसिर सोमबार

कर्मचारी देश र समाजप्रति इमान्दार हुनुपर्ने : मन्त्री पण्डित

कर्मचारी देश र समाजप्रति इमान्दार हुनुपर्ने : मन्त्री पण्डित


काठमाडौँ, २१ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी जस्तोसुकै कठिन परिस्थितिमा पनि देश र समाजप्रति इमान्दार रहनुपर्ने बताउनुभएको छ । ‘एकाउन्टबिलिटी ल्याब नेपाल’द्वारा आज यहाँ आयोजित ‘इन्टेग्रिटी आइडल नेपाल–२०१८’ प्रदान कार्यक्रममा उहाँले कर्मचारीले देशप्रति इमान्दार तथा समाजप्रति जिम्मेवार र उत्तरदायित्वलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो ।

उहाँले देश निर्माणमा कर्मचारीको ठूलो भूमिका रहने भएकाले आफ्नो सेवाप्रति पनि लगनशील हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री पण्डितले कर्मचारीले इन्टेग्रिटी आइडल पाउनुले निराशाभित्र पनि आशाका किरण रहेको भन्दै कर्मचारीमा देशलाई बिर्सेर व्यक्तिगत चाहना पूरा गर्ने प्रवृत्ति रहेको बताउनुभयो । “कर्मचारी जनताको कामभन्दा आफ्ना निजी कामका बढी तल्लीन हुने गरेर देश बिर्सने प्रवृत्ति रहेको छ”, उहाँले भन्नुभयो, “त्यस्तो प्रवृत्ति त्यागी देशप्रति कर्तव्यनिष्ट र इमान्दार कर्मचारी हुनु आवश्यक छ ।” उहाँले आइडल भएका कर्मचारीलाई सरकारले पनि चाँडै सम्मान गर्ने बताउनुभयो ।

ल्याब नेपालले आज सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने पाँच उत्कृष्ट कर्मचारीलाई आज आइडल प्रदान गरेको हो । सेवाग्राहीको कामप्रतिको मूल्याङ्कनका आधारमा तरकारी बाली विकास केन्द्र खुमलटार ललितपुरका वरिष्ठ बागवानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य, युवा तथा खेलकूद मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौड्याल, बर्दियाका प्रजिअ रामबहादुर कुरुङवाङ र वीरेन्द्रनगर नगरपालिकाका नगर स्वास्थ्य कार्यालयमा कार्यरत अनमी सीताकुमारी शर्मालाई मन्त्री पण्डितले ‘आइडल’ प्रदान गर्नुभएको हो ।

कार्यक्रममा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले कर्मचारीमा नैतिकता खस्केको भन्दै जनताले कर्मचारीलाई लगाएको आरोपबारे कर्मचारीले सोच्नुपर्ने बताउनुभयो । खराब व्यक्तिले संस्थालाई विकृति गराउने उल्लेख गर्दै उहाँले कर्मचारीमा इमान्दारिताको खाँचो रहेको बताउनुभयो । आइडल छनोट समितिका सदस्य प्रशासनविद् काशीराज दाहालले पाँचजना कर्मचारीभन्दा पनि बाहिर धेरै इमान्दार कर्मचारी रहेकाले अर्को पटक त्यस्ता कर्मचारीलाई आइडल छनोट प्रक्रियामा सहभागी गराइने बताउनुभयो ।

पाँच उत्कृष्ट कर्मचारीमध्ये एसएमएस र अनलाइन मतका आधारमा बर्दियाका जिल्लाका प्रमुख जिल्ला अधिकारी कुरुङवाङले सबैभन्दा बढी मत ल्याई सर्वोकृष्ट हुनुभएको थियो । कुरुङवाङले जनताप्रति उत्तरदायी भएर काम गर्ने हो भने सार्वजनिक प्रशासन क्षेत्रमा सुधार आउने बताउनुभयो । आइडल हुनुभएका युवा तथा खेलकूद मन्त्रालयका उपसचिव पौड्यालले लगनशील, जनताको सेवाप्रति इमान्दार भएर काम गरे कर्मचारी प्रशासनमा सुधार आउने बताउनुभयो । अर्का आइडल टीकापुरका प्रमुख प्रशासकीय अधिकृत आचार्यले आइडलले आफूलाई झन जनताका सेवाप्रति जवाफदेही बनाएको बताउनुभयो ।

गत वर्ष पुसमा संस्थाले कर्मचारीलाई आवेदन दिन माग गरेकामा ७२ जिल्लाका एक हजार ६२ कर्मचारीले आवेदन दिएका थिए । छनोट समितिले ३० जना, १० हुँदै अन्तिममा पाँच जना कर्मचारी छनोट गरेको थियो । आवेदन दिएकामध्ये पाँच जनालाई कामप्रतिको जिम्मेवारी, उत्तरदायित्व, सेवाग्राहीसँगको व्यवहार जस्ता मापदण्डका आधारमा ती कर्मचारी रहेको ठाउँमा पुगेर अध्ययन गरेर मात्र छनोट गरिएको ल्याबका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । ल्याब नेपालले सन् २०१४ देखि इन्टेग्रिटी आइडल घोषणा गर्दै आएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ७ : ५५ बजे

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको