२०८२, १६ कार्तिक शनिबार

युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन : अर्थमन्त्री खतिवडा

युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन : अर्थमन्त्री खतिवडा


बनियानी, २४ कात्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘भेटघाट छलफल तथा व्याज अनुदान वितरण कार्यक्रम’ मा बोल्दै अर्थमन्त्री डा खतिवडाले युवालाई स्वरोजगार बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याएको समेत जानकारी दिनुभयो ।

“शैक्षिक योग्यता हासिल गरेका युवाले अब विदेशिनु पर्दैन”, उहाँले भन्नुभयो, “योग्यताका आधारमा युवालाई सहुलियत व्याज दरमा ऋण दिने व्यवस्था मिलाइएको छ ।” युवालाई व्यवसायी बनाउन सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई रु १० लाख, सीप भएका महिलालाई रु १५ लाख, दलितलाई रु १० लाखलगायतका आधा दर्जनभन्दा बढी सहुलियत व्याजदरमा ऋण दिने व्यवस्था मिलाएको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो ।

स्वरोजगार कोषबाट ऋण लिएर धेरै युवा आत्मनिर्भर भएको बताउँदै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “गरिबीको रेखामुनि रहेका नेपालीको जीवनस्तर उकास्न स्वरोजगार कोष सहायक बनेको छ ।” झापामा स्वरोजगार कोषको माध्यमबाट धेरै युवा आत्मनिर्भर भएकामा अर्थमन्त्रीले खुशी व्यक्त गर्नुभयो । स्वरोजगार कोषले उपलब्ध गराउने कर्जा रकम कम भएको सहभागीको गुनासो सुनेपछि अर्थमन्त्री खतिवडाले अनुदानको सस्तो पैसा धेरै उपलब्ध गराउन कठिनाइ हुने उल्लेख गर्नुभयो । “सरकारको आम्दानी स्रोत भनेको कर हो”, उहाँले भन्नुभयो, ‘‘धेरै अनुदान दिन धेरै कर उठाउनुपर्ने हुन्छ, कर बढी उठाउँदा सरकार आलोचित हुने अवस्था आउँछ ।”

जनताको पैसा जनतालाई नै वितरण गरिने भएकाले धेरै अनुदानको रकम दिन नसकिने उहाँले बताउनुभयो । कोषमार्पmत रु दुई लाख उपलब्ध गराउँदै आएकामा अब रकम बढाउने सोचमा सरकार रहेको समेत उहाँले उल्लेख गर्नुभयो । मुलुकमा अझै पनि धेरै नागरिक वित्तीय पहुँचमा नरहेकाले सोको अभिवृद्धि गर्ने उद्देश्यले पनि स्वरोजगार कोषको अवधारणा अघि सारिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

सहकारीलाई लगाइएको आयकरको विषयमा उहाँले ग्रामीण सहकारी करको दायरामा नरहेको स्पष्ट पार्दै नगरपालिका क्षेत्रमा रहेका सहकारीलाई पाँच प्रतिशत, उपमहानगर र महानगरपालिकालाई १० प्रतिशत कर लगाइएको उहाँले बताउनुभयो ।
कार्यक्रममा स्वरोगार कोषमार्फत ऋण लिएका ६२ जनालाई व्याज अनुदान रकम वितरण गरिएको थियो ।

झापामा तीन चरणमा दुई हजार ३०० सय जना युवाले स्वरोगार कोषमार्फत रु ३३ करोड ऋण लिएका छन् । पहिलो चरणमा कोषमार्फत रु आठ करोड ८५ लाख ऋण लिएका ८४२ जना युवालाई व्याज अनुदान रकम प्रदान गरिएको छ । कार्यक्रममा युवा स्वरोजगार कोषका उपाध्यक्ष प्रेम दङ्गाल, सांसद पवित्रा निरौला खरेल, सांसद झलकसिंह दर्लामी, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला सहकारी सङ्घ झापा अध्यक्ष गणेश ढकाल, बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ६ : ४४ बजे

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश