२०८३, २२ भाद्र मंगलबार

मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढ्यो

मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढ्यो


काठमाडौँ, १३ कात्तिक: मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढेको छ । केन्द्रीय बैंकले चालू आवको दुई महीनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आयात ३८.५ प्रतिशतले बढेर रु दुई खर्ब ३२ अर्ब ३५ करोड पुगेको र निर्यात रु १४ अर्ब ७० करोडमा सीमित भएको उल्लेख गरिएको छ ।

चालू आव २०७५÷७६ को दुई महीनामा कूल वस्तु निर्यात आठ प्रतिशतले वृद्धि भई रु १४ अर्ब ७० करोड पुगेको तथा अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.२ प्रतिशतले वृद्धि भएको जनाइएको छ । गन्तव्यका आधारमा भारततर्फ १३.६, चीनतर्फ ११.४ र अन्य मुलुकतर्फ १.० प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, दन्तमञ्जन, लत्ताकपडा, जुसलगायत वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैँची, पश्मिनालगायत वस्तुको निर्यात घटेको छ ।

गत साउन र भदौमा वस्तु आयात ३८.५ प्रतिशतले बढेर रु दुई खर्ब ३२ अर्ब ३५ करोड पुगेको जनाउँदै नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.६ प्रतिशतले बढेको जनाएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३८.९, चीनबाट १३.२ र अन्य मुलुकबाट भएको आयात ५५.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, एम.एस. बिलेट, सवारीसाधन तथा पार्टपुर्जा, अन्य उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, स्वास्थ सम्बन्धी उपकरण तथा औजार, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

कूल वस्तु व्यापार घाटा ४१.२ प्रतिशतले विस्तार भई रु दुई खर्ब १७ अर्ब ६५ करोड पुगेको छ भने समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.३ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.१ प्रतिशत रहेको थियो । विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ५४ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो ।

वस्तु आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई रु ३५ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु १९ अर्ब ७४ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महीना १९ करोड २६ लाख डलर रहेको चालू खाता घाटा समीक्षा अवधिमा ३२ करोड एक लाख डलर पुगेको छ । त्यसैगरी शोधनान्तर घाटा रु २५ अर्ब ४५ करोड छ । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा रु पाँच अर्ब ८७ करोड थियो । अमेरिकी डलरमा शोधनान्तर घाटा अघिल्लो वर्षको दुई महीनामा पाँच करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड नौ लाख डलर रहेको छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ११ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर