२०८२, १४ श्रावण बुधबार

धरहरा निर्माणको शिलान्यास तिहारअघि

धरहरा निर्माणको शिलान्यास तिहारअघि


काठमाडौँ, १३ कात्तिक: भूकम्पले भत्किएको धरहरा यथावत् छाडेर नयाँ निर्माणका लागि तिहारअघि नै शिलान्यास हुने भएको छ । भत्किएको ‘भीमसेनस्तम्भ’ पुरानै अवस्थामा राखी सुन्धारा क्षेत्रमा अर्को बनाउन जमीन सम्याउने काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । शिलान्यास गर्न सबै तयारी पूरा गरी प्रधानमन्त्रीको समय माग गरिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राससलाई जानकारी दिनुभयो ।

सुन्धारा क्षेत्रको जमीनमुनिबाट नेपाल टेलिकमले टेलिफोनको तार र माथिबाट नेपाल विद्युत् प्राधिकरणले बत्तीको तार लगेकाले काममा समस्या भएको छ । जमीन सम्याउन खन्दा हाल २०० टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिकमको २४ हजार लाइनको तार सुन्धारा क्षेत्रको जमीनमुनिबाट बिच्छ्याइएको छ । टेलिकम र विद्युत् प्राधिकरणलाई तार व्यवस्थापनको अनुरोध गरिसकिएको उहाँले बताउनुभयो । धरहरा बनाउन प्रयोग हुने निर्माण सामग्री टुँडिखेलमा राखिएको छ । गोश्वारा हुलाकसँगैको पसलका टहरा हटाए पनि पाल राखेर फेरि व्यापारीले पसल चलाउन थालेका छन् । यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

गत भदौ १७ गते नवौँ पटकमा धरहरा निर्माणको आर्थिक प्रस्ताव खुला भएको थियो । प्रस्तावानुसार निर्माण कम्पनी जिआइइटीसी÷रमन जेभी छानिएको थियो । कम्पनीले रु तीन अर्ब ४५ करोडमा धरहरा निर्माण गर्नेछ । प्राधिकरणको लागत अनुमान रु चार अर्ब ३८ करोड थियो । धरहरा पुनःनिर्माणका लागि छ निर्माण व्यवसायीले प्राविधिकसहित आर्थिक प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायीका मात्र स्वीकृत भएको थियो । तत्कालीन मुख्तियार(हाल प्रधानमन्त्रीसरह) भीमसेन थापाले आफ्नी पत्नी ललितत्रिपुरासुन्दरी(मृत्यु विसं १८८८)का सम्झनामा विसं १८८८ पछि बनाएको भीमसेनस्तम्भ तीन वर्षअघिको भूकम्पसहित चार पटक ढलिसकेको छ ।

धरहरा पटक पटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको नयाँ बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो । विसं १८८८अघि नै बागदरबार(हाल हरिभवन भनिने)मा निजी रुपमा थापाले धरहरा बनाएको इतिहासकार प्रा दिनेशराज पन्तले बताउनुभयो । उहाँका अनुसार विसं १८९० को भूकम्पमा दुवै धरहरा भत्केकामा बागदरबारभित्रको धरहरा नबनेको तर भीमसेनस्तम्भ भने पुनःनिर्माण गरिएको थियो । प्रधानमन्त्री श्री ३ जुद्धशम्शेरले विसं १९९० मा एघारतलेबाट नौतलेमा त्यसलाई झारेको बताइन्छ ।

नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजूरसहित ७२ मिटर अग्लो बन्नेछ । भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । यसअघि टेलिकमलाई धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफैँ नबनाए पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

‘मेरो धरहरा मै बनाउँछु’ अभियानअन्तर्गत धरहरा पुनःनिर्माण कोषमा रु २४ करोड जम्मा भइसकेको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । पुरातत्व विभाग र टेलिकम दुवैले बनाउन नसक्ने भएपछि प्राधिकरण आफैँले बनाउने निर्णय गरेको सहसचिव मानन्धरले बताउनुभयो । धरहराले गोश्वारा हुलाक कार्यालयसमेतको जग्गा खाली गर्ने भएको छ । हुलाक कार्यालयलाई भवन खाली गर्न पत्राचार गरिसकिएको प्राधिकरणले जनाएको छ ।

कुल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ स्थल निर्माण गरिनेछ । धरहरा बनाउन शुरु गरिहाल्ने र हुलाकलाई हटाउने काम जारी राखिने प्राधिकरणले जनाएको छ । धरहरा निर्माणसँगै सुन्धारामा पानी आउने व्यवस्था मिलाइने भएको छ । धारामा कसरी पानी खसाल्ने भनी अध्ययन भइरहेको सहसचिव मानन्धरले सुनाउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ५ : ४६ बजे

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारलाई प्रोत्साहन

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर क्षेत्रमा सुनामीको खतरा

काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्र कमचटका प्रायद्वीपमा आज बिहान

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त, गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आन्तरिक राजनीतिक संकटको

बागमतीमा एमाले संसदीय दलको बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने

हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार नेकपा एमाले बागमती

सफलता प्राप्तिका लागि पाथिभरामाताको दर्शन गर्नुहोस्: विश्वास, श्रद्धा र प्रेरणाको स्रोत

काठमाडौं । नेपालका शक्तिपीठहरूमध्ये अत्यन्तै श्रद्धा र आस्थाको केन्द्र बनेको