७ भदौ, काठमाडौ । काठमाडौंको पशुपति वृद्ध आश्रममा आश्रय लिंदै आएका वृद्धवृद्धाहरुका केही गुनासा भए पनि समग्रमा उनीहरु आश्रमले दिएको सुविधाप्रति खुसी नै देखिएका छन् । आश्रममा आश्रित रहेकाहरु अधिकांशले १९९० सालमा गएको महाभुकम्पलाई नजिकबाट अनुभव गरेकाहरु नै छन् । वृद्धाश्रममा बस्ने पूर्णकुमारी थापा त्यस्तै वृद्धामध्येकी एक हुन् । विसं १९९० को भूकम्पमा परिवारका सबैलाई उनले गुमाएकी थिइन् । उनलाई बाल्यकालमा हेटौंँडाको एक परिवारले हुर्काएको थियो ।
काठमाडौको पुरानो बानेश्वरमा जन्मिएकी उनको बाल्यकाल र युवावस्था टुहुरी भएकीले दुःखमै वित्यो । दश वर्षको उमेरमा आफूलाई हुर्काउने परिवार हेटौंँडा फर्किएपछि उनले अरुका घरमा काम गरेर जीविका चलाउन थालिन् । कहिले नेपाली त कहिले भारतीयको घरको घरायसी काम गरेर दैनिकी चल्थ्यो, उनको । उमेरमा उनले ३ जनाको घरमा हरेक दिन काम गर्दथिन् । घरमा काम गरेका घर मालिकहरुले उनलाई आफ्नै घरमा लिएर जान मन गर्थे तर उनले काठमाडौमै मर्ने चाहनाले उनीहरु कसैको आग्रहलाई पनि स्वीकार गरिनन् । उनी भन्छिन्, “आफैंँलाई हुर्काउनेको घरमा त गइनँ, अन्त त कहाँ जानू र ?”
कुनै समय उहाँ आफ्नो ठूलो बुबाकोमा साथीहरुको सल्लाह बमोजिम अधिकार खोज्दै गएकी थिइन् । तर उनको ठूलोबुबाले उनलाई हप्कीदप्की गरेर पठाइदिए । भुकम्पमा सबै अभिभावक गुमाएकी पूर्णकुमारीलाई विरक्तिनुको अर्को विकल्प थिएन । भएकामध्ये नजिकका आफन्तले नै बचन लगाएर हप्की र दप्की गरेपछि उनको मन झनै विरक्तियो । उनी भन्छिन्, “पहिलेको जिन्दगी सम्झँदा निकै कहाली लागेर आउँछ, आश्रममा आएपछि भने नयाँ जिन्दगी पाएकी छु,”, “पहिले कहाँ बस्ने के गर्ने भन्ने अन्यौल थियो । म वेसहारा थिएँ । अहिले त्यस्तो स्थिति छैन । साहरा पाएकी छु ।” उनका अनुसार आश्रममा आइसकेपछि थापामा नसोचेको परिवर्तन आएको छ । विगत १५ वर्षदेखि पशुपतिको वृद्धाश्रममा बस्दै आएकी उनको दौतरी हुन आएकी छिन् सिन्धुपाल्चोककी सीता अधिकारी । सीता आश्रममा बस्न थालेपछि आफूलाई निकै राहत मिलेको उनको अनुभव छ । विसं २००१ मा जन्मिएकी सीताको छ वर्षका उमेरमै विवाह भएको थियो । उनी भन्छिन्, “आफू न रुपमा राम्रो, न जरङमरङ गरेर काम गर्न सक्ने हट्ठाकट्ठा । नसक्ने कमजोर मान्छेलाई घरले माया दिने कुरै भएन । त्यसैले काम गर्न नसक्ने भएपछि विवाह गरेको तीन वर्षमा नै घर त्यगिदिएँ ।” घर त्यागेपछि माइतीको सहारा पाइन्छ भन्ने आशा त थियो । त्यो पनि पाइएन । यसरी वेसहारा भएपछि काठमाडौंमा सानोतिनो काम गर्दै गुजारा चलाउँदै आएकी थिएँ । काठमाडौँ आइसकेपछि धेरै वर्ष थापाले जस्तै उनले पनि अरुका घरमा नै काम गरेकी थिइन् । काम गर्न नसक्ने भएपछि घरबेटीकै सल्लाहबाट १९ वर्षअघिदेखि वृद्धाश्रमको साहारामा उनी आइपुगेकी थिइन् ।
“यहाँको सेवासुविधा त नराम्रो होइन, बूढाबूढीकै व्यवहारका कारण हामी पनि नराम्रोमा पर्ने गरेका छौं ।’’ वृद्धाआश्रमको लामो बसाईको अनुभव उनले सुनाईन् । विगतमा आश्रममा बस्ने केही वृद्धाले आफूलाई खान दिएको बिस्कुट पनि बाहिर लगेर बेच्ने गरे । त्यसलाई वृद्धआश्रम प्रशासनले राम्रो मानेन । त्यसो त वृद्धाश्रममा घरपरिवार कोही नभएका मात्र नभई आफूलाई परिवारमा राम्रै भएका पनि काम गर्न नसक्ने भएका वृद्धवृद्धाले पनि आश्रय लिएका छन् । आश्रममा बस्दै आएका अर्का १०४ वर्षीय अम्रीराज नन्दस्वामी निकै तन्दुरुस्त देखिन्छन् । काठमाडौं बाँसबारी घर भई चार वर्षअघि उनी वृद्धाश्रम आएका हुन् । उनको अनुभवमा पनि वृद्धाश्रमको सेवासुविधा राम्रो छ, उनी खाना खान जान नसक्ने अवस्थाका छन् । आफू बस्ने गरेको ठाउँसम्म नै खाना ल्याइदिने गरेका छन्, खसी हुदै उनले भने नसक्नेलाई यहाँभन्दा के सुविधा दिनु । विसं १९७२ पुसमा जन्मिएका उनले ३० वर्षको उमेरमा नौ वर्षकी केटीलाई विवाह गरेको थिए । अहिले पनि उनका दुई छोरा छन् । घरव्यवहारले झेल्ने र त्यसको झिंझर्को लाग्ने भएकाले परिवारमा बस्न मन उनलाई लागेन । त्यसैले वृद्धाश्रम आइपुगें । बेलाबेलामा घरबाट लिन पनि आउँछन्, उनीहरुले हेलाँ गरेका हैनन् । मन लागे गएर बस्ने पनि गरेको छु, उनले भने, ‘म आफैंलाई नै देवतीर्थ घुम्न मन लागेर हो ।” छोराहरुबाट राम्रै व्यवहार भएको छ । समय समयमा परिवारले भेट्न आउँछ । मन लागेको खानेकुरा खान दिन्छन् । परिवारसँग त्यस्तो गुनासो केही छैन उनलाई
पहिले आश्रममा बाहिरबाट आउने व्यक्तिले सीधै आफूले ल्याएका खानेकुरा तथा रकम वृद्धवृद्धालाई दिने गर्थे तर तिनले बाहिर लगेर बिक्री गर्ने र रक्सी खाने, कुलतमा लाग्ने गरेपछि यसले विकराल समस्या निम्त्यायो । त्यसपछि भने व्यवस्थापन समितिले त्यसलाई एक वर्षअघि मात्र रोकेको हो । यही कारण कतिपय वृद्ध भने यसबाट सन्तुष्ट देखिंदैनन् । आश्रममा बस्दै आभएका रामेछापका यमबहादुर कार्की त्यसकै एउटा उदाहरण हुन् । डेढ वर्षदेखि अपाङ्गता भएका उनी बाहिरबाट ल्याएको खानेकुरा समेत प्रशासनले खटाएर दिने गरेको बताउछन् । “पोहोर पोहोर त हामीले बाहिरबाट ल्याएको खानेकुरा सीधै पाउँथ्यौँ । अलिअलि पैसा पनि देख्न पाइन्थ्यो । अहिले त ल्याएको खानेकुरा पनि उतै राख्छन्” असन्तुष्ट भावका साथ उनले आक्रोश व्यक्त गरे । आश्रममा ल्याइएको खानेकुरा तथा लत्ताकपडा रातारात कर्मचारीले बाहिर पठाउने गरेको उनको आरोप छ । यस वर्षको जाडोमा आफूले एक जोर मोजाबाहेक अरु केही पनि देख्न नपाएको कार्कीले गुनासो गरेका छन् ।
आश्रमको क्षमता २ सय ३० भए पनि हाल भूकम्पका कारण एउटा भवन भत्किएपछि १ सय ७० मात्र वृद्धवृद्धाले आश्रय लिएका छन् । बाहिरबाट ल्याइएका खानेकुरा सहयोगदाताले सीधै दिने भएपछि विविध समस्याका कारण व्यवस्थापनले रोकेको पशुपति समाजकल्याण समिति, आश्रमका प्रशासन प्रमुख कृष्णराज कँडेलले जनाए । “बाहिरबाट ल्याइने खानेकुरा तथा रकम हामीले नै लिएर वृद्धवृद्धालाई बाँड्ने गर्छाै । बाँकी अन्य आश्रममा पठाइदिन्छौं”, कँडेलले भने ।
प्रतिक्रिया