२०८१, १ मंसिर शनिबार

काभ्रे जिल्ला तरकारी उत्पादनमा अब्बल, राजधानीमा ३४ प्रतिशत भन्दा बढी काभ्रेको तरकारी तर महँगो मूल्य तिर्न बाध्य उपभोक्ता

काभ्रे जिल्ला तरकारी उत्पादनमा अब्बल, राजधानीमा ३४ प्रतिशत भन्दा बढी काभ्रेको तरकारी तर महँगो मूल्य तिर्न बाध्य उपभोक्ता


धुलिखेल ५ भदौ : वितेको ५ वर्ष यता खेती प्रणालीमा भित्रिएको आधुनिक प्राविधिसँगै जिल्ला कृषिमा अब्बल दरिएको छ । सहरदेखि गाउँसम्म निर्वाहमूखीबाट ब्यवसायीक खेती गर्ने कृषकको संख्या ह्वात्तै बढेको छ । कृषिमा युवा आकर्षण त केहि कम छ नै । तर अहिले कृषिमा जति युवा सहभागि छन् त्यसलाई नराम्रो भन्न मिल्ने अवस्था देखिदैन् । केहि वर्षअघि सम्म बजारको तरकारी किनेर खाने धेरै कृषकहरु अहिले त्यहि बजारमा तरकारी बेच्न पुग्छन् । “पहिले पनौती बजारबाट एकमुठा धनियाँ किनेर गाउँ लगेको सम्झदैँ चासिङखर्क, च्याल्टिकी सोभा लामा भन्छिन् “कोदो मकै लाएपछि बाझैँ बस्ने बारीमा अहिले तरकारी फलाएर त्यहि पनौतीमा बेच्न ल्याउँछौं ।” सरकारले नेपालमै पहिलो पटक दुधमा आत्मनिर्भर जिल्ला घोषणा गरिसकेको छ ।

मकै, धान, गहुँ जस्ता मूख्य बालीमा जिल्ला पूर्ण आत्मनिर्भर छ । यी बालीको बीउ उत्पादनमा समेत जिल्लाले पछिल्ला वर्षहरुमा ठूलै प्रगति गरेको छ । राजधानीमा खपत हुने कुल तरकारीको ३४ प्रतिशत भन्दा बढी बजार हिस्सा काभ्रेको तरकारीले ओगटेर तरकारी उत्पादनमा देशकै केन्द्रस्थलको रुपमा समेत चिनिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार नगदेबाली मार्फत बार्षिक ५ अर्ब रुपैयाँ भित्र्ने गरेको छ । नगदेबालीबाट ५ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ जिल्लामा भित्र्ने गरेको कार्यालयले जनाएको छ ।

पाँचखाल नगरपालिकाले ‘पाँचखाल नगर, कृषि सहर’ नारा दिएर कृषि क्याम्पस सञ्चालनको तयारी समेत गरेको छ । जिल्लाको कुल तरकारी उत्पादन मध्ये पाँचखाल क्षेत्रको मात्रै २५ प्रतिशत योगदान रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । दैनिक १ करोड ९ लाखको तरकारी बिक्रीका लागि उक्त क्षेत्रबाट बजार आउने गरेको छ । प्रतिहेक्टरमा कृषकले १६।७८ मेक्ट्रीटन तरकारी फलाइरहेका छन् । जिल्लामा सबैभन्दा बढी आलुबाट २ अर्ब १० करोड भित्र्ने गरेको छ । जिल्लाको ९ हजार ७ सय १८ हेक्टर क्षेत्रफल जमिनमा आलु खेती हुने र १ लाख ८१ हजार ३३३ मेक्ट्रिटन उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । आलु उत्पादक कृषकलाई थप प्रोत्साहन दिने गरी प्रदेश नम्बर ३ को आलु सुपर जोन कार्यक्रम समेत यहि जिल्लामा लागु गरिएको छ । यो कार्यक्रमले कृषकहरुमा थप हौसला मात्रै प्रदान गर्दैन, आधुनिक औजार र खेती प्रणाली सुधार समेत गरेर उत्पादकत्व समेत बढाउँछ ।

त्यस्तै ९ हजार ६९९ हेक्टर क्षेत्रफल जमिनमा हुने ताजा तरकारी उत्पादनबाट २ अर्ब भित्र्ने गरेको छ । ताजा तरकारी १ लाख ६२ हजार ७८४ मेक्ट्रिटन उत्पादन हुन्छ । खाद्यान्नबाली बीउ, च्याउ, फलफुलका बोट विरुवा, मौरीघार गोलाबाट १ अर्ब, १ हजार ४३८ हेक्टरमा उत्पादन हुने सुन्तला बेचेबापत १८ करोड ५० लाख, अलैँचीबाट ४ करोड, तरकारी बीउबाट २ करोड ४७ लाख र कफीबाट १ करोड ४० लाख रुपैयाँ जिल्लामा भित्र्ने गरेको छ । जिल्लाबाट उत्पादित तरकारी मध्ये ९२ प्रतिशत जिल्ला बाहिर खपत हुन्छ, भने ८ प्रतिशत मात्रै जिल्लामा रहन्छ । जिल्लामा ब्यवसायीक तरकारी खेतीमा लागेका ६ सय र मौसमी खेती गर्दै आएका ३ हजार कृषक प्रत्यक्ष रोजगारीमा संलग्नछन् । लौका, गिरौला, खुर्सानी, गोलभेडा, बोडी, भिन्टी, काक्रो, सिमी, काउली, बन्दा जस्ता मौसमी तथा बेमौसमी तरकारी कृषकले बारी भरी लटरम्म फलिरहेको देखिन्छ । त्यस्तै अलैँची, किवी, एभोकार्डो लगायतका फलबाट समेत आम्दानी लिइरहेका छन् । यसरी जिल्ला भित्रिएको रकमले कृषकहरुको जीवनशैलीमा आमूल परिवर्तन गरेको छ । छोराछोरीलाई गुणस्तर शिक्षा, विवाह, ब्रतबन्ध, चाडवाड मान्न ऋण लिनुपर्ने अवस्था हटेको भिमखोरी–१ रामरिमकी इन्द्री माया पाख्रिनले बताइन् ।

बजारको पहुँच

जिल्लाको अति दुर्गम डाँडापारी क्षेत्रका १० गाविस बाहेक अन्य ठाउँमा सडक पुगेको छ । वर्खाको समयमा कोशी पूर्वका कृषकले उत्पादन गरेका तरकारी तथा दुध बजार ल्याउँन केहि समस्या भएपनि अन्य ठाउँका कृषकले खास समस्या झेल्नुपरेको छैन् । राजधानीबाट सार्वजनिक सवारीसाधन चढेको ४५ मिनेटदेखि एकघण्टाको बिचमा सदरमुकाम धुलिखेल पुगिन्छ । त्यो बीचमा साँगा देखि धुलिखेलसम्म थुप्रै कृषकको बारीमा राजधानीका उपभोक्ता स्वयम पुगेर ताजा तरकारी लिन सकिन्छ । पछिल्ला केहिवर्ष यता तरकारी ब्यापारीहरु कृषकको घरदैलोमै गाडी लिएर पुग्ने गरेका छन् । विभिन्न संघसंस्थाहरु पायक पर्ने ठाउँमा तरकारी सकलन केन्द्र समेत बनाइदिएका छन् । बजारसँग छोटो दुरी भएका कारण पनि कृषिमा बयवसायिकता अझ बढ्दै गएको बाली विकास अधिकृत जिसीको तर्क छ । विपी राजमार्ग निर्माण पूरा भएसँगै जिल्लाको पात्लेखेत, कुटुञ्जे, मंगलटार र भिमखोरी गाविसका कृषकले समेत ब्यवसायीक तरकारी खेती गर्न थालेका छन् । “बाबु, बाजेदेखि परम्परागत खेती गर्नाले नै गाउँका धेरै युवा विदेश गए, मंगलटार गाविस वडा नम्बर ८ का साधुराम राणामगरले भने “अहिले आधुनिक खेती प्रणालीले कृषकहरुको जीवन शैलीमा नसोचेको परिवर्तन गरिदिएको मात्रै छैन्, गाउँका धेरै युवाहरु समेत विदेश जानबाट थामिएका छन् ।”

लगानी बढ्दो

जिल्लामा ठूल–ठूला उद्योग नगन्य रुपमा छन् । तर कृषिमा भने लगानीे दिनप्रतिदिन बढ्दो छ । ब्यक्तिगत वा सामूहिक लगानी गर्नेको जमात बढिरहेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयमा ६ सय कृषि समूह दर्ता भएकामा ४ सयको हाराहारीमा अहिले पनि सक्रिय रहेको कार्यालयको सुचना अधिकारी समेत रहेका बाली विकास अधिकृत जिसीले बताए । त्यस्तै साना तथा घरेलु उद्योगमा दर्ता भएका मध्ये १२० सय भन्दा कृषि फार्महरु कार्यालयमा सुचिकृत भएका छन् । यीनिहरुको लगानी १० लाख देखि १ करोडसम्म रहेको छ । विदेशबाट फर्किएका धेरै युवाहरुले कृषिमा लगानी गरेका छन् । गाउँघरमा थोरै लगानी गरेर खेती गरेपनि सहर उन्मोखु क्षेत्रमा प्लाष्टिक टनेल, ग्रीनहाउस नै बनाएर खेती गर्नेको संख्यामा बृद्धि भएको छ । तराई र उच्च पहाडी हावापानी रहेको जिल्लामा अन्य जिल्लाबाट लगानी गर्न आउने क्रम पनि बढ्दो रहेको छ । लगानी बढेसँगै कृषिको क्षेत्रपनि विस्तार हुदैँ गएको छ । गाईफार्म भएका धेरै कृषकले तरकारी खेतीपनि सुरु गरेका छन् ।विषादीको चिन्ता

करिब दुईवर्षअघि कालिमाटीमा विषादी परीक्षण गर्दा काभ्रेको तरकारीमा अत्यादिक विषादी भेटियो । त्यसको केहि महिना जिल्लाबाट उत्पादन भएका तरकारी नै राजधानी खपत भएन् । धेरै कृषकले ठूलो नोक्सानी समेत ब्यहोरे । आफ्नो लागी फलाउने तरकारीमा विषादी नहाल्ने र बिक्रीका लागि उत्पादन गर्ने तरकारीमा विषादी प्रयोग गरेको आरोप पनि यस जिल्लाका कृषकले खेपे । तर त्यसपछि भने कृषकहरु धेरै सचेत भएको पाहिन्छ । कृषि विकास मन्त्रालय, विभाग र जिल्ला कृषि विकास कार्यालयले विषादी विक्रेता र कृषकहरुलाई विभिन्न चरणमा तालिम दिलाएको थियो । जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएर सञ्चालमा रहेका एग्रोभेटहरुको संख्या करिब ३ सय छ भने लुकिछिपि समेत बिना दर्ता विषादी बिक्री गर्ने गरेको पाइएको छ । जिल्लाको कतिपय ठाउँका चिया पसलमा समेत विषादी बिक्रि गर्ने गरेको भन्दै नियन्त्रण गर्नुपर्ने आवाज पनि उठेको छ । “विषादीको असर तरकारी उपभोग गर्ने उपभोक्तामा मात्रै होइन्, इन्सेक प्रतिनिधि भोजराज तिमिल्सिना भन्छन्, अनियन्त्रित विषादीले गर्दा जिल्लामा आत्महत्याको दर समेत ह्वात्तै बढाएको छ । काभ्रेको उग्रचण्डी नाला गाविसमा नेपालमै नमूना तथा वाग्मति अञ्चलकै पहिलो प्राङ्गरिक मल कारखाना सञ्चालनमा ल्याइएको छ । तर यसको प्रयोगमा भने कृषकहरुले खास चासो दिने गरेका छैनन् । जिल्लामा नेपालमै पहिलो पटक एकीकृत शत्रुजीव ब्यवस्थापन कार्यक्रम ९आइपिएम० कृषक पाठशाला समेत सञ्चालन गरिएको थियो । जिल्लामा कृषकहरुलाई प्राविधिक सेवा पु¥याउन ६ वटा मात्रै सरकारी कृषि सेवा केन्द छन् । एक सेवा केन्द्र बराबर ३ देखि ४ प्रविधिक हुन्छन् ।

सिचाँईको समस्या

सिचाँई अभावमा जिल्लाको सबै खेती योग्य जमिनमा खेती लगाउन सकिएको छैन् । सिँचाई हुने हो भने अहिलेको भन्दा दोब्बर उत्पादन हुने बताउँछन्, आलु सुपर जोन कार्यक्रमका प्रमूख दिपक पौडेल । आकाशे पानीको भरपर्नु पर्ने ठाउँमा एक बाली भन्दा अन्य खेती हुन सकेको छैन् । जिल्लाका पाँचखाल, भकुण्डे बेसी जस्ता फाटहरुमा सिँचाई अभावकै कारण अपेक्षाकृति ढंगले उत्पादन हुन नसकेको उनको भनाई छ । भएका खोला, नाला सुक्दै जानु र सिँचाईको राम्रो ब्यवस्था नहुदाँ कतिपय क्षेत्रका कृषकहरु पलायन समेत हुन थालेका छन् । कतिपले थोपा सिँचाई, प्लाष्टिक पोखरी, टिपबोरिङ, इनार खनेर पनि सिँचाई गरिरहेका छन् । हाल कुल खेती योग्य जमिनको २० देखि २५ प्रतिशत जमिन मात्रै सिँचित रहेको छ । कोशीपारी र तिमाल क्षेत्रमा खानेपानीको समेत समस्या छ । सिँचाईकै अभावमा यी क्षेत्रहरुमा एक बाली भन्दा अन्य लगाउन कृषकहरु सकिरहेका छैनन् भने सिँचाई भएको ठाउँमा जग्गा भाडामा लिएर खेती गर्न बाध्य छन् । सिँचाईको सुविधा भएका ठाउँमा जग्गाको भाउ समेत निकै बढेको छ । खेतीबाटै गुजरा चलाउँदै आएका कृषकहरु थप मारमा परेका छन् । सहरी क्षेत्रमा भने खेतीयोग्य जमिन क्रमशःघरमा परिणत भएको छ ।कामदार अभाव

कृषि क्षेत्रमा कामदारको चरम अभाव देखिएको छ । जिल्लाको मूख्य खेती आलु लगाउने यो सिजनमा कामदार अभाव हुदाँ निकै समस्या झेल्नु परेको पाँचखाल, बालुवाकी दुर्गा श्रेष्ठले बताइन् । “यसअघिका वर्षहरुमा कहिल्यै यस्तो कामदारको समस्या झेल्नुपरेको थिएन्, उनले भनिन्, “यस्तै अवस्था रह्यो भने खेतीपाती लगाउन निकै मुस्किल पर्ला जस्तो छ, गाउँमा मान्छे छैनन्, बाहिरी मान्छे खोज्न कहाँ जाने रु” कतिपय कृषकहरुले दैनिक एक हजारसम्म ज्याला तिरेर समेत खेती लगाएका छन् । युवा विदेशीनु र घरगाउँमा बुढापाका मात्रै रहेकाले पनि यो समस्या बाली लगाउने मूख्य–मूख्य सिजनमा कृषकले झेल्दै आइरहेका तिनपिप्लेका अर्जुन श्रेष्ठले बताए । खेती लगाउन सहज होस् भन्ने उद्देश्यले कृषि विकास कार्यालयले बार्षिक मिनी टिलर र पावर टिलर अनुदानमा वितरण गर्दै आइरहेको छ । यो वर्षपनि झण्डै ५० वटा मिनी टिलर र पावर टिलर वितरण गर्ने कार्यक्रम रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ५ : १५ बजे

दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो

दार्चुला । दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको

सामान्य प्रशासन मन्त्रालयको निर्देशन : सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुनु

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा

राष्ट्रपति पौडेल कोप–२९ मा सहभागी भई फर्कनुभयो राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु

काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

धुलिखेल । काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको

गणेश हिमाल आधार शिविरबाट दुई जनाको २७ घण्टापछि हेलिकप्टरबाट उद्धार

काठमाडौं । गणेश हिमाल आधार शिविर जाँदै गर्दा बिरामी परेका