काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध प्रहरीले कारबाही अभियान तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै ८८४ जना सवारी चालक कारबाहीमा परेका छन्।
शुक्रबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँच तथा निगरानीका क्रममा उनीहरू कारबाहीमा परेको प्रहरीले जनाएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६४ जना, सिसिटिभी निगरानीमार्फत पहिचान भएका ४७ जना र रातो बत्ती उल्लङ्घन गर्ने ३९ जना चालक रहेका छन्।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११७ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १० जना र सवारीसाधनको अवस्था ठीक नभएका ३४ जना चालक कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ५६७ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम र सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले उपत्यकाका विभिन्न क्षेत्रमा नियमित जाँच तथा निगरानी गर्दै आएको छ।







प्रतिक्रिया