काठमाडौं । मौसम प्रतिकूल हुने पूर्वानुमानपछि शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार विद्यालय बन्द गर्न निर्देशन दिएको छ।
मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै भारी वर्षा, बाढी, पहिरो, डुबान, नदी कटान, चट्याङ र हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र चट्याङसहित हावाहुरीको सम्भावना रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यही अवधिमा सञ्चालन हुने परीक्षा पनि जोखिमको अवस्था हेरी आवश्यकताअनुसार स्थगित गर्न सम्बन्धित विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई आग्रह गरेको छ। साथै, सुरक्षित विद्यालय भवनलाई आवश्यक परे अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र पहिरोको जोखिमयुक्त क्षेत्रमा जान नदिन मन्त्रालयले अपिल गरेको छ।







प्रतिक्रिया