२०८३, ३१ भाद्र बिहीबार

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा


२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

काठमाडौँ । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल अपरेटर एनसेल २१औँ वर्षमा प्रवेश गरेको छ। सन् २००५ मा ‘मेरो मोबाइल’का रूपमा व्यावसायिक सेवा सुरु गरेको कम्पनीले अहिले देशभर १ करोड ४० लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

एनसेल सेवा सुरु गर्दाको समयमा नेपालमा मोबाइल फोनको पहुँच निकै सीमित थियो। सिमकार्ड लिन लामो समय कुर्नुपर्ने र मोबाइल सेवा महँगो पर्ने अवस्था थियो। यस्तो परिवेशमा निजी क्षेत्रको मोबाइल सेवा प्रदायकका रूपमा ‘मेरो मोबाइल’को प्रवेशले दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउँदै सेवाको पहुँच विस्तारमा योगदान पुर्‍याएको कम्पनीको दाबी छ।

दुई दशकभन्दा लामो यात्रामा एनसेलले ब्रान्ड र स्वामित्वमा समेत परिवर्तन बेहोरेको छ। सन् २००४ मा ‘मेरो मोबाइल’का रूपमा दर्ता भएको कम्पनीले १७ सेप्टेम्बर २००५ बाट व्यावसायिक सेवा सुरु गरेको थियो। सन् २००८ मा स्विडेनको टेलियासोनेराले कम्पनी अधिग्रहण गरेपछि सन् २०१० मा यसको नाम ‘एनसेल’ राखिएको थियो।

सन् २०१६ मा एनसेल मलेसियाको आजियाटा ग्रुपको स्वामित्वमा पुग्यो। त्यसपछि १ डिसेम्बर २०२३ मा बेलायतमा आधारित स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटाबाट शेयर खरिद गरेपछि कम्पनी नयाँ स्वामित्वमा पुगेको हो।

प्रविधिमा निरन्तर परिवर्तन

एनसेलले सन् २०१० मा थ्रीजी सेवा विस्तार गर्दै एभरेस्ट क्षेत्रसम्म नेटवर्क पुर्‍याएको थियो। सन् २०१७ मा फोरजी सेवा सुरु गरेको कम्पनीले अहिले देशभर करिब ९५ प्रतिशत जनसंख्यामा फोरजी कभरेज पुगेको जनाएको छ।

सन् २०२२ मा भीओएलटीई र ई–सिम सेवा सुरु गरेको एनसेलले मोबाइल प्रविधिमा नयाँ सुविधा थप्दै आएको छ। भीओएलटीईमार्फत एचडी भ्वाइस कल तथा कलका क्रममा पनि फोरजी डेटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएको कम्पनीको भनाइ छ।

कम्पनीले अहिले थ्रीजी नेटवर्क क्रमशः बन्द गर्दै फोरजीमा स्थानान्तरण गरिरहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका २०० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गरिएको जनाएको छ।

घर तथा साना कार्यालयलाई लक्षित गर्दै फोरजी राउटरमा आधारित ‘वायरफ्री प्लस इन्टरनेट’ सेवा पनि सञ्चालनमा छ। प्रिपेड, पोस्टपेड र बिजनेस सिमसँगै डेटा, भ्वाइस तथा मिक्स प्याकलगायत विभिन्न योजना कम्पनीले उपलब्ध गराउँदै आएको छ।

मोबाइलबाट आईओटीसम्म

एनसेलको सेवा मोबाइल फोनमा मात्र सीमित छैन। कम्पनीले व्यवसायिक ग्राहकका लागि बिजनेस सिम तथा कर्पोरेट योजना सञ्चालन गर्दै आएको छ।

अगस्ट २०२६ मा एनसेलले बीवाईडीका विद्युतीय सवारीसाधनमा आईओटी सिम जडान गर्ने सम्झौता गरेको जनाएको छ। नयाँ बीवाईडी गाडीमा एनसेलको आईओटी सिममार्फत युट्युब, स्पोटिफाइ, कराओके तथा बीवाईडी इकोसिस्टमका सेवा प्रयोग गर्न सकिने व्यवस्था हुने बताइएको छ।

कर, रोजगारी र सामाजिक क्षेत्रमा योगदानको दाबी

एनसेलले आफूलाई नेपालका ठूला करदातामध्ये एकका रूपमा प्रस्तुत गर्दै आएको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०२५/२६ सम्म करिब ३ अर्ब रुपैयाँ कर तथा शुल्क तिरेको छ। सन् २०१६ को शेयर स्वामित्व परिवर्तनसँग सम्बन्धित पूँजीगत लाभकरबापत ४७ अर्ब रुपैयाँ भुक्तानी गरेको कम्पनीको दाबी छ।

कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १ लाख जनालाई रोजगारीमा सहयोग पुगेको जनाएको छ। स्वास्थ्य, शिक्षा र वातावरणलाई प्राथमिकतामा राखेर २ अर्ब रुपैयाँभन्दा बढी सामाजिक उत्तरदायित्वअन्तर्गतका परियोजनामा लगानी गरेको पनि कम्पनीको भनाइ छ।

रिङ रोड ग्रीन बेल्ट, टेलिमेडिसिन, व्यक्तिगत स्वास्थ्य कार्यक्रम तथा ६० वटा सरकारी र सामुदायिक विद्यालयमा डिजिटल आईटी ल्याब स्थापना गरिएका परियोजनालाई कम्पनीले आफ्ना प्रमुख सामाजिक पहलका रूपमा उल्लेख गरेको छ।

आम्दानीमा दबाब, फाइभजीका लागि ठूलो लगानीको चुनौती

प्रविधि परिवर्तनसँगै एनसेलले नयाँ चुनौतीसमेत सामना गरिरहेको जनाएको छ। ओटीटी सेवाको बढ्दो प्रयोग, अन्तर्राष्ट्रिय लङ–डिस्टेन्स कलबाट हुने आम्दानीमा कमी तथा डेटा मूल्यमा बढ्दो प्रतिस्पर्धाले दूरसञ्चार कम्पनीको आम्दानीमा दबाब परेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार कुनै समय नेपालको जीडीपीमा दूरसञ्चार क्षेत्रको योगदान करिब ५ प्रतिशत रहेकामा अहिले करिब २ प्रतिशतमा सीमित भएको छ। करिब १ खर्ब रुपैयाँको दूरसञ्चार बजार खुम्चिएर ७० अर्ब रुपैयाँभन्दा तल पुगेको दाबी पनि एनसेलले गरेको छ।

उच्च कर तथा शुल्क, स्पेक्ट्रम शुल्क र सन् १९९७ को दूरसञ्चार ऐन अद्यावधिक नहुनुलाई कम्पनीले नीतिगत चुनौतीका रूपमा औंल्याएको छ। एनसेलका अनुसार फाइभजी सेवा विस्तार गर्न मात्रै करिब ४५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्न सक्छ।

स्वामित्व र भविष्यको बहस

एनसेलले आफूलाई ५० प्रतिशतभन्दा बढी नेपाली नागरिकको स्वामित्व भएको कम्पनी बनाउने इच्छा व्यक्त गर्दै त्यसका लागि कानुनी बाटो खोलिदिन सरकारसँग आग्रह गरेको छ।

हालको कानुनी व्यवस्थाअनुसार २०८६ सालपछि एनसेलको स्वामित्व नेपाल सरकारमा सर्ने विषयलाई समेत कम्पनीले उठाउँदै आएको छ। कम्पनीले त्यसपछि पनि आफ्ना सेवा निरन्तर सञ्चालन हुने गरी आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरेको जनाएको छ।

यसअघि युनाइटेड टेलिकम लिमिटेड, स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमलगायत सेवा प्रदायक बजारबाट बाहिरिएको उल्लेख गर्दै एनसेलले बाँकी दूरसञ्चार सेवा प्रदायकको दीर्घकालीन दिगोपनका लागि पूर्वानुमानयोग्य तथा लगानीमैत्री वातावरण आवश्यक रहेको बताएको छ।

कम्पनीका अनुसार विगत १० वर्षमा लाइसेन्स नवीकरण शुल्कसहित करिब १ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लगानी भएको छ। आम्दानीमा निरन्तर दबाब रहे पुँजीगत लगानीको गति घट्न सक्ने कम्पनीको आकलन छ।

नयाँ स्वामित्वपछि लगानी, नवप्रवर्तन तथा डिजिटल सेवाको विस्तारलाई प्राथमिकता दिने एनसेलले जनाएको छ। डिजिटल नेपालको लक्ष्य हासिल गर्न दूरसञ्चार क्षेत्रमा स्थिरता, पूर्वानुमानयोग्य नीति र लगानीमैत्री वातावरण आवश्यक रहेको कम्पनीको भनाइ छ।

एनसेलको २१ वर्ष : मुख्य टाइमलाइन

  • २००४: ‘मेरो मोबाइल’का रूपमा कम्पनी दर्ता।
  • १७ सेप्टेम्बर २००५: व्यावसायिक मोबाइल सेवा सुरु।
  • २००८: टेलियासोनेराको स्वामित्वमा प्रवेश।
  • २०१०: ‘मेरो मोबाइल’बाट ‘एनसेल’ नामकरण; थ्रीजी सेवा विस्तार।
  • २०१६: आजियाटा ग्रुपको स्वामित्वमा प्रवेश।
  • २०१७: फोरजी सेवा सुरु।
  • २०२२: भीओएलटीई र ई–सिम सेवा सुरु।
  • २०२३: स्पेक्ट्रलाइट यूके लिमिटेडको स्वामित्वमा प्रवेश; ९७० नम्बर शृङ्खला सुरु।
  • २०२४: ‘सधैं अन’ अभियान र एनसेल फाउन्डेसन सार्वजनिक।
  • २०२५/२६: थ्रीजी नेटवर्क बन्द गर्दै फोरजीमा स्थानान्तरण तीव्र।
  • अगस्ट २०२६: बीवाईडीसँग आईओटी सिमसम्बन्धी सम्झौता।
  • २०८३: २१ वर्ष पूरा गर्दै १ करोड ४० लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको कम्पनीको दाबी।

प्रकाशित मिति : २०८३, ३१ भाद्र बिहीबार  ४ : ४१ बजे

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण

भृकुटीमण्डपमा घरजग्गा एक्स्पो सुरु, हदबन्दी समस्या समाधान गर्ने सभामुखको प्रतिबद्धता

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण

भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ

काठमाडाैँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका